पोल्यान्डमा जलवायु सम्मेलन सुरु

आइतबारदेखि पोल्यान्डमा क्यटोविसमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी खाका महासन्धि (यूएनएफसीसीसी)को २४औं सम्मेलन (कोप—२४) सुरु भएको छ ।

नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी  उक्त सम्मेलनमा भाग लिन शनिबार पोल्यान्ड गएकी थिइन्। भण्डारीको मंसिर १७ र १८ गते जलवायु सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित पाँचजना सांसद र उच्च पदस्थ अधिकारीहरु पनि सम्मेलनमा भाग  लिने छन् ।

सम्मेलनमा नेपालले अति कम विकसित मुलुकहरूको समूह (एलडीसी) सँग मिलेर पर्वतीय र हिमालय क्षेत्रमा परेको असर, क्षतीपूर्ती र अनुकुलनको मुद्दालाई गहन ढङ्गले उठाउने छ । एलडीसीले जलवायु परिवर्तनको नकारात्मक असर भोगिरहेका मुलुकहरुलाई विकसित मुलुकहरूले दिने आर्थिक सहायता सरल र सहज बनाउनसमेत ध्यानाकर्षण गराउँदै आएका छन् ।

कोप २४ मा उठाउने साझा मुद्दाबारे एलडीसीका ४८ वटै मुलुकले एक साता अघि दुई दिन पोल्याण्डमा पूर्व तयारी बैठक बसेका थिए । यसका लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गतका जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा.महेश्वर ढकाल सहितको नेपाली प्रतिनिधिमण्डल  छलफलमा सहभागि भएका   थिए।

सम्मेलनमा पेरिस सम्झौताका हस्ताक्षर राष्ट्रहरूले १.५ डिग्री भन्दा कम तापक्रम राख्न अति कम विकासित देशले पहल गर्ने  छन् ।

कोप २४मा पेरिस सम्भौता कार्यान्वयनमा जोड दिने एलडीसीको प्राथामिकतामा रहेको छ ।

यो जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतापछिको तेस्रो सम्मेलन हो । पेरिस सम्झौतापछिको पहिलो सम्मेलन  मोरक्कोको माराकेशमा र दोस्रो सम्मेलन जर्मनीको बोर्नमा भएको थियो । आइबार देखि सुरु भएको जलवायु सम्मेलन डिसेम्बर १४ सम्म चल्ने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics