जेलबाट भने – नरोउ तिमी रुदा म कमजोर हुन्छु
गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ४३ औं अंश –
शुक्रबार, साउन १२
आज फेरि तस्करहरुले गैँडालाई गोली हानेर घाइते बनाए भन्ने सुनेँ; सार्है दुःख लाग्यो। आजै पत्रिकामा समाचार छापिएको रहेछ, एक सातामा दुइटा गैँडा मारिए भनेर। त्यो पढ्दा मन अमिलो भयो। तिनै गैँडा संरक्षणका लागि रातदिन भनिएन; डर–त्रास केही मानिएन। तर आज तस्कर र चोरहरु खुलेआम हिँडेका छन्, छाती फुलाएर। संरक्षकहरु जेलमा कोच्चिनुपरेको छ।
एउटा गैँडालाई रजहरको पिप्रहरमा विष हालेर मारिएको रहेछ। समाचारमा फोटो पनि थियो। अर्को, बच्चासहितको गैँडालाई टिकौलीको चतुर्भुज सामुदायिक वनमा मारेछन्। भर्खर बच्चा जन्माएकी पोथी गैँडा रहिछ। त्यो बच्चा रूँदै कराउँदै हिँड्दै छ रे आमाको खोजीमा। त्यस क्रममा अर्को गैँडालाई पनि गोली लागेको छ रे। सायद रगत चुहाउँदै ऊ सहारा खोज्न भौँतारिइरहेको छ जङ्गलमा, यता र उता। निकुञ्जले गैँडा जोगाउन सकेन, सामुदायिक वन भएपछि जोगिन्छ भन्नेहरुले सामुदायिक वनमै गैँडा किन मरे भन्ने कुराको जबाफ दिनुपर्छ।
तिम्रो के बिगार गरेका थिए ती अबुझ प्राणीले? तिमी आफूलाई उत्तम प्राणी भन्छौ, तर तिमी नै व्यभिचारी छौ; छाडा छौ; विकृत र विक्षिप्त छौ। दुःख, कष्ट, आँसु, वेदना दिन्छौ अरुलाई। तिमीले नै भत्कायौ तिनका स्विमिङ पुल र तिमीले नै बनायौ तिनको सुन्दर घाँसे मैदानलाई आफ्नो खेत। कसरी बच्चाबच्ची लिएर आनन्दसाथ पौडन्थी त्यो हिले पोखरीमा ऊ! कति रमाउँथी ऊ त्यो सिसौ र खयरको जङ्गलमा! बेरोकटोक नारायणी वारपार गर्थी ऊ। उसलाई कसैले छेक्ने हिम्मत गर्दैनथ्यो। ऊ उन्मुक्तआफ्नो वासस्थानमा खेल्थी। तर आज तिमीले आफ्नो स्वार्थका लागि उसको पुख्र्यौली सम्पत्ति नाश गर्यौ। फाँड्यौ जङ्गल, धायौ अड्डा–अदालत र खुवायौ घूस, उसको अधीनको क्षेत्र आफ्नो बनाउन। उसलाई प्राकृतिक अधिकार र हकबाट वञ्चित गर्न तिमीले कस्ताकस्ता कुकृत्य गरेनौ? अनि त्यतिले
नपुगेर चोरझैँ लुकीलुकी, पछाडिबाट कायरतापूर्वक उसको हत्या गरिरहेछौ, कहिले खाग तस्करीका लागि त कहिले बालीनाली रक्षाको नाममा। धिक्कार
छ तिमीलाई!
आज राम्रो खबर सुन्न पाइएला कि भनेको, बिहानैदेखि नराम्रो खबर मात्र सुनियो। दिउँसो थाहा भयो, वन राज्यमन्त्रीले याक्चेकी श्रीमती फिन्जो शेर्पालाई भेटेर सोधेछन्, सीडीओ नरेन्द्रराज पौडेलसँग चिनजान छ/छैन भनेर। कत्रो चिन्ता मन्त्रीलाई खाग तस्कर याक्चेको? फिन्जो, जो आफैँ पनि खाग तस्कर हो, उसलाई वनमन्त्री आफैँले भेट्न जानु कस्तो निर्लज्जता?
बेलुका दिवाकर चापागाईं सरले फोनमा खबर दिनुभयो– ‘नायब सुब्बा उत्तमप्रसाद खरेल फेरि चितवन आएको छ।’
तस्करका शुभचिन्तकह? कति सक्रिय भएका?
शनिबार, साउन १३
चिफ वार्डेनले फोनमा भन्नुभयो– ‘चित्रसारी सामुदायिक वनमा पनि हिजो गोली पड्कियो; चोरहरुले गैँडा मारेर खाग लगेछन्।’उनीहरुले त्यसैका लागि त यत्रो बखेडा गरेका हुन् नि! यत्रो षड्यन्त्र रचेको, जुलुस निकालेको र अदालतलाई समेत प्रभावित पारेको यसै गरी ढुक्क भएर वन्यजन्तु सखाप पार्न त हो नि! दुःखको कुरा के भने तिनै तस्करबाट अलिकति दानापानी खाएर तिनको गीत गाउन पुगे चितवनका नेताहरु पनि। आफूलाई नयाँ नेपाल बनाउने भन्नेहरु तस्करको पछि लाग्न पुग्नु कस्तो विडम्बना? माओवादीहरु सत्तामा पुगे र उनीहरुले भन्ने गरेको जनवादी गणतन्त्र साँच्चै ल्याए भने यो देश कस्तो होला? उनीहरुको भन्दा फरक मत राख्नेहरु लाई के गर्छन् होला? के त्यस बेला नयाँ पोलपोटको उदय नहोला? नेपाल विश्वसमुदायकै आङ जिरिङ्ग हुने कहानीहरुको थलो नबन्ला?
म दुई–तीन दिनदेखि शुभ सपना देखिरहेको छु। एक दिन माला लगाएर कसैले घुमाएको देखेँ। छुट्ने संकेत हो जस्तो लाग्यो। अर्को सपनामा म कुनै नौलो ठाउँमा बसिरहेको थिएँ। चिनेजानेका इन्स्पेक्टर पनि सँगै थिए। यत्तिकैमा निकै टाढा तिनै इन्स्पेक्टर मेरो साथीलाई एक हूल प्रहरीका साथ लगाएर हिँडिरहेका थिए। बीचमा नदी थियो। यो सपनाबाट रितेशजीलाई अदालतले नछाड्ने भयो तर मचाहिँ छुट्छु जस्तो लाग्यो। अझ अर्को सपनामा आमासँग भेटघाट गरेर भलाकुसारी गरिरहेको थिएँ। उहाँ प्रसन्न मुद्रामा हुनुहुन्थ्यो। म कुनै विषयमा बेलीविस्तार लगाइरहेको थिएँ। त्यसले ममा आशा जगायो, पक्कै पनि अदालतले धरौटी वा सादा तारेखमा छाड्छ भन्ने। उता, चिफ वार्डेन टीकारामले पनि माहोल ठीक हुँदै गएको, सबैतिर सकारात्मक हुँदै गएको बताइरहनुभएको थियो।
आइतबार, साउन १४
अखबार र एफएमहरुमा चित्रसारी सामुदायिक वनमा पन्ध्रमहिने गर्भिणी गैँडा मारिएको खबरले प्रमुखता पायो। बच्चा जन्माउने बेलाका गैँडा प्रायः निकुञ्जभन्दा बाहिरको जङ्गलमा आउँछन्। बाघ लगायतका हिंसक जनावरबाट बच्चालाई बचाउन र सजिलै पर्याप्त घाँस पाइने भएकाले तिनीहरु यस्तो बेला घना जङ्गलभन्दा सानो जङ्गललाई रूचाउने गर्छन्। तस्कर र सिकारीका लागि त्यो सुवर्ण मौका हुन्छ।
सोमबार, साउन १५
बेलुका पाँच बजे पनि खगेरी नहरतिर गोली पड्केछ। गैँडा घाइते भएर रगत चुहाउँदै भागेछ। यसरी गोली पड्केर गैँडा घाइते हुने घटना दोहोरिँदै जानुको
अर्थ हुन्छ— गैँडा मार्ने नयाँ ग्रुप जन्मेको छ। उनीहरु सिकारू भएकाले गैँडालाई गोलीबाट अचुक तवरले मार्न सक्ने खालका छैनन्। त्यसैले घाइते
बनाउँदै छाड्दै गरेका छन्। घाइते गैँडा एक–दुई महिनाभन्दा बढी बाँच्ने सम्भावना न्यून हुन्छ।
मंगलवार , साउन १६
आज हाम्रो पेसी थियो। कसराबाट पठाइएको आफ्नै अफिसको गाडीमा हामी बिहानै परासीबाट नारायणगढ पुग्यौँ र खाना खाएर साढे एघार बजेतिर चितवन जिल्ला अदालत पुग्यौँ। साथीहरु आइसक्नुभएको थियो। चिफ वार्डेन टीकाराम उत्साहित हुनुहुन्थ्यो। बार्ह बजेतिर बहस सुरू भयो। हाम्रा तर्फबाट विद्वान अधिवक्ताहरुले
बहस गर्नुभयो। सहायक न्यायाधिवक्ता बाबुराम अधिकारीले वादीका तर्फबाट बहस सुरू गर्नुभयो। उनीहरुका तर्फबाट चार जना वकिल थिए। जिल्ला
न्यायाधीश थिए हरिकुमार पोखरेल।
बहस चार बजेसम्म चल्यो। अघिल्लोपल्ट बहस भएको दिन जस्तै आज पनि बाहिर सडकमा नारा–जुलुस गरिएको थियो। जुलुसको प्रयोजन अर्कै थियो तर समय यसरी मिलाइएको थियो कि त्यो अदालतको गेटमा आइपुग्दा कृष्णभक्त बहस गर्दै थिए; नाराबाजी सुनेर उनको लवजै परिवर्तन भयो। त्यसपछि डेढ घण्टाजति साथीभाइसँग कुराकानी गर्दै न्यायाधीशको निर्णय सुन्न पख्र्यौं। साढे पाँच बजेतिर अदालतका एक कर्मचारी फाइल बोकेर न्यायाधीशको च्याम्बरबाट तल ओर्ले र हामी सबैलाई बोलाएर निर्णय सुनाए। असार २८ गते श्रेस्तेदारले गरेको निर्णय नै सदर भएको रहेछ। पछि कृष्णभक्त भन्दै थिए– ‘त्यही जुलुस देखेर निर्णय सुनाइयो।’
हामी निराश भयौँ। रितेशजी निकै आशावादी हुनुहुन्थ्यो, उहाँ झन् बढी निराश देखिनुभयो। चैनपुरबाट ससुरा बुवा आउनुभएको थियो; उहाँको अनुहार निकै मलिन भयो। मैले आफूलाई सम्हालेँ र मुस्कुराउँदै भनेँ– ‘यस्तै हो यहाँ, जे पनि हुन्छ; चिन्ता नलिनुस्। एक दिन अवश्य न्याय पाइएला।’
चिफ वार्डेन टीकाराम सरकारी वकिल कार्यालयतर्फबाट आउँदै हुनुहुन्थ्यो। कसैले उहाँलाई भन्यो– ‘बोलाएको छ; भित्र जानुस्।’ त्यहाँ निर्णय सुनेपछि बाहिर आएर उहाँ झोँक्किनुभयो। भन्दै हुनुहुन्थ्यो– ‘यस्ता अदालत–सदालत भनिँदैन। हात्ती ल्याएर भत्काइदिने हो भोलि।’ उहाँलाई पनि मैले नै सम्झाउनुपर्यो। भनेँ– ‘हामी प्रकृतिका संरक्षक हौँ। हामीलाई प्रकृतिले नै बचाउनेछिन्।’ उहाँहरुलाई त सम्झाएँ तर निकै बेरसम्म पनि आमा र प्रमिलालाई फोन गर्ने हिम्मत आएन। के भन्ने? बिस्तारै मन दरो पारेर आमालाई मोबाइलमा फोन गरेको, स्वीच अफ रहेछ। हे भगवान्, एक छिनलाई भए पनि संकट टर्यो जस्तो लाग्यो।
श्रीमतीको फोन पनि व्यस्त रहेछ। सोचेँ— यो अशुभ खबर उनलाई अरुकसैले भन्दै छ। पीरले मनमा हुन्डरी मच्चायो। एक छिनपछि बल्ल फोन लाग्यो। मैले ‘हेलो’ मात्र के भनेथेँ, उताबाट प्रमिलाको हृदयविदारक रोदन सुनियो। कुनै बोली थिएन, रोदन मात्र। आमा रोएको देखेर होला, चौधमहिने छोरो पनि भक्कानिँदै रून थाल्यो। फोनमै सुनिएको भए पनि यसले मलाई एक छिनसम्म निकै विचलित बनायो। कसै गरी आफूलाई सम्हालेँ र उनलाई सम्झाउन थालेँ– ‘तिमी रोयौ भने म अझ
कमजोर हुन्छु। मेरो मनोबल झन् कमजोर हुन्छ। तिमी आफूलाई सम्हाल।’ उनी बिस्तारै बोल्न थालिन्। मैले ‘चिन्ता नगर; सबै ठीक हुन्छ’ भन्दा कारूणिक स्वरमा ‘ल’ भनिन्। मेरा कानमा उनको त्यो स्वर र शब्द अहिले पनि पीडा बनेर गुन्जिरहेको छ। त्यो शब्दले मेरो मुटु छियाछिया हुन्छ। आँखा रसिला हुन्छन्।
त्यसपछि आमालाई पनि फोन गरेँ र राम्ररी सम्झाएँ। अनि अन्य साथी र आफन्तलाई पनि बिस्तारै यो अशुभ समाचार सुनाएँ। परासी बजार आइपुग्दा राति करिब दस बजिसकेको थियो। प्रमिलाकोफोन आयो। मैले ‘भोलि भेट्न आऊ’ भनेँ। बीस दिनसम्म एकै ठाउँ कोच्चिएका हामी आजको लामो यात्राले गर्दा थकित थियौँ। खाना खाएर तुरून्तै सुत्यौँ। चिन्ता, द्विविधा, रिस, प्रतिशोधको भावनाबीच पनि भुसुक्कै निदाइएछ।
प्रतिक्रिया दिनुहोस