यस्तो छ सापकोटा परिवारको सर्पसँगको प्रेम

चितवन भरतपुरका एक परिवारले सर्पलाई आफ्नो सन्तानसरह माया गर्ने गरेका छन् । भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाको परिवार सर्प देख्दा निकै खुशी बन्छन् ।सर्पसँग रमाउँछन, खेल्छन र उद्धार गर्छन् । उनीहरु सर्प संरक्षणमा क्रियाशील छन् । सर्पलाई समातेर जङ्गलमा लगेर छाडिदिन्छन् ।

गाउँघरमा सर्प देखिँदा उनीहरुलाई बोलाइन्छ । उनिहरु तुरुन्तै पुगेर उद्धारमा जुट्छन् । स्थानीयका घरभित्र, आँगन वरपर देखिएका सर्प समात्न जाने गर्छन । ‘घरमा सर्प पस्यो भन्दै फोन आउँछ’, अनिरुद्र भने, ‘सर्पलाई समाउने औजार र बोरा लिएर जान्छु, करिब १० मिनेटमा उद्धारको काम सकिन्छ ।’

सापकोटा परिवारले एक महिनामै आठ सर्पको उद्धार भएको छ । ‘सर्पलाई उद्धार गर्र्दा सन्तुष्टि मिलेको छ’, सापकोटाले भने, ‘सर्प जोगाउन सकिएन भने मानव अस्तित्व पनि समाप्त हुन्छ । सर्प उद्धार गरेवापत कुनै रकम लिदैनन् ।

चितवनमा मात्रै होइन, उनीहरुले छिमेकी जिल्ला नवलपुरसम्म पनि पुगेर उद्धार गर्ने गरेका छन् । बाउन्न वर्षीय अनिरुद्र नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाएका थियो । नेपाली सेनामा हुँदा उनले सर्पको कहिल्यै उद्धार गर्नु नभएको भएपनि सर्प संरक्षणमा जुट्नुभएको छोरा सुनिल सापकोटाबाट प्रभावित भएर उहाँ पनि सर्प संरक्षणमा लागेको जानकारी दिए ।

‘छोराले सर्प बचाउनुपर्छ भन्यो, ‘जियोग्राफी, एनिमल प्लानेट जस्त विदेशी टेलिभिजन च्यानलहरु हेर्दा विदेशीले संरक्षण गरेको देखेँ’, उनले विगत सम्झदै भने, ‘विदेशीले सर्पलाई चिडियाखानामा पालेको देखेँ । वातावरणलाई यथावत राख्न सर्प बचाउनैपर्ने रहेछ भन्ने थाहा भएपछि यसतर्फ लागेको हुँ ।’
उनले पछिल्लो समय घरभित्र प्रवेश गरेका करेत, अजिङ्गर, धामिनको उद्धार गरेर ल्याएको जानकारी दिए । अहिलेसम्म ४०० भन्दा बढी सर्पलाई उद्धार गरी जङ्गलमा छाडेको उहाँको भनाइ छ ।

अहिले सर्प राख्नकै लागि सापकोटा परिवारले काठको कोठा भएको दराज बनाएका छन् । कम विषालु सर्पलाई दराजमा राखे पनि विषालु सर्पलाई प्लाष्टिकको भाँडामा जम्मा गर्दै आउनुभएको छ । उद्धार गरेर जम्मा भएका सर्पलाई नजिकैको देवनगरको जङ्गलमा लगेर छाड्ने गर्नुहुन्छ । ‘

सापकोटाले अहिलेसम्म सर्प उद्धारसम्बन्धी कुनै औपचारिक तालीम भने लिएका छैनन । उनले भने, ‘टिभीबाटै सिकेको हुँु, हेरेर सिकेको ज्ञानका आधारमा सर्पलाई समात्ने गरेको छु ।’

सर्पसँग जति नजिक भइन्छ, डर भाग्दै जाने उनको भनाइ छ । उनी मात्र होइन, घरका सबै सदस्य अहिले सर्पको संरक्षण लागेका छन् । घरपरिवार सबै सर्प संरक्षणमा सकारात्मक देखिएपछि उनलाई यो काम गर्न निकै सजिलो भएको छ । उनकी श्रीमती जानकी भन्छिन् , ‘कम विषालु सर्प मैले पनि उद्धार गर्छु ।’

सर्पले वातावरणमा रहेका हानिकारक विषादी खाने भएकाले यसको संरक्षण नगरे मानवजातिलाई नै प्रत्यक्ष असर पुग्ने उहाँको बुझाइ छ । छोरा सुनिल अहिले सर्पको विषबारेको अध्ययन अनुसन्धान गर्न भूटानमै छन् ।

अहिले सापकोटा परिवारले सर्पबारे जनचेतना फैलाउन श्रव्यदृश्य (भिडियो) निर्माण गरी सामाजिक सञ्जालमा समेत हालेर सर्पको बहुउपयोग गुणबारे सबैलाई बुझाउने प्रयासमा छन् । सर्पबारे भिडियो निर्माण गर्न उहाँका तीन वर्षका नातिदेखि छोरी, बुहारी र श्रीमतीले सहयोग गर्दै आइरहेका छन् । नेपालमा २०० भन्दा बढी प्रजातिका सर्पहरु पाइन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics