विकास र संरक्षण सँगसँगै

विकास निर्माण र वातावरण संरक्षणको अभियान सँगसँगै अघि बढाउनुपर्ने विज्ञहरूले बताएका छन् । राजधानीमा सोमबारदेखि सुरु भएको दीगो हरित संरचना विषयक छलफल कार्यक्रममा बोल्दै विकास निर्माण तथा संरक्षणसँग सम्बन्धित विभिन्न सरकारी विभागका प्रमुखहरूले विकास र संरक्षण सँगै लैजानुको विकल्प नभएको बताए ।

कार्यक्रममा बोल्दै वन तथा भू संरक्षण विभागका महानिर्देशक डा. राम प्रसाद लम्सालले विकास र संरक्षणलाई मिलाएर अघि बढाउन सबैको सहकार्य हुनुपर्ने बताए । उनले दुवै विषयलाई सन्तुलन मिलाउन सके सबैको हित हुने उनको धारणा थियो ।

सडक विभागका उपमहानिर्देशक केशव कुमार शर्माले विकास र संरक्षणका बिचमा द्धन्द्ध जस्तो देखिने बताउँदै त्यसलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्न आवश्यक  रहेकाे बताए । उनले भने ,' विकास र संरक्षण विपरीत होइनन् । यी  एक अर्काका परिपुरक हुन् । वातावरण संरक्षणसँगै  जीविकोपार्जनमा केन्द्रित हुनुपर्छ ।दुबैलाई सन्तुलित गर्नुपर्छ । मानवीय जीवनको परिपुरकका रूपमा वातावरण तथा वन्यजन्तुको संरक्षण गर्नुपर्छ । दीगो विकासको अवधारणाले यी काम अघि बढाउनुपर्छ । नेपाल सरकार तुलनात्मक रूपमा बढी संवेदनशिल छ । 'सडक बनाउने क्रममा विभागले अण्डर पासहरू बनाउने काम जारी राखेको जानकारी दिए ।

राष्ट्रिय  निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले विकासका लागि भौतिक पूर्वाधारण निर्माण गर्न आवश्यक भएको बताउँदै संरक्षण र विकासबीच सन्तुलन मिलाएर अघि बढ्नुपर्ने बताए ।

वन र वन्यजन्तु मानिस नभएपनि बाँच्न सक्छन् तर मानव जीवनका लागि वन्यजन्तु र वन क्षेत्र अपरिहार्य छ । हरित संरचना निर्माण नहुँदा वन्यजन्तु तथा मावनीय क्षतिसमेत बढिरहेको जानकारी उनले दिए ।

विकास निर्माणका लागि काम थाल्नुअघि नै संरचनामा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । सडक विभाग, वन तथा भू संरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा वातावरणमैत्री विकास निर्माणका काम अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि घनश्याम गुरुङले संरक्षण मानवीय जीवन र जगतका लागि महत्त्वपूर्ण भएको बताए । उनले पर्यटनको विकास र आर्थिक सम्बृद्धिका लागि वन्यजन्तु र वातावरणको संरक्षण अपरिहार्य भएको बताउँदै दीगो हरित संरचाना निर्माण अहिलेको आवश्यकता औँल्याए ।

ट्रान्समिसन लाइन, ठुला बाटो तथा हाइवे निर्माणका क्रममा ठुलो वन क्षेत्र नष्ट हुन्छ त्यसको व्यवस्थापन वैज्ञानिक रूपमा गर्न आवश्यक भएको  उल्लेख गरे ।

छलफल कार्यक्रम मंगलबारसम्म चल्नेछ ।  राष्ट्रिय निकुञ्ज विभाग र विश्व वन्यजजन्तु कोषको आयोजनामा भएको कार्यक्रममा हरित संरचना निर्माणका बारेमा विभिन्न दृष्टिकोणबाट छलफल हुनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics