करोडौं रुपैयाँको जडिबुटि प्रशोधन उधोग बन्द



करोडौं रुपैयाँ लगानीमा सञ्चालनमा आएको जडिबुटी प्रशोधन उद्योग बन्द भएको छ । गाउँघरका ढिक कान्लाहरूमा खेर गएका जडिवुटि प्रशोधन गरी प्रयोगमा ल्याउने योजनाका साथ पाल्पामा सञ्चालन भएको जडिबुटि उधोग बन्द भएको हो ।

बन्द भएको उक्त उद्योगमा रहेका विभिन्न प्रकारका प्रशोधन उपकरण तथा सरसमान काम नलाग्ने अवस्थामा पुगेका छन् । जडिबुटि पेल्ने मेसिन औजारहरूमा खिया लागिसकेको छ । बन्द भएको उद्योगलाई एक जना हेरालु कर्मचारीले रेखदेख गर्दैआएका छन् ।

सहकारी मार्फत उत्साहपूर्वक सञ्चालनमा ल्याइएको पाल्पाको जडिबुटि उधोग केहि बर्षयता बन्द भएको हो । उधोगबाट तितेपाति, काउलो हर्रोबर्रो, तेजपात दालचिनी, अमला, पखनवेद, कुरिलोको बोक्रा, चुत्रोको बोक्रा लगायतका जडिबुटि प्रशोधन गरी बिक्री हुँदै आएको थियो । २०५६ सालमा सहकारी मार्फत पाल्पालाई जडिबुटिको क्षेत्रमा नमुना जिल्ला बनाउने अभियानका साथ उधोग सञ्चालन भएको थियो ।

‘सुरुको समयमा उत्पादन गरियो । चिनजानको आधारमा बेचविखन पनि गरियो । तर सहकारी मार्फत सञ्चालन भएकाले उधोगको ट्रेडमार्क पाउन सकिएन,’ उधोगका सञ्चालक झपेन्द्रबहादुर जिसिले भने,‘हामीले उत्पादन गरेको जडिबुटिको अर्को पक्षलाई दिएर अर्काकै ट्रेडमार्कमा बिक्री गर्नुपर्ने बाध्यताले संचालकहरु निराश भएको भए ।’ जिसिका अनुसार अहिले उधोगबाट कहिलेकाही पुरुषहरूले यौनबद्र्धक औषधीको रूपमा प्रयोग गर्ने शिलाजित बाहेक अन्य जडिवुटि प्रशोधन भएको छैंन् ।

जिसिका अनुसार जडिबुटि उधोगमा करोडौँ रुपैयाँ लगानी भएपनि उधोग सञ्चालन नहुँदा लगानीकर्ताहरू निराश भएका छन् । प्रयोगविहिन अवस्थामा रहेका गाउँघरको जडिबुटि सदुपयोगमा ल्याउने भनी प्रचार गरिएपनि उधोग बन्द हुँदा प्रचार गरिएजस्तो काम गर्न सकिएन । जुडिबुटि उधोग केहि समय चर्चामा आयसँगै सेलाएर गयो ।

उद्योगबाट उत्पादन भएका सामानहरू केही समय राम्रै बजार पायो । ठुलो मात्रामा उत्पादन हुँदै गएपछि ठुलो बजार खोज्दै जाँदा प्रशोधित जुडिबुटिको गुणस्तर परीक्षण सरकारी निकायबाट नहुँदा उद्योग बन्द गर्नुपरेको जिसिले बताए । उधोग स्थापनाको लागी जग्गा मेसिनहरू लगायतका सरसमान खरिद गर्दा १ करोड रुपैयाँ खर्च भएको छ ।

‘उधोग सञ्चालनको लागी सहकारीमा आबद्ध ९० जनाबाट रकम संकलन गरी कूल १ करोडभन्दा बढी लगानी गरेका छौ । सञ्चालन गर्न नसक्दा शेयर सदस्यहरूलाई सावाँ समेत फिर्ता गर्न सकिएन,’ जिसिले बताए ।

जडीबुटी उधोग सञ्चालन विषयमा ५ नम्बर प्रदेश सरकारले चासो दिएर बैज्ञानिक परिक्षण तथा उपयोगिता बारे जनचेतना जगाउने काममा सहयोग गरेमा उधोग पुनः सञ्चालन गर्न सकिने जिविस पाल्पाका पूर्व सभापति समेत रहेका सञ्चालक जिसीले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics