तस्करले उजाड बनाए चुरेको वन

वनका कर्मचारीको मिलोमतोमा अत्यधिक मात्रामा काठ तस्करी हुन थालेपछि चुरे क्षेत्र उजाड बन्दै गएको छ । बुधबारको अन्नपुर्ण पोष्टमा मनिका झा लेख्छिन्, काठ तस्करले बिनारोकतोक हरिया डाँडा रित्याउन थालेपछि धनुषाको चुरे क्षेत्र अहिले मरुभूमिझैं देखिन थालेको छ ।

एक दशकअघिसम्म हराभरा रहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका १ मा पर्ने सपही भालुखोला चुरे क्षेत्र अहिले उजाड भएको छ । राजनीतिक संक्रमण कालको फाइदा उठाँउदै प्रहरी र वन रक्षकको मिलोमतोमा काठ तस्करले यहाँबाट बहुमूल्य रूख कटान गरेपछि वन क्षेत्र घट्दै जानुका साथै उजाड भएको हो । हरिया डाँडाहरू अहिले बन्जर भएका छन् । आफूहरूको आँखा अगाडि नै चुरेका डाँडा उजाड भएको स्थानीय ६० वर्षीय मंगलसिंह थोकरले बताए । थाकेर भन्छन् हामीले १० वर्ष पहिले यस क्षेत्रको बाँझो जमिनमा वृक्षारोपण गर्न पहल गरे पनि काठ तस्करले सबै बिरुवा मासिदिए। दिउँसै तस्करहरूले रूख काटेर लैजाने गरेका छन् । तर यहाँ कसैले वास्ता गर्दैनन् । कहिले कहीँ वनका कर्मचारी आए पनि तस्करको डरले वा उनीहरूसँगको मिलोमतोका कारण कसैले पनि रूख कटानमा रोक नलगाउने गरेको स्थानीयको भनाइ छ ।

कर्मचारीकै लापरबाहीका कारण चुरे संरक्षण गर्न धनुषामा आएको करोडौं रकम यस वर्ष पनि फ्रिज हुने भएको छ । चुरे क्षेत्रलाई हराभरा बनाउन आएको बजेट सदुपयोग नगर्नुका साथै वन क्षेत्रमा अवैध अतिक्रमण गरी बसोबास गर्नेलाई खाली गराउनसमेत कर्मचारीले चासो देखाएका छैनन् । कर्मचारीले सुरक्षा खतराको नाममा तस्करलाई प्रसय दिएको र उनीहरूसँग मिलोमतो गरी तस्करीलाई बढावा दिइरहेको स्थानीयवासी बताउँछन् ।

जैविक विविधताले भरिपूर्ण मानिएको यस क्षेत्रलाई हराभरा बनाउन सरकारले पाँच वर्षयता राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत धनुषामा यस वर्र्ष एक करोड ६८ लाख रुपैयाँभन्दा बढी बजेट आए पनि कर्मचारीले कार्य सम्पादन गर्न नसकेपछि अहिलेसम्म झन्डै ५९ लाख मात्र खर्च भएको जिल्ला वन कार्यालय धनुषाले जनाएको छ । सरकारले सामुदायिक वन तथा कबुलियती वन, वृक्ष सुधार तथा निजी वन कार्यक्रमलगायत वृक्षारोपणका लागि चार करोड ८५ लाखभन्दा बढी बजेट विनयोजन गरेको छ ।

आर्थिक वर्ष सकिन एक महिनाभन्दा कम समय रहे पनि कर्मचारीको लापरबाहीका कारण अहिलेसम्म २८ प्रतिशत रकम मात्र खर्च भएको कोष तथा लेखा तथा नियन्त्रण कार्यालय धनुषाका प्रमुख डा. वीरेन्द्रकुमार मिश्रले बताए । चुरे वन क्षेत्र नासिँदै गएका कारण तराई मधेसको उर्वर भूमि मरुभूमिमा परिणत हँदै गएको छ । जिल्ला वन कार्यालयले सर्वपक्षीय निर्णय कार्यान्वयन नगर्दा यहाँ मानव बस्ती विस्तार भएसँगै खेतीपाती लगाउने क्रम पनि दिन प्रतिदिन बढ्दै गएको छ । स्रेस्ता र प्रमाणबिनै वन क्षेत्रको घरजग्गा कपाली तमसुकका भरमा लाखौ रुपैयाँमा किनबेचसमेत हुँदै आएको छ । चुरे मासिँदै गएपछि जिल्लाको उत्तरी भेगमा खानेपानीको हाहाकार छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics