ग्वार्कोमा फ्लाइ ओभर निर्माण कार्य सुरू (तस्बिरहरू)



ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरू भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ। ग्वार्को चोकमा गत शनिबारदेखि फ्लाइ ओभर निर्माण कार्य सुरू भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो।

फ्लाइ ओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम कम हुन सकेको छैन।

चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइ ओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइ ओभर’ निर्माण गर्न लागिएको हो।

ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइ ओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइ ओभर निर्माण गरिने छ। जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइ ओभर निर्माण हुन लागेको हो। ६ मिटर उचाइ हुने फ्लाइ ओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ। कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिनेछ।

सुरूमा ब्यारेकेडहरू राखेर काम सुरू गरिनेछ। काठमाडौंको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो।







 



 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics