कुरैनबुझी लुरुलुरु
गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ३१ औं अंश –
कुरैनबुझी लुरुलुरु
पटके कृष्णेसँगै पक्रने भन्दाभन्दै छुटेको वीरबहादुर कुमाल गुन्जनगरमा कान्छी श्रीमतीकहाँ देखिन थालेको छ भन्ने खबर आयो। हामी गाजापुर पोस्टमा गयौँ र कन्फर्म गरेर पक्रनू भनी कसरातर्फ लाग्यौँ। तर अपरेसनमा जाँदा ऊ भेटिएनछ; बरू त्यही नामको अर्को मान्छे भेट भएछ।
२०६२ चैत १२ गते एकाबिहानै फोन आयो— वीरबहादुर दिव्यनगर गाविसको सिसवारतिर देखियो। ड्राइभर आउन ढिलो गरेकाले यमबहादुर खनाल र म मात्रै गाडी लिएर भगेडी पोस्टतर्फ लाग्यौँ। त्यहाँबाट सिनियर गेमस्काउट शेषचन्द्र चौधरीलाई लिएर वीरबहादुर बसेको घरतर्फ गयौँ। गाडी अलि वरै रोक्यौँ र सरासर उसको घरभित्र पस्यौँ। ऊ रक्सी र मासु खाँदै रहेछ। हामीले उसको फोटो टाइगर टप्स होटलबाट लिएका थियौँ। मैले त्यसैका आधारमा उसलाई चिनेँ। ‘ल हिँड्’ भनेर उठाउँदा उसकी साली पर्नेले बलजफ्ती रोक्न खोजी तर हामी उसलाई धकेलेर वीरबहादुरलाई लिएर हिँड्यौँ।
वीरबहादुरले गैँडा तस्करीमा लागेका मेघौलीका थुप्रै मान्छेको नाम भन्यो। हामीले ती मान्छे घरमा छन्/छैनन् बुझ्न स्टाफ र सुराकी पठायौँ। स्टाफले फोन गरेर ‘सबै जना घरमै छन्’ भन्यो। अपरेसनमा जान ब्यारेकसँग कुरा मिलाएर बेलुका भिम्लेतर्फ लाग्यौँ। त्यहाँबाट राप्ती तरेर बगरैबगर हिँड्न थाल्यौँ।
एक ठाउँमा गैँडा पाँच मिटरजति मात्र टाढा थियो; महेन्द्र थापा खुरूखुरू त्यतै लाग्यो। मैले उसलाई तानेर ‘भाग्’ भनेँ। गैँडा हामीतिरै आयो; हामी सबै जना कराएपछि बल्ल भाग्यो। तोकिएको ठाउँमा पुगेपछि हामीले पालैपालो छ–सात वटा घरमा गएर अपरेसन गर्यौँ, तर खोजेको एउटै मान्छे घरमा थिएन। अन्तिममा लालु कुमालको घरमा पुगियो।
त्यहाँ धन्सारको माथिपट्टि सुतिरहेको एक जनालाई उठाएर सोधेँ– ‘लालु कुमाल तिमी हो?’
उसले भन्यो– ‘हो, मै हो।’
मैले भनेँ– ‘उसो भए ल उठ, हामीसँग हिँड।’
ऊ लुरूलुरू हिँड्न थाल्यो।
अलि वर आएपछि गेमस्काउट महेन्द्रले अगाडि आएर भन्यो– ‘यो त लालु कुमाल होइन सर।’
‘कसरी थाहा भयो तिमीलाई?’
‘लालु कुमाल त कालो छ, कसरी गोरो भयो भन्छु म! ऊ त होचो छ,
कसरी यस्तो अग्लो भयो भनेर म त दङ्ग छु सर।’
अनि मैले त्यो मान्छेलाई सोधेँ– ‘तिम्रो घर कहाँ हो?’
‘स्याङ्जा।’
‘किन आएको?’
‘मुसुरो खोज्न।’
‘अघि लालु कुमाल म हो भनेको होइन त?’
‘म त निद्रामै उठेको; के सोध्नुभयो, थाहै भएन।’
त्यो मान्छेलाई बाटामै छाडेर हामी दौडँदै फक्र्यौं। लालुका श्रीमती र छोरीहरु आँगनमा उभिएर हामीतर्फ हेर्दै थिए।
‘लालु खोइ?’
‘उहाँ त माथि सुतिरहनुभएको छ।’
हामीले माथि गएर उसलाई उठाएर ल्यायौँ। त्यस बेला श्रीमती र छोरी ‘हामी पनि जान्छौँ’ भनेर पछि लाग्न थाले। हामीसँगै धेरै टाढासम्म आए। हामी त्यो रातभर अपरेसन गरेर बाघमारा पोस्ट जाने घाटमा पुग्यौँ र त्यहाँबाट गाडी मगाएर कसरा फर्कियौँ। पूर्वी चितवनतिर गैँडा मार्ने क्रम केही दिनदेखि बढेको थियो। हामी चैत १४ गते सौराहा चोकनजिक कसैको प्रतीक्षामा थियौँ। ठट्टैठट्टामा कुराकानी गरिरहेका थियौँ— आज सुराकीले यो हो भन्नेबित्तिकै मान्छे पक्रने। यत्तिकैमा एउटा मान्छे साइकलमा बकुलहर, टाँडीबाट सौराहा चोकतर्फ गइरहेको देखियो।
पोचर युज एज एन्टी–पोचर अन्तर्गत काम लगाइएको व्यक्तिले ‘उः, सुकई साइकलमा गयो; यो पनि काम गर्छ; पक्का हो फरकै छैन’ भन्यो।
हामी हतारहतार गाडी लिएर त्यसको पछि लाग्यौँ। मैले उसको साइकलभन्दा केही अगाडि लगेर गाडी रोकेँ। अनि साइकल चलाउँदा–चलाउँदै समातेँ। अरु स्टाफ पनि आए र हामी उसलाई गाडीमा राखेर कसरातर्फ लाग्यौँ। हाम्रो लक्ष्य एक दिनमा कम्तीमा एक जना समात्ने थियो।
आजको कोटा पुग्यो भनेर एक जना साथीले मजाक गर्नुभयो। ऊसँग सोधपुछ भयो। पहिले त इन्कार गर्दै थियो; पछि ‘मलाई रक्सी
खुवाएर कहाँ लगे कहाँ, थाहा भएन; उनीह?ले गएर गैँडा मारेर ल्याए; मलाई पनि घरमा ल्याएर दस हजार रूपैयाँ दिएका थिए’ भन्यो। आन्दोलनमा सहभागी हुन कार्यालयबाट विदा लिएर म चैत २३ गते घर गएँ। भोलिपल्ट आठ राजनीतिक दलले संयुक्त जनआन्दोलन सुरू गरे। आन्दोलन लामो समयसम्म चलेकाले तुरून्त कसरा आइन्।
यसबीच सुकई भन्ने राजेन्द्रप्रसाद चौधरीले नौ वटा गैँडा मार्न सहभागी भएको र त्यसबापत कुल एक लाख असी हजार रूपैयाँ पाएको स्वीकार गरेछ। त्यो थाहा पाएपछि कर्णेल अजित थापाले ऊ र सूर्यबहादुर कुमाललाई ब्यारेकमा लगेर राखेछन्, निकै ठूलो काम गरेको छु भनेर देखाउन!
प्रतिक्रिया दिनुहोस