वन्यजन्तुमैत्री संरचना बनाउन सरकारी अधिकारी सहमत



रेल, राजमार्ग, सिंचाई र विमानस्थललगायतका ठूला भौतिक संरचना बनाउँदा वन्यजन्तुले ओहोर दोहोर गर्न सक्ने खालको बनाउनुपर्नेमा अन्तर मन्त्रालयका अधिकारी र विज्ञ सहमत भएका छन् ।

वन्यजन्तु सप्ताहको चौथो दिन आयोजित ‘ठूला संरचना र वन्यजन्तु संरक्षण’ विषयको कार्यक्रममा विज्ञहरूले ठूला र दुर्लभ वन्यजन्तुको परम्परागत आवागमन (करिडोर) खलबलिने गरी विकास निर्माण नगर्न रेल, सडक र सिंचाई विभागका अधिकारीको ध्यानाकर्षण गराए ।

भौतिक संरचनासँगै प्राकृतिक अवस्थामा रहेका वन्यजन्तु पनि सम्वृद्धिका मुल आधार भएको बताउँदै विज्ञहरूले ठूला संरचना निर्माण गर्दा ओहोर दोहोर गर्न सक्ने खालको बनाउन सुझाए । पूर्व पश्चिम विद्युतिय रेलमार्ग, हुलाकी राजमार्ग, पूर्व पश्चिम महेन्द्र राजमार्गको विस्तार, सिंचाई आयोजना र ठूला विमानस्थल बनाउँदा वन, वन्यजन्तु आरक्ष, निकुञ्ज, मध्यवर्ती क्षेत्रमा विनाश हुने र त्यसो हुँदा वन्यजन्तु ओहोर दोहोर गर्ने बाटोसमेत टुक्रा टुक्रा हुने भएकाले सरोकारवालाहरुले वन्यजन्तुमैत्री निर्माणमा जोड दिएका हुन् ।

डब्लूडब्लूएफ नेपालका नीति तथा कार्यक्रम निर्देशक सन्तोषमणी नेपालले भौतिक संरचना मुलुकका लागि अत्यावश्यक भएकाले जैविक विविधता संरक्षणमा खलल नपुग्ने गरी वा कम क्षती हुने गरी निर्माणमा जोड दिनुपर्ने बताए । ‘वन्यजन्तु ओहोर दोहोर गर्न अन्डर पास र ओभर पास बनाउनेतिर हामीले ध्यान दिन जरुरी छ,’ उनले भने, ‘विदेशमा कमिला र मौरी ओहोर दोहोर गर्न पनि अन्डर र ओभर पास बनिसके, त्यसबाट हामीले पनि सिक्न जरुरी छ ।’

विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले ठूला खाले विकास संरचनामा अघि बढ्दा संरक्षणलाई पनि त्यत्तिकै ध्यान दिनुपर्ने बताए । सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले विगतमा आफूहरूसँग वन्यजन्तुको ओहोर दोहोरबारे ज्ञान नभएकाले वन्यजन्तुमैत्री सडक बन्न नसकेको स्विकारे । उनले अब बन्ने संरचना वन्यजन्तु मैत्रीका साथै वातवारणमैत्री हुनेसमेत प्रतिबद्धता जनाए । रेल विभागका महानिर्देशक अनन्त आचार्यले द्रुत गतिको रेल निर्माण भइरहेकाले घुमाउरो बाटो र उकालो तिर लैंजादा स्पिडमै समस्या पर्ने बताए । तर वातावरणलाई खलल नगरी आफूहरूले समन्वय गरेर निर्माणकार्य अघि बढाएको पनि उनले बताए । राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले विकासे मन्त्रालय र विभागहरूले संरक्षणको महत्त्व नबुझिंदिदा कहिलेकाही समस्या झेल्नुपरेको गुनासो गरे ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics