नेपाल सुन्दरी रारा(फोटोफिचर)

रारा, जसलाई प्रकृतिको अनुपम उपहार मानिन्छ ।कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । प्रकृतिको अनुपम सुन्दरताले भरिपुर्ण यो ताल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण को केन्द्रको रुपमा स्थापित हुन पुगेको छ । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईमा अवस्थित रहेको छ ।राराताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर रहेको छ भने गहिराई १६७ मिटर छ । यहाँ पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत राराको शोभा बढाउन सहयोग गरेका छन् ।

छिनछिनमा तालको पानीले रङ बदल्छ।त्यस्तै वरिपरिका हरित जंगलले रारालाई चित्ताकर्षक बनाएका छन्।अझ ताल किनारमा फुलेका भुइँफूलको उमंगले त मनलाई अर्कै लोकमा पुर्‍याएको भान हुन्छ।पानी हाँस होस् या जलेवा, पानीमा पौडिरहेको दृश्य कुनै दुलर्भ क्षण बन्छ त्यहाँ पुग्नेका निम्ति।विदेशी मात्र होइन आन्तरिक पर्यटक पनि त्यतिकै लालायित छन् रारालाई आफ्नो आँखामा सजाउन।

रारामा पाईने तीन प्रजातिका असला माछा संसारमा अन्त कतै भेटिंदैनन् । रंग बदलिरहने राराको कञ्चन पानीमा माछाको गतिबिधी नांगो आँखाले नियाल्दा साँच्चै स्वर्ग पुगेको अनुभुति हुन्छ । सन् १९७६ मा रारा राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । रारा तालको नामबाट नै नामाकरण गरिएको यो निकुञ्ज १८०० मिटर देखि ४०४८ मिटर सम्मको उचाईमा रहेको छ।

जति तस्बिर लिएपनि अझै लिउ जस्तो लाग्ने रारा ताल आफैमा आत्यधिक सुन्दर छ ।कर्णाली राजमार्गको खोला नै नदेखिने बाटो, ठुला ठुला पहाड फोडेर बनाइएको सानो बाटो अनि निश्चित खान बस्ने ठाउँ आफैमा जोखिमपूर्ण छ ।कालिकोट को नाग्म जुम्ला जाने र मुगु जाने छुट्टिने ठाउँ बाट करिब ९३ किमी कच्ची बाटोले साच्चिकैनै थकाउछ चाहे गाडीमा होस् या मोटरसाइकल होस् । बिस्तारै ठूलाठूला, पहाड, खोलानाला  झरना, जंगल पहिल्याउदै जादा लाग्छ नेपाल आफैमा धेरै सुन्दर, शान्त, र बिशाल छ ।

राजा रारामा पुग्दा राराको सौन्दर्यमा मन्त्रमुग्ध भएर लेखेका थिए ‘सुन्दरताको भण्डार सारा के खनाया यसै रारामा ।’ राजा महेन्द्रलाई मात्र हैन राराको दृश्यले जोकोही लाई पनि लोभ्याउँछ । नेपाल आएका धेरै जसो पर्यटक रारा नपुगी फर्किदैनन् । हेरौं राराको मनमोहक दृश्यहरु:



























रमेश विक्रम हमाल

प्रतिक्रिया दिनुहोस

web
analytics