लाटोकोसेरो तथा हुचिल उत्सवको महत्व



लाटोकोसेरो तथा हुचिल उत्सवको सातौँ संस्करण यहि माघ १९ र २० गते दोलखा जिल्लाको सुन्दर नगरी जिरीमा सम्पन्न भएको छ । झट्ट सुन्दा अनौठो लाग्ने लाटोकोसेरो तथा हुचिल उत्सव व्यापार मेला, कुषि महोत्सव, पर्यटन महोत्सव, सडक महोत्सव आदी उत्सवहरू भन्दा फरक प्रकृति र उद्देश्यले आयोजना गरिएको थियो । लाटोकोसेरो तथा हुचील उत्सव संरक्षणका हिसाबले ओेझेलमा परेका लाटोकोसेरो संरक्षणका लागि स्थानीय समुदाय र सरोकारवाला निकायहरूलाई सु–सूचित र संरक्षणमा जागरुक बनाउन गरिने गर्दछ । कुनै समयमा बुझाई थियो वन्यजन्तु संरक्षण भनेको राष्ट्रिय निकुञ्ज विभाग, वन विभाग जस्ता सम्बन्धित निकाय, विज्ञ, संरक्षण सस्थाहरु र संरक्षणकर्मिहरुले मात्र गर्दा सफल हुन्छ । तर होइन वन्यजन्तुको संरक्षण, तिनको बासस्थान व्यवस्थापन र समग्रमा पर्यावरणीय स्रोतको दिगो उपयोगमा जन चासो, जन सहभागिता र अपनवत्व अपरिहार्य छ ।

यसका लागि संरक्षण सचेतनाको आम प्रहाव र मूल प्रवाहिकरण पहिलो प्राथमिकता नै हो । यहि उद्देश्यले प्रत्येक वर्ष देशका फरक फरक भु–भागहरू धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्कीको सिक्लेस र कपिलवस्तुको जगदिशपुर क्षेत्रमा हजारौँ जनता तथा सरोकारवाला निकायको सहभागितामा सम्पन्न भइसकेको लाटोकोसेरो तथा हुचील उत्सव यस वर्ष थप परीष्कृत, भव्य र व्यापक रूपमा जिरीमा सम्पन्न भयो ।

प्रकृतिका साथीहरू संस्थाले युवा सञ्जाल जिरी र स्थानीय समुदाय सँगको सहकार्यमा सञ्चालन गरेको यस उत्सवमा चरा अवलोकन प्रतियोगिता, प्रकृतिको फोटो खिच्ने, लाटोकोसेरा सम्बन्धी लघु म्युजियम र रोवट प्रदर्शनी, विज्ञका विचार तथा प्रस्तुतीहरु, संरक्षणकर्मिहरुलाई सम्मान, वातावरण संरक्षण सम्बन्धी स्टल र नेवार, शेर्पा, सुनार, जिरेलका सांस्कृतिक नाँच जस्ता कार्यक्रम प्रदशनले उत्सवको सार्थकता दर्शाएको थियो ।

चरा अवलोकनका क्रममा सन् १९९९ मा नेपालमै पहिलो पटक जिरीमा रेकर्ड गरिएको कालोपुच्छे्र कस्दरी १८ वर्ष पछी पुन देखिएको चराविद हठन चैधरीले बताए । लाटोकोसेरोकोे महत्व दर्शाउने खालका स्लाइड तथा भिडियो प्रदर्शनी, संरक्षण, संस्कृति तथा लाटाकोसेराको अन्य सामग्री सम्बन्धी प्रदर्शनी, स्थानीय सास्कृतीक नाच, लाटोकोसेरो संरक्षण सम्बन्धि नाटक, अनुहार पेन्टीङ्ग र टुटु खेलले महोत्सवलाई थप रोचक र प्रभावकारी बनाएको थियो । संरक्षण र स्थानीय संस्कृतिको समिष्ण भनिएको यस उत्सवले अवैध व्यापार र शिकारको चपेटामा परेका लाटोकोसेरो संरक्षणका बहुआयामिक पक्षहरू खोतल्नु, संरक्षण शिक्षा बाडनुका साथै स्थानीय संस्कृतिको प्रवद्धन र पर्यापर्यटन अभिवृद्धिको सन्देश प्रवाह गरेको छ ।

कृषकका साथी लाटोकोसेरो र हुचीलहरु हाम्रो वरिपरी पाइने कतिपय हानिकारक किराफट्यांग्रा, साना जीव र मुसाहरुलाइ आहार बनाई पारिस्थितीक प्रणाली सन्तुलित राख्न र सनातन खाद्यचक्रलाई गतिशिल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका हुन्छन् । रातीमा सक्रिय हुने मांसाहारी लाटोकोसेराको एक वयस्क जोडिले चार महिनाको समयावधिमा करिब तिन हजार मुसाहरू खाने एक अध्ययनले देखाएको छ । यसबाट पनि लाटोकोसेरोले मुुसा नियन्त्रण र कृषि उत्पादनमा पु¥याएको योगदानको सहजै अनुमान गर्न सक्छौ । लाटोकोसेरालाई वातावरणीय सन्तुलनको सूचकको रूपमा पनि हेरिन्छ । पुराना वन जगंलसँग सम्बन्धित धेरै लाटोकोसेराहरुलाई त्यस्ता वनजगंलहरुको स्वास्थ्य र भाग्यको सूचना दिने चराको रूपमा लिने गरेको पनि पाइन्छ । उदारहणका लागि भारतीय उपमहाद्धीपका वन क्षेत्रमा बस्ने चश्मे उलूक धेरै पुराना र मान्छेको आवतजावत एकदमै कम भएका सालका जगंलमा बस्दछ । लाटोकोसेरो पर्यावरणीय दृष्टिले मात्र नभई सांस्कृतिक र ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । संसारका धेरै सभ्यताहरूमा लाटोकोसेराले अन्धकारमा देख्ने शक्तिको अज्ञानता चिर्ने विद्धता र ज्ञानको प्रतिनिधित्व गर्दछ । हिन्दु संस्कृतिमा लाटोकोसेराको स्थान सम्मानजनक छ ।

धनकी देवी लक्ष्मीको बहनाको रूपमा लाटोकोसेरोलाई पुजिन्छ । यसको स्वरलाई पौराणिक साहित्यमा गायनकलाको स्वरसाधनाको निम्ति सहयोगि हुने कुरा पुराणमा जनाइएको पाइन्छ । इसाई धर्ममा लाटोकोसेरोलाई प्रभु येसुको ज्ञानको प्रतिनिधि पात्रको रूपमा हेरिन्छ । विश्वमा पाइने २२५ प्रजातिका लाटोकोसेराहरु मध्ये नेपालमा २३ प्रजातिका लाटोकोसेराहरु पाईन्छन जसमध्ये एक प्रजाति त नेपालबाटै लोप भैसकेको अनुमान गरिएको छ ।

परिस्थितिका मात्र होइन धार्मिक र सांस्कृतिक महत्व समेत बोकेका प्रकृतिको अभिन्न अङ्ग लाटोकोसेराहरु भने मुलत तस्करी र अवैध व्यापारका कारण संकटमा परिरहेका छन् । नेपालमा चराहरूको अवैध व्यापारमध्ये लाटोकोसेराको व्यापार सबैभन्दा बढी भएको पाइन्छ ।

प्रकृतिका साथीहरू संस्थाको ३५ जिल्लामा गरेको एक अध्यय्न अनुसार वार्षिक रूपमा नेपालबाट कम्तिमा २ हजार सम्म लाटोकोसेरो अवैधरुपमा बिदेश चोरी निकासी हुने र सयौँको संख्यामा मारिने गर्छन् । औषधी र झारफुकका नाममा तस्करी हुनेगरेको लाटोकोसेराको कुनै पनि अंगको औषधीय उपयोग र अदृष्य तान्त्रीक शक्तिबारे कुनै वैज्ञानिक आधारहरू छैनन् र यस खाले प्रयोगको धारणा जनमानसमा विधमान अन्धविश्वास र भ्रम मात्र हो । अरब मुलुकहरूमा घरपालुवा पक्षीको रूपमा र केही प्रयोगशालामा राती मात्र आँखा देख्न सक्ने क्षमता बारे अध्ययन अनुसन्धानको लागि यसको प्रयोग गरिने बताइए पनि हालसम्म वैज्ञानिक वा प्रयोगात्मक अध्ययन गर्ने आधिकारिक संस्था छैनन् । अवैध व्यापारको मारमा परी नेपालका ठूला खाले लाटोकोसेराहरू हुचील, हाप्सिलो, महाकौशिक, भासोलूक, उलूक र कालपेचक संकटापन्न अवस्थामा पुगेका छन् । कानुनीरुपमा प्रतिवन्धित लाटोकोसेरोको व्यापार वा शिकार गरेको पाइएमा २५ देखी ५० हजार सम्म जरिवाना वा ६ महिना देखी एक वर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा सन् २०११ मा प्रकाशन गरेको नेपालका चराहरूको अवस्था प्रतिवेदन अनुसार ८ प्रजातिका लाटोकोसेराहरु राष्ट्रियरुपमा संकटापन्न अवस्थामा छन् ।

बढ्दो अवैध व्यापार सँगै वनजंगलको फँडानी र खण्डिकरण, बुढा रुखहरूको कटानी, आवास निर्माण, सहरीकरण आदिले बासस्थान बिनाश, आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग र मौसम परिवर्तन जस्ता कारणहरूले गर्दा लाटोकोसेराहरुलाई थप संकटमा पारेकाछन् । विष प्रयोग गरी मारिएका मुसा र अन्य साना स्तनधारी जीवहरू खादा पनि लाटोकोसेरो मर्ने गर्छन् ।

यसरी दिनानु दिन घटीरहेका लाटोकोसेरोहरुको संरक्षणमा स्थानीय समुदाय, क्लब, विद्यार्थी, संरक्षणकर्ता, सुरक्षा कर्मी र सरकारी निकाय, राजनैतिक नेतृत्व सबैको सहकार्यको थालनी यस प्रकारको लाटोकोसेरो तथा हुचिल उत्सवले गरेको छ जुन संरक्षण समुदायकालागि अनुकरणीय बन्दै गएको आभास हुन्छ । लाटोकोसेराको अवैध व्यापार नियन्त्रणका लागि प्रमुख नाकाहरूमा प्रहरी प्रशासन, स्थानीय समुदाय र संरक्षणकर्मीहरूको समन्वयात्मक क्रियाशिलतामा यसले थप पेरणा प्रदान गरेको छ ।

लाटोकोसेरो समाउन तथा पैठारीमा तस्करहरू स्थानीय सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी प्रयोग गरिरहेका हुन्छन् । यसर्थ आमसर्वसाधरण माझ लाटोकोसेरको प्रर्यावरणीय महत्व र अवैध कारोबारमा संगलग्न हुदाको कानुनी दण्डको विषयमा सचेतना अभिवृद्धि गर्नु जरुरी छ जसकालागि यो उत्सव सार्थक भएको छ । अवैध कारोबारमा संगलग्न दोषिलाई निरुत्साहित गराउनुका साथै कानुनत कारवाहिका लागि जागरुक बनाएको छ । संरक्षणको अभिभारा स्थानीय समुदाय र निकायको हो भन्ने कुराको बोध यसप्रकारका उत्सवले गराउँदै लाटोकोसेरो संरक्षणमा राज्यको नीति निमार्ण देखी लिएर त्यसको कार्यावन्यनका साथै समुदाय, सरोकारवाला निकाय र अन्तरदेशीय सम्बन्धित निकायबिचको साझेदारी र सहकार्यको निम्ति थप मार्गप्रसस्त गरेको छ ।


कृष्णप्रसाद भुसाल

प्रतिक्रिया दिनुहोस

web
analytics