उपत्यकामा ४७ हजार ५ सय खसिबोका र च्याङ्ग्रा ल्याइदै



दसैँका लागि उपत्यकामा ४७ हजार ५ सय खसिबोका र च्याङ्ग्रा ल्याइने भएको छ । चौपाया व्यवसायी संघले ४५ हजार र खाद्य संस्थानले २५ सय खसीबोका र च्यांग्रा ल्याउने तयारी गरेको हो । खाद्य संस्थानले एक हजार च्याङ्ग्रा सहित १५ सय खसिबोका उपत्यकामा ल्याइने जनाएको छ ।

एउटा खसिबोकाको औसतमूल्य १४ हजार राखिएको छ । यसरी हेर्दा उपत्यकामा ६६ करोड ५० लाख रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा ल्याउने भएको छ। संस्थानले २५ सय खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याएको छ ।

दसैंको बेलामा खसीबोकाको माग उच्च हुने भएको सोहीअनुसार ल्याउन लागेको संस्थान र संघले जनाएका छन् । संस्थानका प्रवक्ता शङ्कर सापकोटाले भने, 'बजारमा खसीबोका तथा च्याङ्ग्राको मासुको मूल्यलाई सन्तुलनमा राख्न र कालोबजारी हुन नदिन संस्थानले खसीबोकालगायत वस्तु तथा समाग्री बिक्री गर्नु महत्वपूर्ण छ ।'

संस्थानका अनुसार सरकारले बिक्री गर्ने खसीबोका व्यवसायीको भन्दा सस्तो हुन्छ । संस्थानका प्रवक्ता सापकोटाका अनुसार व्यवसायीले निर्धारण गरेको मूल्यमा कम्तीमा प्रतिकिलो १० रुपैयाँ सस्तोमा बिक्री गर्ने योजना बनाइएको छ ।

‘संस्थानले उपलब्ध गराउने खसीबोका तथा च्याङ्ग्रा संस्थानको थापाथलीस्थित आउटलेटबाट बिक्री वितरण गरिने छ,’ प्रवक्ता सापकोटाले भने । संस्थानबाट अन्य खाद्यान्न पनि सहुलियत दरमा बिक्री गरिने छ । सरकारले सस्तो मूल्यमा बिक्री गरे पनि सहुलियत पसलबाट बिक्री भने न्यून मात्रामा हुने गरेको पाइन्छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics