जलवायु परिवर्तन अनुकुलनको काम तत्काल गर्नुपर्ने: वन मन्त्री

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले नेपालले जलवायु परिवर्तन अनुकुलनको काम तत्काल गर्नुपर्ने बताएका छन् ।

वन तथा वातावरण मन्त्रालय तथा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धी(यूएनएफसीसी)को संयुक्त आयोजनामा साेमबारदेखि काठमाडाैंमा  सुरु भएको जलवायु परिवर्तन महासन्धी अन्तर्गत अनुकुलन कार्यक्रमको राष्ट्रिय रिपोर्ट पेश गर्नको लागि क्षमता अभिवृद्धि तालिम र गोष्ठीमा बोल्दै वन मन्त्री बस्नेतले भने,‘बढ्दो जलवायु परिवर्तनले नेपाललाई पनि प्रभाव पारेको छ । अझ नेपाल जस्तो कम विकसित मुलकमा तत्काल जलवायु परिवर्तन अनुकुलनको काम गनुपर्ने देखिन्छ ।’

तालिमले जलवायु परिवर्तनको असरबाट बच्न अनुकुलनका लागि क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने मन्त्री बस्नेतले बताए ।

वन तथा वातावरण मन्त्रालयले  हाल जलवायु परिवर्तन नीति संशोधनको कार्य  गरिरहेको  बस्नेतले जानकारी दिए। ‘कम विकसित देशरुमा प्राकृतिक विपतीमा परी ९५ प्रतिशत मानिसले ज्यान गुमाउने गरेका छन्,’ उनले भने ‘अझ बाढीका कारण गरिब तथा विपन्न वर्ग झन् जोखिममा परेका छन्।’

वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले जलवायु परिवर्तन वातावरणसँगै विकाससँग पनि जोडिएको मुद्धा भएको बताए ।ओलीले जलवायु परिवर्तनकाे असरबाट बच्नको लागि अरू देशले अपनाएका राम्रो अभ्यास नेपालले सिक्न आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी नेपाल जलवायु परिवर्तनका कारण जोखिममा परेको हुँदा जलवायु अन्तर्गत समन्वय अनुकुलन कार्यक्रम कार्यान्वयनको प्रगती र जलवायु परिवर्तन महासन्धी सचिवालयले रिपोटिङ गनुपर्ने भएकोले क्षमता अभिवृद्धि कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न आवश्यक रहेको वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले बताए ।

चार दिन सम्म चल्ने उक्त तालिम तथा गोष्ठिमा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने एसिया एन्ड प्यासिफिक क्षेत्र र पूर्वी यूरोपका ४१ देशका विज्ञहरुको सहभागिता रहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics