हावाबाट ३ किलोवाट विद्युत उत्पादन
- नेचर खबर
 
                                                        
जोमसोममा हावाबाट ३ किलोवाट विद्युत् बुद्ध पावर प्रालिले उत्पादन गरेको छ। स्पेनिस र नेपाली लगानीकर्ताको कम्पनीले १६ महिनाको परीक्षणबाट विद्युत् निकाल्न सफल भएको खबर सोमबारको कान्तिपुरमा विनोद त्रिपाठीले लेखेका छन् ।
जोमसोम जिल्ला प्रहरी कार्यालय परिसरमा गरेको परीक्षणबाट प्रारम्भिक चरणमा तीन किलोवाट विद्युत् उत्पादन भएको हो। जोमसोम निकै हावा चल्ने ठाउँ हो। यहाँको भौगोलिक अवस्था अध्ययनपछि हावाबाट बिजुली निकाल्न सकिने भन्दै पुष्पराज तिमिल्सेना र स्पेनिस लगानीकर्ता राफेल भेनस पिच खटिएका थिए।
पहिलो चरणको परीक्षण सफल भएपछि जिल्लाभरिलाई पुग्ने विद्युत् उत्पादनका लागि पंखा र उपकरण थप गरी ४० मेगावाटको पावर प्लान्ट बनाउने योजना थालिएको तिमिल्सेनाले बताए।
निजी लगानीबाट निस्किएको बिजुली र यसको सबै संरचना सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी उनले दिए। पहिलो चरणको परीक्षणबाट उत्पादित बिजुली जिल्ला प्रहरी कार्यालयले प्रयोग गरेको छ। बिजुली निकाल्न प्रयोग भएका सबै सामान स्पेनबाट झिकाइएको हो। जडान गर्दा केही खर्चिलो भए पनि यसको टिकाउ २५ वर्ष हुने स्पेनमा व्यवसाय गरेका लगानीकर्ता तिमिल्सेनाले बताए।
कम्पनीले हावाबाट बिजुली निकाल्न अत्याधुनिक मौसम मापन यन्त्र पनि जोमसोम प्रयोगमा ल्याएको छ। जोमसोमको हावा जुनसुकै दिशाबाट पनि बहने भएकाले सोहीबमोजिमको पंखा जडान गरिएको उनले बताए। ‘दुइटा टर्बाइन छन्, पंखा सानो हावाले पनि घुम्छ,’ उनले भने, ‘ठूलो हावा चल्दा पनि पंखा भाँचिने डर छैन। बरु त्यस्ता अवस्थामा आफैं बन्द हुन्छ।’ पंखासँगै आठवटा सोलार प्यानल छन्। त्यसबाट निस्कने ऊर्जा पनि ब्याट्रीमा सञ्चित हुन्छ। ब्याट्रीमा सञ्चित बिजुली तार तानेर बाहिर खपतको व्यवस्था मिलाइएको छ। मुलुकमै पहिलो प्रयोग रहेको उक्त प्रविधि वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्रसँगको सहकार्यमा भित्र्याइएको हो।
मौसम मापन यन्त्रले मिति, हावाको गति, हावामा पानीको मात्रा, तापक्रम र सापेक्षिक आद्रताको अवस्था देखाउँछ। यहाँबाट देखाइएका सबै तथ्यांक वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको केन्द्रीय कार्यालयको कम्प्युटरमा देखिने व्यवस्था मिलाइएको छ। ‘विन्ड मिल’ प्रविधिको प्रयोग युरोपेली मुलुकमा सफल रूपमा भएकाले मुस्ताङमा दीर्घकालीन रूपमा सफल हुनेमा विश्वस्त रहेको तिमिल्सेनाले बताए।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस