बाँदर आतंक रोक्न सांसदले गराए ध्यानाकर्षण



नेपालमा बाँदर आतंक बढ्दै गएपछि नियन्त्रण गर्न एक सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको संसद बैठकको विशेष समयमा बोल्दै कांग्रेसका सांसद कमल पंगेनीले स्याङ्जा, पर्वत, पाल्पा, तनहुँ, कास्की, लमजुङ, ललितपुर, काभ्रे लगायतका जिल्लामा बाँदर आतंक रहेको बताए । उनले नेपालमा नै बाँदरको संख्या बढी रहेकोले यसको नियन्त्रण गर्नुपर्ने बताए ।

नेपालमा अहिलेसम्म बाँदरको संख्या कति छ भन्ने यकीन तथ्यांक छैन । तरपनि विभिन्न समयमा बाँदरले अन्नबाली र फलफूलमा क्षति पुर्याउँदै आएको विभिन्न घटनाहरु छन् । सांसद पंगेनीले बाँदरले पुर्‍याउँदै आएको क्षति रोक्न र पीडित किसानलाई राहत दिन पनि सरकार समक्ष माग गरेका छन् ।

सभामुखको ध्यानाकर्षण गराउँदै उनले बाँदरले एकप्रकारले आतंक सिर्जना गरेको र किसानहरु अत्यन्त ठूलो हैरानीमा परेको बताए ।

बाँदरको व्यवस्थापन नगर्ने हो भने किसानहरुले कतिपय जिल्लामा खेतिपाती नै गर्न नसक्ने अवस्था उत्पन्न भएको भन्दै उनले सरकार, सांसद र सरोकारवाला निकायको ध्यानाकर्षण गराए । बाँदरले किसानको उत्पादनलाई पुर्‍याएको क्षति उपर राहत र क्षतिपूर्तिको व्यवस्थासमेत ऐनमा समेत नगरिएको भन्दै सांसद पंगेनीले बाँदर आतंक रोकी किसानहरुलाई राहत प्रदान गर्न अनुरोध गरे ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics