डब्लुएफपीले नेपालका बाढी पिडितलाई खाद्यान्न वितरण गर्दै



संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले नेपालका बाढी प्रभावित एक लाख ८० हजार व्यक्तिका लागि खाद्यान्न वितरण सुरु गरेको छ । यस विपत्तबाट १७ लाख (१.७ मिलियन) व्यक्ति प्रभावित भएका छन्, जसमध्ये ४ लाख ६१ हजार घरबाट विस्थापित भएका छन् । जल तथा मौसम विज्ञान विभाग (डीएचएम) ले आगामी दिनहरुमा थप बाढी आउन सक्ने चेतावनी दिइरहँदा प्रभावित क्षेत्रमा राहत बितरण कार्य भने जारी राखिएको छ ।

डब्लुएफपीको सहयोगमा सञ्चालित नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप) ले बाढी आएको ४८ घण्टाभित्र बाढि प्रभावित जिल्लाहरुमा खाद्य असुरक्षाको अवस्था प्रक्षेपण गर्न महत्वपूर्ण भूमिका खेल्दै क्षतिको प्रारम्भिक मुल्यांकन गरेको छ । पछिल्लो प्रतिवेदन अनुसार, हाल बाढी प्रभावित क्षेत्रहरुमा करिब ५ लाख जनसंख्या खाद्य असुरक्षामा छन् भने ३ लाख मानिसहरुको खाद्यान्नमा पहुँच कम रहेको छ ।

“घरबार बगाएका ब्यक्तिहरु, जो पहिलेनै अत्यन्त गरिब थिए, अब्यबस्थित अस्थायी आश्रयमा बसिरहेका छन् र आधारभुत आवश्यकताका पुरा गर्नका लागि संघर्ष गरिरहेका छन् । सञ्चित खाद्यान्न गुमाएका परिवारहरुसँग सामान्य अवस्थामा फर्कने आधार छैन” डब्लुएफपी प्रतिनिधि तथा देशीय निर्देशक पिप्पा ब्राडफोर्डले भने “अति प्रभाबित अनि गरिब परिवारका लागि कम्तिमा खानका लागि पर्याप्त होस भनेर खाद्यान्न उपलब्ध गराउने काममा विश्व खाद्य कार्यक्रम अहोरात्र लागिरहेको छ ।”

गृह मन्त्रालयले जनाए अनुसार तराईका ८०% भन्दा बढि भुभाग डुबानमा परेको छ । यस क्षेत्रमा बसोबास गरिरहेका मानिसहको घर, सञ्चित खाद्यान्न, चौपाया तथा बालिनाली नष्ट भएको छ । नेपालको अन्न भण्डारको रुपमा रहेको यस क्षेत्रमा बाढिका कारणले धान तथा गहुँको उत्पादनमा असर पार्ने अनुमान गरिएको छ, जसका कारण आगामी महिनाहरुमा खाद्यान्न अभाब हुन सक्छ । यस क्षेत्रमा कुपोषणको दर पहिले देखिनै उच्च रहेको छ, जहाँ ६ देखि ५९ महिनाका बालबालिकाहरु मध्ये १४ % बालबालिका गम्भिर रुपमा कुपोषित छन् । गर्भवती तथा सुत्केरि महिलासँगै, बिशेषगरि यी बालबालिकाहरु बिपद पछिको खाद्य असुरक्षा तथा जल–उत्पन्न रोगहरुको जोखिममा छन् ।

कुपोषणबाट बच्नका लागि, नेपाल सरकार तथा अन्य साझेदार संस्थाहरुसँगको सहयोगमा, विश्व खाद्य कार्यक्रमले तराईका बाढि प्रभाबित १३ जिल्लाका १९ हजार ५ सय गर्भवती तथा सुत्केरि महिलाहरु र ६ देखि २३ महिना सम्मका २७ हजार बालबालिकाहरुका लागि २०० मेट्रिक टन प्रशोधित खाद्यान्न उपलब्ध गराउने भएको छ ।

विश्व खाद्य कार्यक्रमले स्थानिय निकायहरुसँगको समन्वयमा सप्तरी, रौतहट, बाँके र बर्दियाका मानिसहरुका लागि दुई साताका लागि पुग्ने गरि चामल र दाल बितरण गर्न सुरु गरेको छ । त्यसैगरि स्थानिय बजार पुनःस्थापन भईसकेका क्षेत्रहरुमा रहेका रौतहट जिल्लाका थप ४० हजार बिस्थापित मानिसहरुले खाद्यान्न खरिदका लागि नगद दिने भएको छ ।

विश्व खाद्य कार्यक्रम बिश्वव्यापी रुपमा भोकमरि बिरुद्ध काम गरिरहेको विश्वको सबैभन्दा ठूलो मानवीय संस्था हो, यसले आकस्मिक अवस्थाहरुमा खाद्यान्न सहयोग उपलब्ध गराउँदै आईरहेका छ र पोषण सुधार तथा उत्थानशीलता बिकासका लागि समुदायहरुसँग काम गरिरहेको छ । विश्व खाद्य कार्यक्रमले प्रत्येक बर्ष ७५ देशका करिब ८ करोड (८० मिलियन) मानिसहरुलाई सहयोग गर्दै आइरहेको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics