कोशि टप्पुमा हात्तीको आक्रमणबाट ५ जनाको मृत्यु



हात्तीको आक्रमणबाट कोशी टप्पु वन्यजन्तु आरक्षण वरिपरि पाँच जनाको मृत्यु भएको छ । कोशिटप्पु वन्यजन्तु आरक्षमा हात्तीको आक्रमणमा परी गत आर्थिक वर्ष २०७४/७५ मा ५ जनाको मृत्यु भएको हो ।

मृत्युहुने मध्ये ४ जना महिला र एक पुरुष रहेका छन् । यसअघि अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा यही आरक्ष केन्द्रमा हात्तीको आक्रमणमा परी दुई जना र  अर्नाको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।

कोशिटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षती बढेको हो ।

राहत वितरण

वन्यजन्तुको आक्रमणबाट घाइते भएका सर्वसाधारणलाई कोशिटप्पु वन्यजन्तु आरक्षबाट गत आर्थिक वर्षमा ५२ लाख ४० हजार ५ सय ९५ रुपैयाँ राहत  उपलब्ध गराइएको छ  ।आरक्षका अनुसार वन्यजन्तुको आक्रमणबाट पीडित बनेका २ सय ५९ जनालाई राहत वितरण गरिएको हो । वन्यजन्तुबाट पीडितलाई राहत वितरण गर्न अझै बाँकी रहेको आरक्षले जनाएको छ । यस आरक्षमा हात्ती र अर्नाबाट सबैभन्दा धेरै क्षती हुने गरेको छ ।

गत आर्थिक वर्षमा कोशि टप्पु वन्यजन्तु आरक्षमा हात्ती र अर्नाको आक्रमणबाट ३ जना मृत्यु भएका परिवारले राहत पाएका छन् । यस्तै ५ जना घाइते भएका परिवार र ६० जनाको घर गोठ वन्यजन्तुले भत्काइदिएको परिवारले पनि राहत पाएका छन् ।  सर्वसाधारणले भण्डारण गरेका अन्नवाली ६३ भण्डारण गृहसमेत वन्यजन्तुले भत्काएर अन्नवाली तहस नहस गरेको छ । भण्डारण गृह क्षति भएका परिवारलाई पनि राहत उपलब्ध गराइएको छ । यस्तै वालीनालीमा क्षति पुर्‍याए बापत गत आर्थिक बर्षमा १२८ जना परिवारलाई पनि राहत राहत पाएका छन्  ।

पछिल्लो समयमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्ने क्रम निक्कै बढेको छ । यो आरक्षमा जंगली हात्तीले स्थानीयलाई दुख दिएपछि गत आर्थिक वर्षमा दुईवटा हात्तीमा स्याटेलाइट कलरसमेत जडान गरिएको थियो । वालीनाली सुख्खा भएको समयमा भाले हात्तीले घरपालुवा हात्तीसँग जवरदस्ती सहवास गर्न खोज्ने र सहवासको क्रममा हुने गतिविधिका कारण भौतिक क्षति निक्कै बढ्न थालेपछि स्याटेलाइट कलर जडान गरिएको थियो ।

स्याटेलाइट कलर जडानले हात्ती कुन स्थानमा के गरिरहेको छ भनेर सजिलै थाहा पाउन सकिने भएकाले सचेतना अपनाई घटनालाई नियन्त्रणमा लिन सहयोग गरेको आरक्षको भनाई छ । स्याटेलाइट कलर जडानले धेरै हुने सक्ने हानी नोक्सानीलाई रोक्न सहयोग गरेको कोशीटप्पु वन्यजन्तु आरक्षले जनाएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics