‘खाग छैन; पुच्छर काटेछ; रगत चुहाउँदै भागेको गैँडा भेटियो’



‘गैंडालाई चार वर्ष’ गैंडाको सम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । लेखकले पुस्तकमा कसरी गैँडा संरक्षण गर्ने ? चोरी सिकारीबाट गैँडाको हत्या कसरी रोक्ने ? गैँडाको वासस्थानको समुचित व्यवस्थापन र संरक्षण कसरी गर्ने ? भन्ने  उल्लेख गर्दै आफुले गरेका क्रियाकलापको सिलसिलाबद्ध चित्रण गरेका छन् । यो पुस्तक चितवन राष्ट्रिय निकुञ्जको सेरोफेरोमा आधारीत रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सहायक वार्डेनको रुपमा रहेका लेखकले आफुले काम गरेको अवधिमा भएका संरक्षणका संघर्षलाई पुस्तक मार्फत आम मानिसमा जानकारी गराएका छन् ।

यो पुस्तक वि. सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले आजदेखि प्रत्येक साता नेचर खबर अनलाइनबाट प्रकाशित गर्नेछौँ । लेखकले पुस्तकमा चितवन राष्ट्रिय निकुञ्जमा सहायक वार्डेनका रुपमा कार्यरत भएदेखिको आफ्ना संघर्षको समयलाई यसरी सुरु गरेका छन् ।

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)

संरक्षणको सङ्घर्ष

२०५९ सालमा म रारा राष्ट्रिय निकुञ्ज कार्यालयमा वार्डेन पदमा कार्यरत थिए । त्यहाँबाट मलाई साउनमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयमा काजमा पठाइयो र पुसमा काज फिर्ता भई काठमाडौँमा थिएँ । मलाई राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकले भेट्न बोलाउनुभयो र भन्नुभयो– ‘म तपाईंलाई राम्रो ठाउँमा पठाइदिँदै छु । चितवनमा गैँडा मरेका मर्यै छन्, तपाईं त्यहाँ जानुस् र काम गर्नुस् ।’

मैले ‘हुन्छ’ भनेँ। महानिर्देशकले चितवनलाई राम्रो ठाउँ कुन कारणले भन्नुभएको हो, मैले बुझ्न सकिनँ। मेरो दरबन्दी त्यति बेला पनि रारा राष्ट्रिय निकुञ्जमै वार्डेन पदमा थियो ।

मेरो काज सरूवाको कागज बन्यो, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सहायक वार्डेन पदमा । मैले त्यहाँ चोरी सिकार प्रतिरोध इकाइको संयोजक भई कामकाज गर्नुपर्ने थियो । शुभचिन्तकहरुले मलाई चितवनमा गैँडा अत्यधिक मरेको र चोरी सिकार नियन्त्रण (एन्टी–पोचिद्ध) को काम अत्यन्त जोखिमपूर्ण हुने भन्दै एकदमै जोगिएर काम गर्नुपर्ने सुझाव दिइरहेका थिए । मैले चाहिँ जागिरे जीवनमा पाएको गैँडा जस्तो जनावर जोगाउने चुनौतीपूर्ण र महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने अठोट मनमनै गरिसकेको थिएँ । रमाना
कागज लिएपछि वन मन्त्रालयले निकुञ्ज कार्यालयलाई पठाएको एउटा जीर्ण खालको जेनतेन मर्मत गरिएको ल्यान्डक्रुजर गाडीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत सूर्यबहादुर पाण्डेसँगै म २०५९ माघ २६ गते काठमाडौँबाट प्रस्थान गरेँ ।

हामी घुम्दै निकुञ्जको मुख्यालय रहेको कसरा पुग्दा साँझ परेको थियो । हामीले निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन)
पुरनभक्त श्रेष्ठलाई भेट्यौँ । उहाँले म सरूवा भै आएकामा अत्यन्त खुसी व्यक्त गर्नुभयो र भन्नुभयो– ‘कमल भाइ जस्तो सहायक भए त गैँडा जोगाउन सकिहालिन्छ नि !’

मलाई चिफ सर र पाण्डे सरले एन्टी–पोचिद्धको कामकाे ब्रिफिङ गर्नुभयो । चिफ वार्डेनले ‘म सबै सूचना तथा जानकारी तपाईंलाई दिन्छु सुराकी पनि चिनाइदिन्छु काम पनि बताउँछु’ भन्नुभयाे । मलाई एन्टी–पोचिद्धकाे केही ज्ञान थिएन । त्यससम्बन्धी कुनै तालिम वा गोष्ठीमा भाग लिएको पनि थिइनँ । सगरमाथा लगायत अन्य निकुञ्जमा मध्यवर्ती क्षेत्रसम्बन्धी काम गरेको अनुभव मात्र थियो ।

पाण्डे सरले मलाई सौराहा, खगेन्द्रमल्ली लगायत विभिन्न ठाउँमा घुमाउनुभयो । नौला ठाउँ, नौलै कर्मचारी अनि कामको जिम्मेवारी पनि नौलो नै थियो तैपनि सबै स्टाफ मप्रति आशावादी देखिन्थे। ‘सर आउनुभयो; अब केही हुन्छ कि ?’ कर्मचारीहरु भनिरहेका हुन्थे । म पनि सोच्थेँ— एक दिन अवश्य चोरी सिकार नियन्त्रण गर्नेछु र अप्राकृतिक कारणले गैँडा मर्न दिनेछैन ।

चितवनका ठाउँ र बाटाहरुसँग म परिचित थिइनँ । तर पनि ममा चुनौतीपूर्ण काम गर्ने अत्यन्तै उत्साह, जोस र जाँगर थियो । समय ज्यादै
विषम थियो । चितवन माओवादीबाट अति प्रभावित जिल्ला भएकाले उनीहरुका घनीभूत कार्यक्रम सञ्चालन भइरहेका छन् भन्ने खबर बीचबीचमा आउँथ्यो । तर त्यसले मेरो मन र सोचाइमा कुनै असर पारेको थिएन । मलाई त्यसप्रति कुनै चिन्ता थिएन । चिन्ता थियो त केवल कसरी गैँडा जोगाउने भन्ने ।

म चितवन आउँदा सिकारीहरुको बिगबिगी थियो । मेरो कामना वा आग्रहले मात्र गैँडा मर्ने क्रम रोकिने छाँटकाँट थिएन । म हरेक दिन मनमनै अब त नमारिदिए पनि हुन्थ्यो, गैँडा मारे भन्ने खबर नआए हुन्थ्यो भन्ने कामना गरिरहेको हुन्थेँ । तर त्यस विपरीत गैँडा मरेको खबर आइरहन्थ्यो ।

म हताश हुन्थेँ । २०५८ सालमा देशमा सङ्कटकाल लागेपछि सुरक्षाका कारण सैनिक पोस्टहरु एउटालाई अर्कामा गाभेर तेत्तीस वटाबाट सात वटामा झारिसकिएको थियो । सेनाको गस्ती अति न्यून थियो । अफिसमा प्रभावकारी चोरी सिकार नियन्त्रण संयन्त्रको आभास पनि थिएन । सुराकी सञ्जाल पनि व्यवस्थित र पर्याप्त थिएन । कसले कहाँबाट आएर गैँडा मार्यो र कहाँ पुग्यो, केही अत्तोपत्तो हुँदैनथ्यो । सिकारीको सुइँकोसम्म पाउने अवस्था थिएन । मार्यो; गोली पड्क्यो; खाग छैन; खुर पनि लगेछ; पुच्छर काटेछ; दिउँसै हान्यो; रातभर खोज्दा पनि लास भेटिएन; गस्ती गएको, रगत चुहाउँदै भागेको गैँडा भेटियो; यस्तै–यस्तै खबर मात्र आउँथे ।

निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको गणमा आठ सय पचास सैनिक रहन्छन् । निकुञ्जमा हात्ती व्यवस्थापनतर्फ एक सय चालीस तथा निकुञ्ज व्यवस्थापन र संरक्षणतर्फ वन प्राविधिक तथा केही प्रशासनिक समेत एक सय साठी जना गरी जम्मा तीन सय निजामती कर्मचारीको दरबन्दी छ । निकुञ्जलाई आवश्यक पर्ने सुराकीहरुका रुपमा स्थानीय बासिन्दालाई नै प्रयोग गरिँदै आएको छ । तीमध्ये कतिपय आफूले थाहा पाएको सूचना दिन इच्छुक बनेर स्वयं आउने हुन्छन् भने अरुचाहिँ ‘तपाईं सुराकी बनिदिनोस्’ भनेर अनुरोध गरेपछि काम गरिदिने गर्छन् । केही भने साँच्चै संरक्षणको भावनाले ओतप्रोत भएर बिनातलब वा सुविधा पनि स्वयंसेवी रुपमा सूचना दिने गर्छन् । कतिपय सुराकी पहिले आफू पनि कुनै न कुनै रुपमा गैँडा तस्करीमा संलग्न भइसकेका हुन्छन् ।

कोहीकोही गैँडा तस्करीमा पक्राउ परेर सजाय भुक्तान भएपछि ‘यो काम गर्न नहुँदो रहेछ, बरू म पनि गैँडा जोगाउन लाग्छु’ भन्ने भावनाबाट प्रेरित भएर तलबी सुराकीको काममा लाग्छन् । कोहीचाहिँ आफूले गरिरहेको गलत काम निकुञ्जले थाहा नपाओस् भनेर तस्करका रुपमा आफ्ना अरु साथीरुलाई देखाइदिने र आफू सज्जन बनेर अर्कातर्फ त्यही काम गरिरहने दाउले सुराकी बनेका हुन्छन् । सुराकीहरुले ज्यादै न्यून सुविधा पाउँछन् । मासिक तलब पाए पनि महिनैभरि खट्नुपर्दैन । यसबाहेक काममा गएका बेला (काम सम्पन्न भयो भने) फोन गरेको, खाँदा–बस्दा लागेको वा बाटो खर्चसमेत निकुञ्जले ब्यहोर्ने गर्छ । काम नभएको बखत भने आफ्नै खल्तीबाट पनि खर्च गर्नुपर्ने अवस्था आउँछ ।

न्यून सुविधा पाउने हुँदा सुराकीहरुले कहिलेकाहीँ तस्करबाट धेरै रकम प्राप्त हुने छाँट देखेमा दोहोरो भूमिका खेल्ने पनि सम्भावना हुन्छ ।
उनीहरुलाई करारमा नियुक्ति गर्ने वा निश्चित पारिश्रमिक तोकेर निश्चित अवधिसम्म काममा लगाउने भन्दा पनि आवश्यकता परेका बेला मात्र उपयोग गर्ने परिपाटी रहिआएको छ । उनीहरुलाई तालिम, भ्रमण वा क्षमता अभिवृद्धि हुने अन्य कार्यक्रममा सहभागी गराउने त परै जाओस्, मन परेन भने तत्कालै निकालिदिने र महिनौँसम्म पारिश्रमिक नदिने गरेको पनि पाइन्छ । कहिलेकाहीँ भने राम्रो काम गरेबापत एकमुस्ट केही रकम दिने पनि चलन छ ।

सुराकीलाई सहायक वार्डेन, रेन्जर र निकुञ्जका अन्य कर्मचारीले परिचालन गरिरहेका हुन्छन् । उनीहरु मूलतः चोरी सिकार प्रतिरोध इकाइप्रति उत्तरदायी हुन्छन् । कतिपय सूचना उनीहरु आफैँले थाहा पाएर खबर गर्छन् भने कतिपय अवस्थामा चाहिँ पक्राउ परेका मान्छेले बयानका क्रममा पोलेका व्यक्तिबारे उनीहरुलाई बुझ्न लगाउने गरिन्छ । अवस्था, ठाउँ, पहुँच, क्षमता र जानकारीका आधारमा सुराकीलाई कामको जिम्मा दिने गरिन्छ ।

पहिलो अपरेसन


२०५९ फागुन ४ गते चिफ वार्डेन साबले आफ्नो गोप्य डायरी खोल्नुभयो र मलाई पक्रनुपर्ने मान्छेहरुको नाम टिप्न भन्नुभयो । मैले नाम टिपेँ— चौबीस जना सिकारी, केही तस्कर र दलालहरु । नाम त पाएँ तर अब यिनीहरुलाई कहाँ र कसरी पक्रने भन्ने सुर्ता सुरू भयो ।

नवलपरासीको दिव्यपुरी गाविसमा पर्ने दिव्यपुरी मध्यवर्ती क्षेत्र सामुदायिक वनको हेरालुमा काम गर्ने नरबहादुर विकलाई हिरासतमा राखिएको थियो । ऊ खटिएको सामुदायिक वनमा तीन महिनाभित्र पाँच गैँडा मरेपछि उसलाई २०५९ साल माघ २२ मा पक्राउ गरिएको रहेछ ।

हाम्रो टिममा काम गर्ने मुखिया श्रीरङ्ग कँडेल चोरी सिकार नियन्त्रणको काममा अत्यन्त पोख्त हुनुहुन्थ्यो । यसमा उहाँको लामो अनुभव र गहिरो ज्ञान थियो । मेहनती, लगनशील, साहसी र समर्पित पनि त्यत्तिकै । उहाँले भन्नुभयो– ‘मैले दुई–तीन जना मान्छेलाई पक्रन सुराकी लगाएको छु तिनीहरु घरमै छन् रे । अलिकति खर्च दिनुभयो भने म गएर सुराकीलाई भेटेर कुरा मिलाउँथेँ ।’

मैले पन्ध्र सय रूपैयाँ दिएँ । उहाँ मोटरसाइकल लिएर नारायणगढतर्फ लाग्नुभयो ।

साँझ पाँच बजेतिर खबर आयो— मान्छे घरमै छ; पक्राउ गर्न राति जाने । कसराबाट दुइटा गाडीमा हामी निकुञ्जका कर्मचारी र सेनाको टोली संयुक्त रुपमा लौखानी प्रवेशद्वारतर्फ लाग्यौँ । त्यहाँ रेन्जर माधव खड्का र रुपक महर्जन, मुखिया साब र अन्य व्यक्तिहरु तम्तयार थिए ।

हाम्रो टोलीमा चिफ वार्डेन पनि हुनुहुन्थ्यो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम चिफ वार्डेन निकुञ्जभित्रको मुद्दा हेर्ने अधिकारी भएकाले तस्कर पक्राउ गर्न उहाँ आफैँ अघि सर्नु उपयुक्त थियो वा थिएन, बहस गर्न सकिन्छ । तर मुद्दा हेर्ने अधिकारीको हैसियतले नभई चिफ वार्डेनका रुपमा टोलीमा सामेल हुनुलाई नाजायजचाहिँ भन्न मिल्दैन ।

म आफ्नो जीवनमै पहिलो गैँडाचोर समाउने अपरेसनमा जाँदै थिएँ । बेलुका नौ बजेतिर हामी लौखानी पोस्टबाट पूर्व दलदले बजारतर्फ लाग्यौँ ।
दलदलेबाट उत्तरतर्फ अलिक अगाडि गएपछि बाटोको देब्रेतिर एउटा घर  देखियो । साथीहरुले ‘यही त्यो घर हो’ भने र गाडीबाट उत्रेर छापामार शैलीमा घेरा हाल्न थाले। उनीहरु यस्ता अपरेसन सञ्चालनमा अनुभवी भइसकेका थिए। सबैले आ–आफ्नो पोजिसन लियौँ । माधव र रुपकजीले घरको ढोका खोलिसक्नुभएको थियो । उहाँहरुसँगै म पनि भित्र छिरेँ ।

भुइँतलामा कोही थिएन । हामी तलामाथि चढ्यौँ । त्यहाँ दश–एघार वर्षजतिको किशोर, एउटी महिला र एउटी सानी बच्ची सुतेका देखिए ।
ती महिलालाई उठाएपछि मैले सोधेँ– ‘तपाईंको श्रीमान् खोइ ?’
‘इन्डिया गएको छ महिना भयो।’
‘आज दिउँसो यहीँ भएको मान्छे कसरी इन्डिया गयो ?’
उनले कसम खाएर भनिन्– ‘इन्डिया नै जानुभएको छ ।’
अनि मैले सोधेँ– ‘महतोको घर होइन यो ?’
किशोरले जबाफ दियो– ‘हामी त महतो होइनौँ, विक हौँ ।’
मैले सोधेँ– ‘महतोको घर कुन हो त ?’
‘उः त्यो माथिको काठे घर हो ।’

हामी तत्काल त्यहाँबाट निस्कियौँ । रेन्जर साबहरु एकैसासमा काठे घरको तलामा चढ्नुभयो र एक जनालाई पक्राउ गरी उतार्नुभयो । उसको
नाम बुङिबहादुर महतो रहेछ । उसकी श्रीमती र छोराछोरीहरु रून–कराउन थाले । बुङिबहादुरले पृथ्वीको सुन्दर सृष्टि र प्रकृतिको अनुपम उपहार दूर्लभ वन्यजन्तु गैँडाको सिकार गथ्र्यो, त्यसैको परिणाम थियो त्यो ।

उसलाई लिएर राति करिब एघार बजे हामी नारायणगढ पुग्यौँ । हाम्रो गाडी क्षेत्रपुरतर्फ मोडियो । हामीले त्यहाँ अर्को खाग बेच्ने दलाललाई पक्रनुपर्ने थियो । घरको निक्र्यौल भएपछि हामीले त्यसमा पनि छापा मार्ने योजना बनायौँ । घर तीनतले थियो । हामीले पक्रनुपर्ने मान्छे बीचतलामा सुत्छ भन्ने खबर थियो । चारैतर्फबाट घर घेरेपछि हामी च्यानल गेटमा पुग्यौँ । गेटमा ताला लगाइएको थियो । हामीले गेटनजिकैको कोठामा सुतिरहेको मान्छेलाई उठायौँ र चाबी माग्यौँ । उसले बिनाआनाकानी साँचो दियो । सायद ऊ डेरामा बस्ने मानिस थियो होला त्यसैले डरायो । त्यहाँ हामी थुप्रै थियौँ । बीस–बाइस जनामध्ये कोही सैनिक थिए । रेन्जर साथीहरु मोटामोटा, देख्दै मान्छे डराउने
खालका, त्यसमाथि स्वर पनि चर्को–चर्को ।

गेटको ताला खोलेर हामी सीधै माथि गयौँ । हामीले सबै कोठा कभर गर्यौँ । दक्षिणपट्टिको कोठाको ढोका बन्द थियो । त्यो खोल्नुअगाडि कोठाभित्रको मान्छे पछाडिपट्टिबाट भाग्न सक्छ–सक्दैन, यकिन गर्यौँ । त्यसपछि जबर्जस्ती ढोका खोलेर पस्यौँ । हामीले खोजेको मान्छे त्यहीँ थियो । उसलाई नाम काढेर सोध्यौँ– ‘तिमी प्रेम विक होइनौ ?’ त्यसो भन्नेबित्तिकै ऊ जुरूक्क उठ्यो । उसकी श्रीमती ‘किन, के भयो ?’ भनेर रून थालिन् ।
प्रेमले पाइन्ट लगाउँदै भन्यो– ‘मरे मर्छु छाड्, म जान्छु, तँ नरो ।’ हामी रातबिरात किन त्यहाँ पुग्यौँ, उसले बुझिसकेको रहेछ । त्यति
बेलासम्म उसका छोराछोरीहरु पनि अर्को कोठाबाट उठेर ‘के भयो ? के भयो ?’ भनेर कोकोहोलो गर्दै आउन थाले । एउटा छोरो भने कुनै प्रतिक्रिया नजनाई चुपचाप बसिरह्यो । सायद उसलाई आफ्नो बाबुले गर्ने अवैध गतिविधिबारे थाहा थियो । हामीले कोठाको खानतलासी लियौँ । दराज, खाट सबैतिर हेर्यौँ । केही भेटिएन ।
प्रेमलाई गाडीमा राखेर हामी कसरातर्फ लाग्यौँ ।
माधवजीले भन्नुभयो– ‘हाम्रो अपरेसन हन्ड्रेड पर्सेन्ट सक्सेस भयो ।’
म पनि मनमनै मक्ख थिएँ, आफू संलग्न भएको पहिलो अपरेसन सफलतापूर्वक सम्पन्न भयो भनेर ।
भरतपुर क्यान्सर हस्पिटलको गेट काटेर कसरातर्फ लाग्दा माधवजीले गाडीमै प्रेमसँग सोधपुछ गर्न थाल्नुभयो ।
उसले भन्यो– ‘हो, मैले एउटा खाग बेचेको हुँ ।’
‘तैँले पाँच वटा बेचेको छस् ।’
ऊ इन्कार गर्दै थियो, माधवजीले एक थप्पड लगाउनुभयो ।
उसले भन्यो– ‘हो, मैले तीन वटा बेचेँ ।’
माधवजीले फेरि केर्नुभयो– ‘हैन, अझै दुइटा ढाँटिस् ।’
ऊ ‘हैन हैन’ भन्दै थियो । हप्काउँदै केरेको केर्यै गर्न थालेपछि उसले
पाँच वटै खाग बेचेको स्वीकार गर्यो ।

त्यस बेला मुखिया साबलाई मान्छे बुझ्न पठाएर पहिलो प्रयासमै यस्तो खुंखार अपराधीलाई पक्रन सफल भएँ, भन्ने लागेर त्यसैत्यसै म दंगदास थिएँ । तर कुरा के रहेछ भने, वनहेराल नरबहादुर विक पक्राउ परेपछि उसको क्षेत्रमा लगातार मारिएका पाँच गैँडाको खाग प्रेमले लगेको भनेर उसैले बताएको रहेछ । र, त्यसैका आधारमा प्रेमको खोजी भैरहेको रहेछ । कसरा पुगेपछि प्रेमसँग पुनः सोधपुछ गर्यौँ । सुरूमा उसलाई ग्याम्जो भन्ने मनाद्धेसँग नारायणगढको आत्मा ग्लास सेन्टरका साहूले चिनजान गराइदिएका रहेछन् । ग्याम्जो नै खाग खरिद गर्ने मुख्य तस्कर भएको र नारायणगढ, पुल्चोकको राइनो होटलमा कोठा लिएर बस्ने गरेको पनि उसको बयानबाट खुल्यो ।

तर ग्याम्जो करिब छ महिनाअगाडि नै मुटु रोगको कारण मरिसकेको र त्यसपछि उसको भाइ गैँडाको खाग लिन आउने गरेको थप जानकारी प्रेमले दियो । उसले त्यो व्यक्तिको हुलिया, फोन नम्बर र ठेगानासमेत बताइदियो । त्यस बेला चितवनमा आफ्नो खोजी हुन थालेको सुइँको पाएपछि प्रेम भागेर काठमाडौँ गई उसैको फ्ल्याटमा बसेको रहेछ । पछि ‘अब केही हुँदैन जा’ भनेकाले फागुन ३ गते मात्र चितवन आएको रहेछ ।

प्रेमले ग्याम्जोको भाइ नै खागको कारोबार गर्ने ठूलो तस्कर भएको दाबी गर्दै उसलाई पक्रेपछि सारा कुरा थाहा हुने बतायो । ‘उसले ठूल्ठूला मान्छे चिनेको छ’ भनेर ऊ एकातिर हामीलाई खतराको आभास दिलाउन खोज्दै थियो भने अर्कातिर ‘मलाई उसले केही गरे पनि नपोल्नू, पोलिस् भने तँलाई खतम पारिदिन्छु भनेको छ, त्यसैले मलाई बचाउनुस् सर’ भनेर अनुनय विनय पनि गर्दै थियो ।

सौराहामा वार्डेन सेमिनार चलिरहेको थियो। हामीले त्यहीँ बसेर त्यो खाग तस्करकाे पत्ता लगाउन रेन्जर साथीहरुलाई काठमाडौँ पठाउने सल्लाह गर्यौँ । उसको सम्पूर्ण विवरण र घरको फोन नम्बर लिएर जानुभएको थियो उहाँहरु। तर तीन–चार दिनपछि केही पत्ता लागेन भनेर त्यत्तिकै फर्कनुभयो ।


क्रमशः


 

 

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics