यसरी कम गर्न सकिन्छ मानिस र बाँदरबीचको द्वन्द्व

A+ A-

मानिस र बाँदरको सम्बन्ध त्रेता युगदेखि थियो जुन सम्बन्ध त्यस बेला पूजनीय थियो भने हाल द्वन्दात्मक! हाल नेपालका विभिन्न क्षेत्रहरूमा मानिस र बाँदरहरूको सम्बन्ध अन्नबालीको नोक्सानीदेखि भौतिक आक्रमण, हुँदै यौनशोषण समेत हुने गरेको भन्ने विभिन्न संचारमाध्यममा खबर आईरहेका छन् । यही सन्दर्भमा मानिस र बाँदरबीच किन द्वन्द्व किन सिर्जना हुन्छन् भन्ने एउटा महत्त्वपूर्ण बहसको विषय हुन सक्छ ।

अधिकतम आहारा प्राप्तिको सिद्धान्त

चरण क्षेत्रहरू मुख्यरुपमा तीन प्रकारका हुन्छन् । उच्च, मध्यम र नीच कोटीको । यस सिद्धान्तका अनुसार कुनै पनि उच्चकोटीको चरणमा उच्चकोटिको प्रशस्त खानेकुरा हुन्छ । मानिसको पहुँच बाहिरको वासस्थानमा उच्चकोटीको वासस्थान प्राय धेरै परभक्षीहरू र उस्तै आनिवानी भएका अन्य जीवहरूले ओगटीसकेको हुने हुँदा निकै जोखिमपूर्ण, प्रतिस्पर्धात्मक, र रोग तथा महामारीको जोखिमयुक्त हुन्छ ।

त्यस्तै साधारण चरण क्षेत्र तुलनात्मक रूपमा कम गुणस्तरको, केही बढी समय लगाएर खाना खोज्नु पर्ने तर उच्चकोटिको चरण भन्दा सुरक्षित हुन्छ । नीचकोटिको चरण भने खानेकुरा प्राप्तिमा साह्रै दुख गर्नुपर्ने तर परभक्षीहरुबाट भने सुरक्षित क्षेत्र रहन्छ । बाँदर र मानिसबीचको द्धन्द्धको विषय यीनै वरिपरि घुमेको छ ।

यस लेखको प्रयोजनको लागि खेतबारी (यहाँ मानिस र कुकुरलाई परभक्षीको रूपमा लिइएको छ) लाई उच्चकोटिको चरणक्षेत्र, सामुदायिक वनलाई सामान्य खालको चरणक्षेत्र (कुकुर तथा चितुवा आदि पाइने) र नाङ्गो पाखो वा भीरपहरा (सामान्यतया मानिस, कुकुर, वा अन्य परभक्षीको पहुँच बाहिरको) निचकोटिको चरणक्षेत्रको रूपमा लिइएको छ ।

नेपालमा तीन (प्रमुख) र ६ उपप्रजातिका बाँदरहरू पाइन्छ जस्तै रातो बाँदर, आसामी बाँदर (पहरे वा कालो बाँदर), र लंगुर (ढेँडु, गुना) । यी सबै बाँदरहरू मानिसको खेतबारीमा पसि खेतिपाति नष्ट गर्ने गर्दछन् । खेतबारी भनेको उनीहरूको लागि उच्चकोटिको क्षेत्र हो जहाँ थोरैसमयमा दिनभरलाई पुग्ने खाना प्राप्त हुन्छ तर यस क्षेत्रमा मानिसले कुकुरजस्तो हिँश्रक जीवको साथमा पुरादिन पहरा दिएको हुन्छ जहाँ उनीहरूको अंगभंग हुने, बच्चा छुट्ने, समूह विग्रह हुने वा मर्नेसम्मको सम्भावना हुन्छ ।

प्रकृतिमा कुन वासस्थानमा चर्न जाने भन्ने कुरा उसको तत्कालको भोकको अवस्थाले निर्धारण गर्छ । यदि तीनै प्रकारका चरणमा एउटै परिश्रमबाट जान आउन सकिन्छ । उच्चकोटिको चरणमा प्रशस्त खानेकुरा प्राप्त हुने निश्चित छ तर त्यहाँ सुरक्षाको सवाल छ भने तत्कालको भोक मेटाउनको लागि जस्तोसुकै जोखिम मोलेर पनि जनावरहरू (बाँदर)ले उच्चकोटिको चरण नै छान्दछ । चित्रमा देखाईए अनुसार अत्यधिक भोकाएको बेला जनावरले घटनाक्रम १ देखि २ सम्म उच्चकोटिको चरण (खेतबारी)मा बलगर्ने र त्यसपछि अवस्थाहेरि उच्च, सामान्य वा निचकोटीको चरणमा गई चर्नेवा सामाजिक कार्य गर्नेगर्दछन् । यस क्रमको अन्त्यमा भने जनावर(बाँदर)हरू निचकोटिको चरनलाई पूर्णरुपमा छाडि पुन उच्चकोटिको चरण (खेतबारी) तिर बल गर्ने वा सामान्य चरण क्षेत्रमा विचरण गर्ने हुनाले सो समयमा आफ्नो बालीनालिको सुरक्षामा ध्यान दिनु जरुरी हुन्छ । 
नेपाली समाजमा देखिएको वैदेशिक रोजगारी र बसाईसराईले गर्दा कृषि भूमी बाँझिन जाँदा खेतबारीहरूले वन्यजन्तुलाई निच वासस्थान र उच्चकोटिको वास्थानको बिच मध्यम चरनक्षेत्रको रूपमा पुलको काम गरेको पाइन्छ । त्यस्तै सामुदायिक वन विकासको अवधारणाको परिमाणस्वरुप विगतमा नाँगा डाँडापाखाहरू पुन हराभरा हुन आए पश्चात् बाँदर, बँदेल, स्याल, चितुवा जस्ता सुरुमा नयाँ वासस्थानमा आकर्षित हुने प्रजातिहरूले घुसपैठ गर्ने सम्भावना देखिन्छ । यस प्रकार घुसपैठ गर्ने वन्यजन्तुहरू सामुदायिक वन हुँदै मानिसको खेतबारीसम्म सहजै प्रवेश गर्दछन् ।

नेपालका सामुदायिक वनहरूमा काठको माग अत्यधिक रहेको छ । काठको बढ्दो मागका कारण सामुदायिक वनहरूमा मुख्यतया काठ उत्पादनमा केन्द्रित व्यवस्थापन देखिन्छ । विशेष गरी छिटो बढ्ने तथा राम्रो काठ उत्पादन दिने प्रजातिलाईमात्र महत्त्व दिँदा सामुदायिक वनमा प्रजाति विविधतामा कमी आउँदै गएको छ । विषेशगरि वनको गोडमेल, सरसफाईगर्ने र व्यवस्थापनको क्रममा आगो समेत लगाउने क्रममा तल्लो छत्रतहमा रहने प्रजातिहरू मासिँदै गएका छन् जुन प्रजातिहरू बाँदरहरूको मुख्य आहारा प्रजाति हुन् । तसर्थ यसप्रकार व्यवस्थापन गरिएको वन सामान्य प्रकारको वा केही भने निचकोटिको चरण क्षेत्र समेत हुने भएकोले बाँदर लगायतका जनावरहरू अधिकतम खाना प्राप्तिको सिद्धान्तले व्याख्यागरे अनुसार नै खेतबारीमा पस्न बाध्य भएका हुन् । सामुदायिक वनमा प्रजाति विविधतामा ध्यान दिन सके यो अवस्थामा सुधार हुने सम्भावना छ ।

मानिसको खानपिन, विसर्जन र बाँदरको परिवर्तित आनीबानी

जनावरहरूलाई खाना दिने, सार्वजनिक स्थानमा खानाजन्य फोहोर विसर्जन गर्ने, डम्पिङसाईट व्यवस्थित नहुनु आदिले गर्दा बाँदर लगायतका वन्यजन्तुहरू प्राकृतिक खानाको सट्टा फोहोरमा खाना खोज्नेतर्फ आकर्षित हुने गरेका छन् । मानिसले खाई फालेका खानामा पोषणको हिसाबले पनि उच्च कोटिको हुने हुनाले जनावरहरू छिटो प्रजनन योग्य हुने र दुई बच्चा बिचको प्रजनन अवधि समेत कम हुन गई नाटकीय रूपमा सङ्ख्यामा वृद्धि हुन जान्छ । तत्पश्चात वानि बिग्रेका बाँदरहरूले खानेकुराको खोजीमा गाउँ, सहर छिर्ने र चोरी गर्न थाल्दछन् । महत्त्वपूर्ण कुरा बाँदरहरूले आफ्नो जंगली व्यवहार नै भुलेर झनै समस्या थप्दैछन् ।

सामान्यतया बाँदरहरूको समूह मातृवंशीय हुन्छ । प्राकृतिक वासस्थानमा कुनै पनि समूहमा भाले बच्चाले युवा अवस्थामा समूह छोड्दछ वा समूह छोड्न बाध्य पारिन्छ भने त्यसको ठाउँमा अन्यसमुहबाट आएका आगन्तुक भालेले लिने गर्दछन् । धपाईएका युवाहरूले स सानो युवा(समूह (ब्याचलर ग्रुप  ) बनाउँछन् जसले नाता नपर्ने अर्कै समूहमा आक्रमण गरी त्यस समूहमा प्रवेश गर्दछन् । प्राय बाँदरको समूहमा झगडा भइरहने कारण यो पनि हो । यिनीहरू समूहबाट धपाइएका हुनाले थप आक्रामक र रिसाहा प्रवृत्तिका पनि हुन्छन् र बच्चा तथा महिलालाई तर्साउँछन् ।

बाँदरले महिलाहरूलाई बलत्कार समेत गरेको भन्ने सुनिन्छ । त्यसमा पनि सत्यता हुन सक्छ किनभने बाँदरको भालेले महिनावारी भएका महिलाहरूको गन्ध पत्ता लगाउने हुनाले यौनाकाँक्षाले महिलाहरूमाथि जाईलाग्न सक्छन् । यो समयमा महिलाहरू बढी सचेत रहनु पर्दछ । यस अवधिमा सकेसम्म बाँदर पाइने जङ्गलमा एक्लै घाँस दाउरा गर्न नजानु उत्तम हुन्छ ।

सामान्यतया बाँदरहरू मानिससँग मुखामुख भएको मन पराउँदैनन् । मुखामुख हुने बित्तिकै आक्रमणको प्रयास गर्दछन् । सामान्यतया जनावरहरूले सुरुमा अर्को जनावरको अवस्था आँकलन गर्न आक्रमणको प्रयास गर्दछन् जसको कारण लडाइँको सम्भावित जोखिमबाट दुवै पक्ष बच्ने हुन्छ । बाँदरको यो प्रयास पनि फूर्ती लाएको मात्र हो, उनीहरूलाई बेवास्ता गर्नुहोस् तर भागिहाल्नु हुँदैन । हातमा खानेकुरा बोकेको अवस्थामा पनि बाँदरले आक्रमण गर्ने सम्भावना हुन्छ यस्तोमा खानेकुरा छाडिदिनु राम्रो तथा सुरक्षित हुन्छ । उनीहरूको बच्चा वा कुनै पनि सदस्यलाई जिस्काउनु हुँदैन । असुरक्षित महसुस गरेको खण्डमा भने प्रतिरक्षाको रूपमा प्रत्याक्रमण गर्न सक्छन् ।

नैतिक पक्ष

पूर्वीय दर्शन, शास्त्र, तथा प्रमाण हेर्ने हो भने पृथ्वीमा ८४ लाख जीवजन्तुहरू अस्तित्वमा रहेको व्याख्या रहेको पाइन्छ । मानिस सबैभन्दा विवेकशील प्राणी भएको र सम्पूर्ण जगतको मुक्तिको लागि भगवान् स्वयंले मानिसलाई जिम्मा लगाएको भन्ने उल्लेख भएको हुनाले पनि मानिसले आफ्नोमात्र कल्याणको लागि नसोची समग्र जगतको हीतको लागि सोच्ने, योजना बनाउने, र कर्म गर्नु पर्ने तथ्यको वर्णन गरेको पाइन्छ । हिन्दुधर्मको अलावा अन्य धर्ममा समेत प्रकृति पूजा, संरक्षण, र व्यवस्थापनको बारेमा स्पष्ट धारणा राखेको पाइन्छ । अर्को कोणबाट हेर्दा मानिस पृथ्वीमा नजन्मिँदै बाँच्न पाउने अधिकार लिएर आएको हुन्छ भने समग्र जीवजन्तुहरूको पनि सोही बमोजिमको हक अधिकारको सुनिश्चितता मानिसले नै गर्नु पर्ने हुन्छ । यसो गर्दा हामीले प्रत्यक्ष र परोक्ष रूपमा आर्थिक र पर्यावरणीय फाइदा समेत पाइरहेका हुन्छौँ भने भावी सन्ततिको सामु प्रकृतिका अमूल्य निधीहरू उपहार स्वरूप हस्तान्तरण गर्न सक्नेछौँ । महत्त्वपूर्ण कुरा वन्यजन्तुको संरक्षण गर्नु मानिसहरूको नैतिक दायित्व पनि हो ।

(लेखक गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत हुन् । )

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics