कोशि टप्पुमा अर्ना गणना अन्तिम चरणमा



कोशि टप्पु वन्यजन्तु आरक्षमा यो वर्षको अर्ना गणनाको तयारी अन्तिम चरणमा पुगेको छ। प्रत्येक २ वर्षमा हुने अर्ना गणना चैत २८ गते बाट सुरु हुने भएको छ ।

चैत २८ गते देखि ३० गते सम्म अर्ना गणना चल्नेछ। दुर्लभ अर्नाको लागि स्थापना गरिएको आरक्षमा कर्मचारी,स्वयंसेवक तथा स्थानीय गरी ६० जनाको सहभागितामा गणना गरिने आरक्षका प्रमुख संरक्षण अधिकृत श्याम कुमार साहले बताए ।

पछिल्ला गणना अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा निरन्तर वृद्धि हुँदै आएको देखिन्छ। वर्डेन साहका अनुसार यो पटकको गणना पनि अर्नाको संख्या बृदि हुने सम्भावना रहेको छ। आरक्षमा बच्चा दिने अर्थात् प्रजननयोग्य अर्नाको सङ्ख्या बढ्दै गएको र चरिचरणमा आएको सुधारले अर्नाको सङ्ख्यामा वृद्धि हुने विश्वास लिएको साह बताउँछन् ।

स्थापनाकाल २०३२ सालमा कोशीटप्पुमा ६३ वटा अर्ना थिए ।  ४० वर्षको अवधिमा आरक्षमा सबैभन्दा बढी पछिल्लो दुई वर्षको अवधिमा १०५ वटा अर्नाको वृद्धि भएको तथ्यांकले देखाउँछ । चार वर्ष अघिको गणनाअनुसार ३२७ वटा अर्ना थिए भने २ वर्ष अगाडि २०७२ सालमा गरिएको गणना अनुसार ४३२ वटा रहेको देखाइएको छ ।

अर्ना सङ्कटापन्न अवस्थामा पर्ने भए पनि नेपालको कोशीटप्पुमा राम्रो उपस्थिति छ ।  अर्ना खास गरेर पानी नजिकको घाँसे मैदान, हरियो हराभरा र चरिचरणको क्षेत्रमा बढी पाइन्छ । अर्नामा भालेको प्रजनन योग्य उमेर १८ महिना र पोथी २ देखि ३ वर्ष रहेको मानिन्छ । यसले बढीमा ५ वटा बच्चासम्म जन्म दिन्छ ।यसको गर्भाधारण अवधि १० देखि ११ महिनाको हुन्छ भने सरदर आयु २५ वर्षको हुन्छ । एक्लो भाले र बच्चासँगको पोथी आक्रमक स्वभावको हुन्छ । अर्ना चिनिने आधारहरूमा खुट्टा, घाँटी, पुच्छर, थुतुनोमा सेतो धर्सा हुन्छ । सिंगको आधारमा पोथीको फेदमा सामान्य तर लामो, टुप्पो सिन्दुरे रातो हुन्छ । एक वर्षभन्दा बढी उमेरको अर्नाको बच्चा खैरो र रातो हुन्छ भने एक वर्षको बच्चाको सेतो रौं हुन्छ ।

यसरी हुन्छ अर्ना गणना

पाँच वटा हात्ती सहयोगममा अर्नाको दिगो संरक्षणका लागि रणनीति तयार गर्ने र प्रत्यक्ष गणना प्रक्रिया अपनाउने गरिएको छ । अर्ना गणनाका लागि सुनसरीको हरिपुर क्षेत्र, पश्चिम कुशाहा क्षेत्र, प्रकाशपुर क्षेत्र, सप्तरीको भागलपुर क्षेत्र, पत्थरी क्षेत्र, बदगामा क्षेत्रलाई ६ वल्कमा बाँडेर छुट्याउने गरिन्छ । अर्ना गणनामा बाइनाकुलर, क्यामरा, जि.पि.एस, अर्ना गणना फारम र फिल्ड डायरीको प्रयोग गरिन्छ ।

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics