सडक दुर्घटनाबाट वन्यजन्तु जोगाउने अभियान

(फोटोसप तस्बिर )


पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सडक दुर्घनामा मारिनेक्रम बढ्न थालेपछि वन्यजन्तु जोगाउन सवारी गतिलाई कम गर्न सो क्षेत्रमा ड्रम राख्ने योजना अघि सारेको छ ।

त्रिभुवन राजपथअन्तर्गत पथलैयादेखि अमलेखगञ्ज सडकखण्डमा सवारीको ठक्करबाट वन्यजन्तु मारिनेक्रम बढ्न थालेपछि यो अभियान अघि सारिएका हो ।

पथलैया–अमलेखगञ्ज कोर एरिया परेकाले सवारी साधनको गति नियन्त्रण गर्न सो सडक खण्डमा ठाउँठाउँमा ड्रम राख्ने योजना रहेको प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए ।

सो क्षेत्रमा चालकले अत्यधिक गतिमा सवारी चलाएकै कारण मंसिर महिनायता दुई दर्जनभन्दा बढी वन्यजन्तु सवारी साधनको ठक्करबाट मर्न गएकाले जनावरको सुरक्षाका लागि ठाउँठाउँमा ड्रम राख्ने योजना अघि सारिएको बताइएको छ ।

तीव्र गतिमा रहेको सवारीको ठक्करबाट चितुवा, स्मल इण्डियन किभेट, सुनगोही, रतुवा, जरायो, बँदेल, बाँदर, चित्तलजस्ता जनावर मरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज नेपालको मध्यभागमा अवस्थित तराई, भावर र चुरे क्षेत्रमा पाइने विविध प्रणालीको प्रतिनिधित्व गर्दै बारा, मकवानपुर र पर्सा जिल्लाको केही भागलाई समेटी ६२७ दशमलव ३९ वर्ग किलोमिटरमा फैलिएको छ ।

पथलैयादेखि अमलेखगञ्जसम्मको मार्गबाट नै जनावर ओहोरदोहोर गर्ने गर्दछन् । सो क्षेत्रको सडकमा ड्रम राख्ने, सन्देशमूलक साइनबोर्ड राख्ने तथा सवारी साधनको गतिबारे अनुगमन गर्ने योजना अगाडि सारेको निकुञ्जले जनाएको छ । गत आर्थिक वर्ष २०७३/७४मा पर्सा राष्ट्रिय निकुञ्जको राजमार्ग दुर्घटना ७ वटा वन्यजन्तु मरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics