अफ्रिकका नयाँ पाहुना ‘सानु’ र ‘सानी’


सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ । अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केही सीमित छिमेकी टापुमा मात्रै पाइने यो जन्तुलाई चिडियाखानाले प्रदर्शनीमा राखेको हो ।

बाँदर प्रजातीको एक जोडी भाले पोथी ‘रिङटेल्ड लिमुर’लाई विशेष प्रकृतिको खोर निर्माण गरी गत शुक्रवारदेखि चिडियाखानाले प्रदर्शनीमा राखेको हो । सानु र सानी नेपाली नाम दिइएका यो जोडीलाई अफ्रिकी वातावरणको झल्को दिनेगरी ‘एसी’ जडित खोरमा राखिएको छ भने आवश्यकताअनुसार बाहिरी वातावरणमा निस्कने र घुलमिल हुने संरचना पनि तयार गरिएको छ ।

सानु र सानीलाई अफ्रिकाले नेपाललाई उपहारस्वरुप पठाएको भने होइन । गत वर्ष साउन पहिलो साता प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइवी)ले काठमाडौंबाट नियन्त्रणमा लिएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमार्फत सदर चिडियाखाना पु¥याइएको थियो । विभागले हस्तान्तरण गरेका ‘रिङटेल्ड लिमुर’ का बच्चालाई चिडियाखानाको क्वारेन्टाइनमा राखेर हुकाईएको चिडियाखानाका आयोजना व्यवस्थापक डा. चिरञ्जिवी प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

‘एक वर्षभन्दा बढी हाम्रो प्रत्यक्ष निगरानीमा राखिएको यो प्रजाती प्रदर्शनीमा राख्न उपयुक्त छ छैन भनेर यकिन गरिएको छ, अन्य जीवजन्तुलाई रोग संक्रमण गराउन सक्ने - नसक्ने यकिन भएपछि मात्रै प्रर्दशनीमा राखिएको हो’–उहाँले भन्नुभयो । फरक भूगोलका जन्तु भएकाले सानु र सानीको वास्तविक उमेर भने पत्ता लाग्न नसकेको प्रष्ट्याउँदै पोखरेलले भन्नुभयो–‘अहिले यो जोडी अर्धवयस्क उमेरको रहेको हाम्रो ठहर छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन)ले ‘रिङटेल्ड लिमुर’लाई संकटापन्न सूचीमा सूचिकृत गरेको छ । प्राकृतिक बासस्थानमा १६देखि १९ वर्ष बाँच्ने यो जन्तु चिडियाखानामा भने २३ वर्षसम्म बाँचेको अभिलेख छ । बाँस र निगालोको घाँस रुचाउने पुष्टी भएपछि सानु र सानीलाई यस्तै आहरा र मौसमी फलफूल खुवाउने गरिएको चिडियाखानाकी संरक्षण शिक्षा र सूचना अधिकृत लिना चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार अफ्रिकाको प्राकृतिक वातावरणमा यसले किरा र फट्याङ्ग्रा पनि खाएको पुष्टी भएको छ ।

मुख र आँखा कालो रङले ढाकिएको यो जन्तुको अनुहार र निधारको भाग भने सेतो रङले ढाकिएको हुन्छ भने शरिर सेतो र खैरो रङको हुन्छ । शरिर भन्दा पुच्छर लामो हुने अनि सेतो र कालो रङ मिश्रित पुच्छर निकै आर्कषक देखिन्छ । चिडियाखानामा अहिले ‘रिङटेल्ड लिमुर’ सहित विभिन्न १ सय २७ प्रजातीका १ हजार २ सय १९ वटा जिवजन्तु प्रर्दशनीमा राखिएको छ । रेडपान्डा (हाब्रे) र ‘रिङटेल्ड लिमुर’लाई प्राकृतिक वासस्थानको झल्को दिन ‘एसी’ जडित खोरमा राखिएको छ ।

#नेपाल समाचारपत्र

टीका बन्धन

प्रतिक्रिया दिनुहोस

web
analytics