चीन जाने गैँडाको चितवनबाट अन्तिम बिदाई

 चीन सरकारलाई उपहारमा दिन लागिएको भद्र र रुपसी नामको एक जोडी गैँडाको अन्तिम बिदाई चितवनबाट भएको छ । चितवनको राष्ट्रिय निकुञ्जबाट हिँडेको गैँडाको बिदाई गरेर काठमाडौँ ल्याइदैं छ ।

चीन जान लागेको भद्र(भाले)र रुपसी (पोथी) गैँडाका लागि रेखदेख गर्ने नेपाली हेरालु, वन जंगल, हावापानी, रहन सहन, साथीभाईलगायत सबै कुरा अब सम्झनामा मात्रै सिमित हुनेछ । उपहार बापत चीन जान लागेका गैँडालाई बिदाईको अन्तिम क्षणमा सबैसँगको बिछोड निक्कै पीडादायी साबित हुनेछ ।

आफ्नो बासस्थान, वातावरण, साथीभाइलाई सदैवको लागि छोडेर छुट्टै मुलुक, छुट्टै वातावरण, छुट्टै हेरालुका बीचमा जाने भएर भद्र र रुपसीको रसिलो आँखा सजिलै देख्न सकिन्थ्यो । मान्छेले मान्छेको बिछोडको पीडा बुझ्न र हेर्न सक्छ । जनावरको पीडा मान्छेले कसरी हेर्न सक्छ । तर यो पीडा भद्र र रुपसीलाई सानैदेखि हुर्काउने, खाना खुवाउने, रेखदेख गर्ने हेरालुलाई भने अवश्यै होला ।

सरकारले चीनलाई उपहार स्वरूप दिन लागेको  एक जोडि गैँडा काठमाडौँ ल्याउन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जको सूचना अधिकारी नुरेन्द्र अर्यालले एक जोडी गैँडा चितवनबाट बिदाई गरेर काठमाडौँ हिँडेको जानकारी दिए । अर्यालका अनुसार भाले गैँडा साना र पोथी गैँडा भालेभन्दा केही ठूलो छ । उपहारस्वरूप चीनमा पठाउनका लागि गत् वैशाखमै गैँडालाई नियन्त्रणमा लिएर भूमा राखिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र सुकिभारबाट डेढदेखि दुई वर्षसम्मका दुई पोथी र एक भाले गैँडालाई समातिएको थियो । एक गैँडा भने नेपालको त्रिवेणीबाट उद्धार गरिएको थियो ।

गैँडालाई बन्दा, घाँस, दूध र फलफूल खान दिएर भूमा राखिएको थियो ।

गैँडालाई बाटोभरि खान दिनका लागि घाँस, बन्दा, स्याउ, केरा र दूध ट्रकमा राख्ने व्यवस्था गरिएको छ । गैँडालाई चितवनबाट ल्याएर राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटारमा राखिने छ ।

पानी पर्ने समय भएकोले एक दिन अघि नै काठमाडौं ल्याउन लागिएको हो ।   एक जोडी गैँडा असार २८ गते चीन सरकारलाई हस्तानान्तरण गरिदैं छ । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई गैँडा हस्तानान्तरण गर्ने कार्यक्रम छ ।उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र   नेपाल सरकारको  उच्च अधिकारीहरु सहभागी हुनेछन्  ।

अर्को जोडि गैँडा भने अहिले भूमामा नै राखिएको छ । आगामी आर्थिक वर्षको साउनमा अर्का जोडि गैँडा चीनलाई उपहारमा दिइने योजना सरकारको छ । नेपालको गैँडा चीनको सांघाइ र ग्वान्जाओमा पार्कमा राखिने छ । २०७३ साल असारमा अघिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैँडा उपहारस्वरुप दिने निर्णय गरेको थियो । यसअघि तत्कालीन शाही सरकारले २०६२ फागुन १६ मा अस्ट्रियाको भियनास्थित चिडियाखानालाई एक जोडी गैँडा उपहार दिएको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics