कस्तो होला दशैंमा मौसम ?



फाइल फाेटाे 

खुलेकाे आकाश । राम्रो मौसम । लहलह फाँटैभरि झुलेका धानका बाला । आँगनभरि फुल्नै लागेका फुलका कोपिला । यस्तो वातावरणले दशैंको झल्को दिन्छ । त्यसैले दशैंलाई हिलो र वर्षा पछिको चाड पनि भनिन्छ । तर कहिलेकाहीँ वर्षा र प्राकृतिक प्रकोपले खल्लो बनाइदिने गर्छ दशैंलाई । यसपालिको दशैं कस्तो होला त ?

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार यसपालिको दशैंमा छिटफुट वर्षाको सम्भावना देखिए पनि ठूलो वर्षाको सम्भावना छैन । महाशाखाका मौसमविद् सुवास रिमालले भने, ‘निष्क्रय रहेको मनसुन यो साता सक्रिय हुँदा केही स्थानमा छिटफुट वर्षा भइरहेको छ । यो प्रणाली अझै केही समय रहने भएकाले दशैंका सुरुवाती दिनहरूमा मौसममा बदली हुने सम्भावना बढी देखिन्छ ।’

सामान्यतया यो अवधि भनेको नेपालबाट मनसुन बाहिरिने अवधि हो । मौसमविद् रिमालले भने, ‘मनसुन अहिले नै नेपालबाट बाहिरिने अवस्था छैन । यद्यपि कमजोर बन्दै जाने क्रममा छ ।’ यो अवधिमा स्थानीय रूपमा विकास भएका मौसमी प्रणाली र जलवाष्पका कारण गड्याङगुडुङसहित छिटफुट वर्षा हुने गर्दछ । सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधिलाई मनसुनी अवधि भनिन्छ ।

नेपालमा विगत केहिवर्षदेखि नै मनसुन बिदा हुने समय लम्बिदै गइरहेको छ । मौसमविद् रिमालका अनुसार मनसुन बिदा यही दिन हुन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन । मनसुनी अवधि सकिनै लाग्दा मनसुन कमजोर बन्दै गएको र तत्काल अर्को प्रणाली नदेखिएकाले दशैंमा ठूलो पानी पर्ने सम्भावना भने देखिँदैन ।

बंगालको खाडीदेखि भारत हुँदै पूर्वी नेपालबाट मनसुनी वायु भित्रिने गर्छ । जसले गर्दा जुन महिना देखि सेप्टेम्बर महिनासम्म धेरै वर्षा हुने गर्छ । नेपालमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत वर्षा यही चार महिनाको अवधिमा हुन्छ । सेप्टेम्बर महिनाको अन्त्यसँगै बंगालको खाडीबाट सुरु भएको मनसुन पश्चिम नेपाल हुँदै बिदा हुन्छ । मनसुन सकिएपछि पश्चिमी वायु सक्रिय हुन्छ । पश्चिमबाट पूर्वतर्फ मौसमी गतिविधि अघि बढ्छ ।

मनसुन बिदा भएपछिको समयमा भने स्थानीय प्रणाली तथा समुद्रमा आउने चक्रवातका कारण कहिलेकाहीँ वर्षा हुने गर्छ । बंगालको खाडीमा विकास भएको मौसमी प्रणाली र जलवाष्पका कारण हुने वर्षा भने मनसुनसँगै बिदा हुन्छ ।

मनसुन बिदा हुनका लागि बंगालको खाडीबाट सक्रिय भएको मौसम प्रणाली पूर्ण निस्क्रिय हुनुपर्छ । गत वर्ष पनि मनसुनी अवधि सकिएको केही समय ढिला गरी मनसुन बाहिरिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics