भारतबाट ३६ करोडको आलु भित्रियो



कृषिमा आत्मनिर्भर बनाउन भन्दै सरकारले वर्षेनी कृषि सम्बन्धी नयाँ नयाँ कार्यक्रम ल्याएपनि भारतबाट तरकारीको आयातमा भने कमि आएको छैन् । सरकारले कृषिमा उत्पादन बढाउन राज्य कोषबाट लगानी गरेपनि भारतबाट वर्षेनी अरबौ मूल्य बराबरको तरकारी र फलफूल नेपाल भित्रिने गरेका छन् ।

कैलालीको मोहना र कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक महिनामा आठ करोड बराबरको तरकारी, फलफुल तथा अन्य खाद्य सामाग्री भित्रिने गरेको छ ।

क्षेत्रीय प्लान्ट क्वारेण्टिन कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म एक अरब १० करोड ४७ लाख ७७ हजार रुपैयाँ बराबरको तरकारी, फलफूल तथा अन्य खाद्य सामाग्री आयात भएको छ । यस्तै, गत वर्ष एक अरब ७६ करोड ७४ लाख ७३ हजार रुपैयाँ बराबरको तरकारी, फलफुल तथा अन्य खाद्य सामाग्री आयात भएको थियो ।

यसरी भारतबाट आयात हुने तरकारीमा सबैभन्दा बढी आलु, प्याज, टमाटर, खरियो खुर्सानी र मटर कोसा रहेका छन् भने फलफूलहरुमध्ये सबैभन्दा बढी स्याउ, केरा, नरिवल र अनार लगायतका फलफूल आयात हुने गरेका छन् ।

चालु आर्थिक वर्षको जेठ सम्ममा ३६ करोडको आलु, ७ करोडको प्याज, ३ करोडको टमाटर र ३ करोड मूल्य बराबरको केरा आयात भएको क्षेत्रीय प्लान्ट क्वारेण्टिन कार्यालय गड्डाचौकीका क्वारेण्टिन अधिकृत गजाधर जोशीले बताए । उनको अनुसार गत वर्ष ३९ करोड, ४४ लाख, १० हजारको आलु,एक करोड ९ लाख ७० हजारको प्याज, २ करोड ६० लाख १५ हजारको टमाटर, ६ करोड ७७ लाखको अनार र ४ करोड ७८ लाख ४१ हजार रुपैयाँ बराबरको केरा आयात भएको थियो ।

उता, जिल्ला कृषि विकास कार्यालल कञ्चपुरले जिल्लामा ५५ हजार मेट्रिक टन तरकारी उत्पादन हुने गरेको जनाएको छ । जसमध्ये २८ हजार ८ सय ७५ मेट्रिक टन आलु उत्पादन हुने गर्दछ ।
यस्तै, प्याज ५ हजार ७ सय १५ मेट्रिक टन, हिउँदे तरकारी ३४ हजार ९ सय ३५ मेट्रिक टन र लसुन ९ सय ५४ मेट्रिक टन उत्पादन हुने गर्दछ ।
जिल्लामा ४ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics