बाघ गणनाका लागि पर्सामा क्यामरा जडान सकियो



पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको लागि क्यामेरा जडान गर्ने कार्य सम्पन्न भएको छ । पर्सा निकुञ्जमा सरकारी पशुपंक्षि बिज्ञ सम्मिलित १५ वटा क्याम्प टोलीको सहयोगमा निकुञ्ज क्षेत्रमा क्यामेरा जडान गरिएको हो । यस निकुञ्जमा मंसिर १४ गतेबाट बाघ गणना सुरु भएको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले क्यामेरा जडान गर्ने कार्य सम्पन्न भएको जानकारी दिए । उनले भने , “१२ वटा क्याम्प पर्सातिर र बाँकी ३ क्याम्प चितवनमा परिचालन भएको थियो । ”

एउटा क्याम्पमा आठजना टोली हुन्छन् । बाघ गणनाको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बाघको बासस्थान पहिचान गरी १६७ ग्रीड स्थापना गरेको छ भने निकुञ्जभित्र बाघ गणनाको लागि तीन सय बढि स्वचालित क्यामरा जडान गरिएको छ । एउटा ग्रीडमा काम गर्न करिब दुई हप्ता लाग्नेछ। पर्सामा सकिएपछि चितवनका उतरी क्षेत्रमा क्यामरा जडान गर्ने काम सुरु हुन्छ ।

पर्सा निकुञ्जमा बाघ गणनाको लागि तीन साताको समय लाग्ने छ । पर्सा निकुञ्जमा तीन बर्षअघि गरिएको अनुगमनले बाघको संख्या बढ्दै गएको देखाएको थियो । सन् २०१३ को बाघ गणना अनुसार निकुञ्जभित्र सातवटा बाघ रहेका छन् ।

सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्यअनुरुप चार वर्षपछि सो गणना सुरु गरेको हो । बाघ गणनाको लागि पर्सा राष्ट्रिय निकुञ्जमा सातवटा हात्ती, निकुञ्जका कर्मचारी, वन कार्यालयका कर्मचारी, वन्यजन्तु प्राविधिक, विज्ञ, नेपाली सेना, मध्यवर्ती क्षेत्रका बासिन्दालाई परिचालन गरिएको छ ।

सन् २०१० को गणना अनुसार नेपालमा बाघको संख्या १ सय २० थियो । २०१३ सम्म आइपुग्दा ७८ वटा बाघ बढेका थिए । पछिल्लो बाघ गणनामा २०१३ का अनुसार नेपालमा हाल १ सय ९८ बाघ रहेका छन् । नेपालमा बाघको अनुसन्धान र अनुगमन ४५ वर्ष अघि देखि सुरु भएको हो ।

नेपालको तराई क्षेत्र विशेष गरी पर्सादेखि कञ्चनपुरसम्मा वाघका लागि उपयुक्त बासस्थान मानिन्छ । हाल चितवनमा १ सय १८, बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा ७ र बाँकेमा ४ वटा बाघ रहेको तथ्यांक छ ।

बाघ गणनामा डब्लूडब्लूएफ नेपाल, जुओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) प्रकृति संरक्षण कोषलगायतले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics