चार महिनामा चितवनमा १०६ परिवार वन्यजन्तुबाट पीडित



चितवनमा चार महिनामा नै १०६ जना परिवार वन्यजन्तुबाट पीडित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७५/७६ (साउन देखि कार्तिकसम्म) १०६ परिवार वन्यजन्तुबाट पीडित भएका हुन ।

चितवनमा मानव क्षति, पशुधन क्षति, घरगोठ क्षति, अन्नबालि र बालीनालीबाट गरेर १०६ परिवार वन्यजन्तुबाट पीडित भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल बहादुर घिमिरेले वन्यजन्तुबाट पीडित १०६ जना परिवारले राहत पाउन बाँकी रहेको बताए ।

चालु आर्थिक वर्षमा वन्यजन्तुबाट पीडित परिवारले कसैले पनि राहत पाएका छैनन् । १०६ परिवारका लागि ७६ लाख ९८ हजार ३०४ रुपैयाँ राहत आवश्यक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । जसमा मृत्यु हुने परिवारको लागि ६० लाख, घाइते हुने परिवारको लागि ८ लाख ३५सय ४, पशुधन क्षतिको लागि ४ लाख ५५ हजार ,घरगोठ क्षतिको लागि २० हजार, भण्डारण गरेको अन्नवालीको क्षतिको लागि ४५ हजार र बालीनाली क्षतिको लागि ३ लाख ७४ हजार ८ सय रुपैयाँ राहत दिन बाँकी रहेको छ ।

वन्यजन्तु आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जसमा बाघको आक्रमणबाट २ जना, मगर गोहीको आक्रमणबाट १जना र हात्तीको आक्रमणबाट ३जनाको मृत्यु भएको हो।

त्यस्तै, वन्यजन्तु आक्रमणबाट १२ जना घाइते भएका छन् । घाइते हुने मध्ये गोहीको आक्रमणबाट ४जना, भालुको आक्रमणबाट ३जना, चितुवाको आक्रमणबाट १ जना र गैँडाको आक्रमणबाट एक जना रहेको छ ।

घाइते हुनेलाई सरकारले दुई लाख सम्म उपचार खर्च दिने व्यवस्था थियो । भर्खरैमात्र मन्त्रीपरिषदबाट वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाको तेस्रो संशोधनमा पारित भएसगैं सबै उपचार खर्च अब सरकारले गरिदिने निर्णय गरेको छ ।

त्यस्तै पशुधन क्षति ३६ वटा, घर गोठको क्षति २वटा, भण्डार गरेको अन्नवाली क्षति ६वटा र बालीनालीको क्षति ४४ वटा क्षति भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मन बहादुर खड्काले अर्थमन्त्रालयबाट स्विकृत लिनुपर्ने भएकोले राहतमा ढिलाई भएको अब निकुञ्जमा नै पैसा आइसकेको हुँदा पीडितले समयमा नै राहत पाउने बताए ।

चालु आर्थिक वर्षको लागि १५ करोड रुपैयाँ राहतको लागी निकुञ्जमा आइसकेको खड्काले जानकारी दिए ।

आर्थिक वर्ष २०७३/७४मा ५ सय ५७ परिवार वन्यजन्तुबाट पीडित भएका थिए ।राहत समयमा नपाउँदा वन्यजन्तु पीडितले धेरै समस्या भोग्दै आएका छन् ।

नेपालमा पछिल्लो समयमा मानव र वन्यजन्तु बिचको द्धन्द्ध बढ्दो अवस्थामा छ । हात्ती,गैँडा,बाघ,भालु र चितुवाबाट हुने मानवीय क्षति,पशुधनको क्षति,भण्डारण गरेको अन्नको क्षति,घर-गोठको क्षति र खाद्यान्न बाली –उखु र व्यावसायिक केरा खेती समेतको क्षति बढी भएको पाइन्छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकामा सुरुमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग त्यसपछि क्षेत्रिय वन निर्देशलय र अहिले नजिकको निकुञ्ज तथा आरक्ष कार्यालयबाट राहत माग गर्ने व्यवस्था रहेको छ ।

वन्यजन्तुको द्धन्द्धबाट पीडितलाई राहत दिनका लागि पटक पटक नीति संशोधन भएपनि छिटो र धेरै राहत दिने सन्दर्भमा अझ पनि प्रमाणको रूपमा धेरै कागज पत्र पेस गर्ने झन्झटिलो राहत पत्रियाका कारण पीडितले समयमा नै राहत नपाएको पीडितको गुनासो छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics