२ डिग्री तापक्रम बढे नेपालमा के हुन्छ ?

A+ A-



आगामी सातादेखि सुरु हुने जलवायु परिवर्तनका पक्ष  राष्ट्रहरुको २४ औँ सम्मेलन (कोप २४) मा नेपालले विश्वको तापक्रम वृद्धि १.५ मै कायम राख्ने अडान विश्व समुदाय समक्ष दोहोर्‍याउने भएको छ ।

जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको नेपालमा तापक्रम वृद्धिको सबैभन्दा धेरै असर परिरहेको छ । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आइपीसीसी) को पछिल्लो प्रतिवेदनले दुई डिग्री तापक्रम बढ्दा प्रत्येक दश वर्षमा एक वर्ष हिउँ नै नपर्ने तथ्य सार्वजनिक गरेको छ । त्यसो हुँदा नेपालका हिमालहरू हिउँ बिहीन हुनेछन् ।

त्यस्तै नदीनाला तथा खोलानालामा पानी सुक्नेछ । नदी प्रणालीमा आधारित जलविद्युत् आयोजनाहरू संकटमा पर्नेछन् । त्यस्तै १.५ डिग्री सेल्सियसमा तापक्रम बृद्धि रोक्न सके एकसय वर्षमा एक वर्षमात्रै हिउँ पर्दैन । यसको अर्थ, शुन्य दशमलव ५ डिग्री बढी तापक्रम बढ्दा हिमाली क्षेत्रमा त्यसको नकारात्मक प्रभाव १० गुणा बढी पर्छ ।

नेपालमा जलवायु परिवर्तनका ठूला नकारात्मक असर देखिन थालिसकेका छन् । अहिले नै विश्व तापक्रम १ डिग्री सेल्सियसले बढिसकेको छ ।‘त्यसैले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा राख्नुपर्छ भन्ने हाम्रो बटमलाइन हो, यसमा हामी अडिक रहन्छौ । ’ वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले भने । उनले नेपालले १.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम बढ्न नदिन विश्व समुदायलाई एकीकृत गर्ने पहल थाल्न सकिने धारणा  उल्लेख गरे ।

पेरिस सम्झौतामा विश्वको तापक्रम दुई डिग्रीभन्दा माथि जान नदिने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपालका लागि १.५ डिग्री सेल्सियसमा तापक्रम वृद्धि रोक्न सके स्वास्थ्य, जैविक विविधता, जीविकोपार्जन तथा जलस्रोतको उपलब्धतामा कम असर गर्ने नेपालले तयार पारेको स्थिती पत्र (पोजीसन पेपर) मा उल्लेख छ ।

तापक्रम वृद्धिसँगै हिमनदी र हिमताल बन्ने क्रम बढ्ने र त्यसले नेपालजस्ता देशमा भयावह प्रकोप निम्तिने खतरा छ । नेपालको भौगोलिक वनोटका कारण पनि हिउँ पग्लिने र अस्तव्यस्त पानी पर्ने क्रमले बाढी र  पहिरोका ठूला प्रकोपबाट बच्न अहिलेदेखि नै ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

अर्को साता पोल्याण्डमा हुने कोप २४ मा विश्व समुदायसमक्ष तापक्रम वृद्धि १.५ डिग्रीमै कायम राख्न पहल गर्दा त्यसले प्राथमिकता नपाए नेपालले छुट्टै पहल गर्दै अघि बढ्नसमेत पछि नहट्ने तयारी गरिरहेको डा. ढकालले जानकारी दिए ।

विश्वका विकसित देशले उत्सर्जन गर्ने कार्वनडाइअक्साइड लगायत ग्यासको परिणाम घटिरहेको छ भने नेपालको भने बढिरहेको नयाँ तथ्यसमेत बाहिर आएको छ । जलवायु परिवर्तन महाशाखाका पूर्व प्रमुख रामप्रसाद लम्सालले भने, ‘ विकसित देशले गर्ने उत्सर्जन परिणाम घटिरहेको छ तर नेपालले गर्ने उत्सर्जन भने बढिरहेको देखिन्छ, नेपालमा उद्योग कलकारखानाको संख्या बढिहरका कारण पनि उत्सर्जनको परिणाम बढेको हो । ’

अहिले नेपालमा जलवायु परिवर्तनका असरहरू स्पष्ट रूपमा देखिन थालिसकेका छन् । विश्वमै तापक्रम वृद्धिको सबैभन्दा धेरै असर हिमाली क्षेत्रमा देखिएका छन् । कुल ग्राहस्थ उत्पादनमासमेत जलवायु परिवर्तनले ठूलो नोक्सानी पुर्‍याएका सरकारले तयार पारेको जलवायु परिवर्तन स्थितीपत्रमा उल्लेख छ ।

राधजानीमा जलवायु सम्मेलनमा नेपालले उठाउने विषयमा छलफल गर्न आयोजित छलफल कार्यक्रममा जलवायु परिवर्तनका कारण सबैभन्दा धेरै असर भोगिरहेका आदिवासी जनजाती तथा अन्य समुदायलाई लक्षित गरी कार्यक्रमहरू तय गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

सरकारले राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय मञ्चहरुमा यिनी विषय उठाउने महाशाखाका प्रमुख डा. ढकालले बताए । त्यस्तै विभिन्न तहका सरकारलेसमेत जलवायु परिर्वतनका विषयलाई प्राथमिकताकासाथ आफ्ना नीति तथा कार्यक्रममा उठाउन आवश्यक भएको निष्कर्ष विज्ञहरूको छ ।

नेपालले जलवायु परिवर्तनलाई चुनौतीका रूपमा होइन अवसरका रूपमा लिनुपर्ने देखिन्छ । विकास निर्माणका काम अघि बढाउँदा जलवायु मैत्री यातायात, निर्माण तथा कृषि प्रणाली अपनाउन आवश्यक रहेका निष्कर्ष पनि   सरकारले तयार पारेको स्थिती पत्रमा उल्लेख छ ।

कार्वनडाइअक्साइड उत्सर्जनलाई घटाएर झार्ने भन्ने बारेमा छलफल गर्नुपर्छ । निर्माण, शहरी तथा यातायात क्षेत्र तथा उर्जा उत्पादनलाई कसरी शून्य कार्वनमा झार्ने भन्नेबारेमा छलफल चलाउन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics