विज्ञ भन्छन्, निजगढ विमानस्थलका लागि डीपीआर बिना नै रुख काट्न किन हतार?

बारामा प्रस्तावित निजगढ विमानस्थलको विस्तृत परियोजना अध्ययन (डीपीआर) बिना रुख कटानको हतार गरेको भन्दै विज्ञ तथा सरोकारवालाले आपत्ति जनाएका छन्।

सरकारले विमानस्थल निर्माणका लागि पहिलो चरणमा सात लाख ७० हजार रुख कटानका लागि आवश्यक तयारी गरिरहेका बेला विज्ञ तथा सरोकारवालाहरुले विमानस्थल निर्माणसँगै लगानीको सुनिश्चिता हुनुपर्ने र त्यसअघि डीपीआर बनाइनुपर्ने बताएका हुन्।

पहिलो र दोस्रो चरण गरी साढे २४ लाख रुख कटान गर्नुपर्ने भएकाले सकेसम्म विमानस्थलको निर्माण क्षेत्र दक्षिणतिर सार्नुपर्ने तथा वन, वातावरण र पर्यावरणमा न्यून क्षति पुग्ने गरी परियोजना अगाडि बढाउनुपर्ने नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रस्तावित निजगढ विमानस्थलबारेको छलफलमा उनीहरुले माग गरे।

प्राकृतिक स्रोत विज्ञ सुरज श्रेष्ठले डीपीआर बनाएर मात्र इआइए बनाउनुपर्ने कानून रहेपनि सरकारले त्यसको उल्लंघन गरेको बताए। त्यतिमात्र नभइ सरकारले फेरि डीपीआर बिना नै रुख कटानको तयारी गरिरहेकोप्रति उनले आपत्ति जनाए।

प्रदेश २ मा प्राकृतिक स्रोतसाधन न्यून रहेकोमा त्यसैमाथि पर्सा राष्टिय निकुञ्ज नजिकै विमानस्थल बनाउन लागिएकाले पर्यावरणमा गम्भीर असर गर्न सक्ने उनले बताए। हात्तीको कोरिडोर रहेको क्षेत्रमा विमानस्थल विमानस्थल निर्माणका लागि ८ हजार हेक्टरका रुख कटान गर्न लागिएको भन्दै उनले भने, ‘जंगल, वातावरण, वन्यजन्तु र जैविक विविधतालाई पूर्ववर्ति रुपमा ल्याउन सकिँदैन। त्यसैले बेलैमा ख्याल गर्न जरुरी हुन्छ।’

नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले इआइए र पर्यटन मन्त्री रवीन्द्र अधिकारीको भनाइ बाझिएको भन्दै स्पष्ट हुनुपर्ने बताए। पूर्वसचिव ज्ञवालीले विकास र वातावरण एकअर्काका परिपूरक भएकाले न्यून क्षति हुने गरी परियोजना अगाडि बढाउनुपर्ने बताए। ठूला परियोजनाका लागि श्वेतपत्र जारी गर्न राम्रो हुने भएकाले सरकारले निजगढ बनाउनु अघि श्वेतपत्र जारी गर्न आवश्यक रहने बताए।

तत्कालीन वातावरण मन्त्रालयका सहसचिव रुख काटेपछि बिरुवा रोप्नुपर्ने भएपनि त्यसको एकीन नभएकाले भविष्यमा त्यसले झनै समस्या पार्नसक्ने तर्फ सचेत गराए। इआइए प्रतिवेदन अनुसार साढे २४ लाख रुख कटान गरेबापत सोधभर्ना स्वरुप ६ करोड १२ लाख बिरुवा रोप्नुपर्छ। त्यसका लागि ३८ हजार २ सय ९४ हेक्टर जमिन आवश्यक पर्छ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं पूर्व गर्भनर देबेन्द्रबहादुर क्षेत्रीले डीपीआर बिना नै इआइए किन बनाइएको भन्दै सरकारले त्यसको जवाफ दिनुपर्ने बताए। नेपाली आकाशमा ४२ वर्ष जहाज उडाएका पूर्वक्याप्टेन प्रचण्डजंग शाहले निजगढ विमानस्थल बन्नुपर्ने र त्यसको ठूलो महत्व रहेको बताए। यद्यपी, अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेर मात्र विमानस्थल बनाइनुपर्ने उनको भनाइ छ।

सांसद कृष्णप्रसाद दाहालले क्षतिलाई न्यून गर्दै विकासलाई अगाडि बढाइनुपर्ने बताए। निजगढ विमानस्थल स्थलको विकल्प नरहेपनि प्रक्रिया पुरा गर्नुपर्ने उने बताए। राष्टिय योजना आयोगका सदस्य रामकुमार फुयालले आर्थिक सामाजिक रुपान्तरणका लागि विमानस्थल आवश्यक रहेको बताए।

नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले विमानस्थल अहिलेको आवश्यकता रहेकोले स्थान परिवर्तन हुनै नसक्ने बताए। यद्यपी, इआइएका केही बुँदामा त्रुटि रहेको बताउँदै त्यसलाई सच्याइने बताए।

नेफेजका अध्यक्ष अर्जुन ढकालले विमानस्थल आजको आवश्यकता रहेपनि वैज्ञानिक र व्यवस्थित रुपमा अगाडि बढाइनुपर्ने बताए।  इआइए कार्यान्वयन नगर्ने हो भने किन बनाइएको भन्दै प्रश्न गर्दै अध्यक्ष ढकालले विमानस्थलको मोडालिटी र डीपीआर बिना नै रुख काट्न हतार किन भएको भन्दै आपत्ति जनाए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics