बाढी पहिरोले ३८९७ पशु चौपाया मरे

तस्विर : नरेन्द्र श्रेष्ठ


देशका विभिन्न भूभागमा गएको बाढी पहिरोबाट ३ हजार ८ सय ९७ पशु चौपाया मरेका छन् । जसमा १ सय १९ गाई गोरु, ५३ वटा भैसि, २ हजार ९ सय ७० बाख्रा र ७ सय ५५ बङ्गुर रहेका छन् । पशुपन्छि मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार भन्दा बढी गोठ भत्किएका छन् ।

यस्तै बाढी पहिरोबाट नै १ लाख ३३ हजार ८ सय ४५ कुखुरा नष्ट भएको छ ।

मन्त्रालयले बाढी पहिरोबाट क्षति विवरण संकलन गरी तत्काल किसानलाई राहत उपलब्ध गराउन तथ्यांक संकलन गरेको थियो । मन्त्रालयका प्रवक्ता श्याम प्रसाद पौडेलले भने, 'यो प्रारम्भिक तथ्यांक भएकाले अझै क्षति विवरण बढ्न सक्छ ।' उनका अनुसार अहिले प्रत्येक जिल्लामा बाढी पहिरोबाट क्षति भएको पशु चौपायाको तथ्यांक संकलन भइरहेको छ ।

बाढी पहिरोका कारण पशुपन्छि क्षेत्रको १० अर्ब १७ करोड ८८ लाख क्षति भएको छ । विशेषगरी तराई मधेसमा आएको बाढी र अन्य क्षेत्रमा परेको वर्षा, डुवान, पहिरो लगायतका प्राकृतिक विपत्तिले पशुधन, पशुपन्छि, पशुपन्छिका गोठ, खोर, आहारा, पशुपन्छि उद्योग, पशुजन्य उत्पादनमा क्षति पुग्दा सो रकम बराबरको क्षति भएको हो ।

पशुपन्छि विकास मन्त्रालयलाई प्राप्त तथ्यांक अनुसार पशुधनको मृत्यु र पशुजन्य सामग्री नष्ट भई १ अर्ब ३७ करोड ७८ लाखको क्षति भएको छ । यस्तै पशुजन्य सामग्री उत्पादनतर्फ २ अर्ब ५० करोड १० लाखको प्रत्यक्ष रूपमा क्षति भएको विवरण प्राप्त भएको छ । यस्तै यी पशुपन्छिको विनाश हुँदा पशुजन्य उत्पादनमा ६ अर्ब ३० करोड बराबरबरको अप्रत्यक्ष रूपमा क्षति भएको मन्त्रालयले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics