अमेरिकाले नेपालमा बन्द गर्यो ४४ अर्बका परियोजना (विस्तृत विवरणसहित)

काठमाडौं । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) ले नेपालमा कुल ३१९,६५१,०७५ अमेरिकी डलरको (करिव ४४ अर्ब रुपैयाँ) विकास परियोजना बन्द गरेको छ । यस निर्णयले स्वास्थ्य, शिक्षा, कृषि, सुशासन, विपद् व्यवस्थापन लगायतका विभिन्न क्षेत्रहरूलाई प्रत्यक्ष रूपमा असर गरेको छ । नेपालमा लामो समयदेखि सञ्चालन भइरहेका यी परियोजनाहरू आर्थिक वृद्धि, जनस्वास्थ्य सुधार, र संस्थागत विकासमा योगदान गरिरहेका थिए । अमेरिकी सरकारले विभिन्न देशमा सञ्चालन भइरहेका यस्तै परियोजना बन्द भएको निर्णयको जानकारी केही दिनअघि सबै देशका आफ्ना सम्पर्क कार्यालय तथा युएसएडको कार्यालयलाई दिएको थियो ।
स्वास्थ्य तथा पोषण क्षेत्रमा ८१.४ मिलियन डलरभन्दा बढीको परियोजना रोकिएको छ । ७२ मिलियन डलरको बजेट रहेको यूएसएआईडी पोषण परियोजना, जसले महिला, किशोरी, र बालबालिकाको पोषण सुधारमा काम गरिरहेको सो परियोजना पूर्ण रूपमा बन्द भएको छ । त्यस्तै ४.४ मिलियन डलरको एचआईभीविरुद्धको रोकथाम परियोजना परि बन्द भएको छ । त्यस्तै करिव ५ मिलियन अमेरिकी डलरको यूएसएआईडी हेल्थ लर्निङ परियोजना पनि अब बन्द भएको छ । सो परियोजनाले नेपालका स्वास्थ्य सेवा सुधारका लागि अनुगमन, मूल्यांकन, र अनुसन्धानलाई सहयोग पुर्याएको थियो ।
शिक्षा क्षेत्रमा मात्रै ३०.३ मिलियन डलरभन्दा बढीको परियोजना बन्द भएको छ । २० मिलियन डलरको यूएसएआईडी शिक्षा, समानता र समावेशीकरण परियोजना सबैभन्दा ठूलो परियोजना थियो । जसले विद्यार्थीहरूको पहुँच सुधार गर्ने लक्ष्य राखेको थियो । यसैगरी ५ मिलियन अमेरिकी डलरको यूएसएआईडी शिक्षा आपत्कालीन प्रतिक्रिया परियोजना पनि बन्द भएको छ । यसले भूकम्प प्रभावित विद्यालयहरूलाई सहायता प्रदान गरिरहेको थियो । यसैगरी ५ मिलियन डलरको यूएसएआईडी कृषि उच्च शिक्षा परियोजना पनि सधैंका लागि रोकिएको छ । यो परियोजनाले कृषि विश्वविद्यालय सुधारमा काम गरिरहेको थियो ।
कृषि तथा जीविकोपार्जन क्षेत्रमा सबैभन्दा ठूलो वित्तीय प्रभाव परेको छ । यो क्षेत्रमा ८६.५ मिलियन डलरभन्दा बढीको परियोजना बन्द गरिएको छ । ५६ मिलियन डलर बजेट भएको यूएसएआईडी कृषि रूपान्तरण परियोजना, २४.५ मिलियन अमेरिकी डलर बजेट रहेको यूएसएआईडी कृषि सामाग्री परियोजना पनि बन्द भएको छ । यी परियोजनाले नेपालमा कृषि प्रतिस्पर्धात्मकता सुधार र आर्थिक सुधारमा काम गरिरहेका थिए । यस्तै, पूर्वी नेपालमा काम गरिरहेको १ मिलियन डलरको यूएसएआईडी नेपाली चिया साझेदारी परियोजना र अर्को १ मिलियन डलरको यूएसएआईडी डिजिटल कृषि परियोजना पनि रोकिएका छन्। ।
त्यस्तै सुशासन तथा न्याय सुधारका परियोजनाहरूले २५.५ मिलियन डलरभन्दा बढीको बजेट गुमाएका छन् । ५ मिलियन डलर बजेट रहेको यूएसएआईडी सामुदायिक न्याय परियोजना, १४ मिलियन डलर बजेट रहेको यूएसएआईडी लोकतान्त्रिक प्रक्रिया परियोजना, जसले नेपालका लोकतान्त्रिक संस्थाहरूलाई सशक्त बनाउने लक्ष्य राखेको थियो । यी सबै रोकिएका छन् । यस्तै, ४ मिलियन डलरको जसले मानव बेचबिखनविरुद्धको अभियानका नाममा काम गरिरहेको यूएसएआईडी हाम्रो सम्मान परियोजना पनि बन्द भएको हो ।
पूर्वाधार तथा वातावरणीय परियोजनाहरूमा १५.२ मिलियन डलरभन्दा बढीको बजेट कटौती भएको छ । १३ मिलियन डलरको यूएसएआईडी स्वच्छ हावा परियोजना, ३ मिलियन डलरको बजेट रहेको यूएसएआईडी हरित निर्माण परियोजना पनि बन्द भएको हो । यसले वातावरणमैत्री निर्माण सामग्री प्रवद्र्धन गर्ने लक्ष्य राखेको थियो ।
विपद् व्यवस्थापन तथा आपत्कालीन सहायता क्षेत्रमा १०.९ मिलियन डलरभन्दा बढीको बजेट रोकिएको छ। १.३ मिलियन अमेरिकी डलरको यूएसएआईडी भूकम्प प्रभावित क्षेत्र पुनस्र्थापना परियोजना, जसले भूकम्प प्रभावित समुदायहरूलाई पुनर्निर्माणमा सहायता प्रदान गरिरहेको थियो । यस्तै, १.१ मिलियन डलर बजेट रहेको यूएसएआईडी आपत्कालीन प्रतिरोध क्षमता निर्माण परियोजना करिव १ मिलियन अमेरिकी डलरको यूएसएआईडी दिगो विपद् व्यवस्थापन परियोजना पनि बन्द भएका छन् ।
राष्ट्रपती डोनाल्ड ट्रम्पको कार्यभार सम्हालेपछि नेपाललगायत विश्वभरी काम गरिरहेका परियोजना/सहयोगका कार्यक्रमहरु बन्द गर्ने निर्णय गरेको थियो ।
बन्द भएका परियोजनाको विस्तृत विवरण सकमसहित यहाँ हेर्नुस्
प्रतिक्रिया दिनुहोस