बाघकोछालाको मोलमोलाइ
गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ३४ औं अंश –
जेलमा गठबन्धन
लोकतन्त्र आएको तेस्रो दिन म कसरा फर्कें। एक जना रेन्जरले भने– ‘जेलमा त बडो हङ्गामा भयो। हामी थप सोधपुछका लागि दुई–तीन जना थुनुवालाई ल्याउन भनेर गएका, कैदीहरुले ल्याउनै दिएनन्। उनीहरुले त्यहाँ तपाईं र टीकाराम सरलाई तथानाम गाली गरे। माओवादीको नेता हुँ भन्ने एउटाले सरहरुलाई धेरै अपमान गरेर कुरा गरेको थियो। ऊ भन्दै थियो– कमलजङ्ग कुँवरले आर्मी लगेर धेरै माओवादी कार्यकर्ता मार्न लगायो। गरिब र निर्दोषहरुलाई थुन्छ अनि गैँडा तस्करलाई छाड्छ। अब यिनीहरुको पालो हो जेलमा बस्ने।’
माओवादीहरु बिनाकारण एकाएक मविरूद्ध किन खनिए भनेर जिल्ल परेँ। मैले उनीहरुको केही बिगारेको थिइनँ। मलाई उनीहरुसँग कुरा गर्न मन लाग्यो। माओवादीसँग वकिल कृष्णभक्त पोखरेलको राम्रो सम्बन्ध छ भन्ने थाहा पाएर उहाँलाई भेटेँ। उहाँको सल्लाह अनुसार पत्रकार सुरेश अधिकारीलाई समेत सँगै लिएर हामी तीन जना २०६३ वैशाख २० गते
जेलमा गयौँ। त्यहाँ एउटा माओवादी कार्यकर्ता ओमप्रकाश वाग्लेले ममाथि थुप्रै आरोप लगायो।
मैले एक–एक गरी सबैको जबाफ दिएँ। अनि उसलाई भनेँ– ‘जुन राजकुमार लामा र युधिष्ठिरजङ्ग राणाको पक्षमा तपाईंहरु कुरा गर्दै हुनुहुन्छ,तिनीहरु राजाका सल्लाहकार प्रभुराजाका मान्छे हुन्।’ त्यो कुरा सुनेर ऊ चकित भयो। अन्त्यमा उसले जिरह गर्यो– ‘चैनपुरको तिलबहादुर गुरूङ बिरामी भएर यहाँ मर्नु र बाँच्नुको अवस्थामा छ तैपनि तपाईंहरुले छाड्नुभएन।’
मैले भनेँ– ‘यो नियम अनुसार हुने कुरा हो। लोकतन्त्र आइसक्दा पनि तपाईंहरुलाई पनि त प्रक्रिया नपुर्याई छाडेको छैन नि।’ अनि ऊ चुप लाग्यो।उसले त्यसपछि पनि मलाई फोन गरेर धेरै पटक ‘तिलबहादुर गुरूङलाई छुटाइदिनुपर्यो’ भनेको थियो। किन हो, मलाई थाहा छैन। तिलबहादुरले थुप्रै पटक गैँडाको खाग र बाघको छाला बेचेको छ। ऊ पनि तस्करीतन्त्रको सक्रिय सदस्य हो। त्यसमाथि कुनै पनि मान्छेलाई सजाय तोक्ने काम मुद्दा हेर्ने अधिकारीको हैसियतले चिफ वार्डेनको हो। माओवादीहरले मलाई सबै गर्ने यसैले हो भन्ने ठान्नु उनीहरको बुझाइको कमजोरी थियो।
भरतपुर कारागारमा गैँडा केसका थुनुवाहरको बाहुल्य थियो। माओवादी बन्दीहरले जेलमा प्रभुत्व कायम राख्न तिनीहरुलाई ‘हाम्रो सरकार आएपछि तिमीहरलाई छुटाइदिन्छौँ; आममाफी दिन्छौँ’ भनेर आफ्नो पक्षमा पारेका रहेछन्। त्यही क्रममा इन्द्रबहादुर गुरूङ र जयनारायण कुमाल लगायत राजनीतिक पृष्ठभूमि भएका गैँडा केसका थुनुवाहरले मविरूद्ध भ्रामक कुरा लगाएर उनीहरको कान भरेका रहेछन्। त्यस बेला के–के भन्दा मेरो तेजोवध गराउन सकिन्छ र मलाई चितवनबाट हटाउन सकिन्छ भनेर ठूलै गिरोह सक्रिय थियो। किनभने पक्राउ परेका गैँडा तस्करहरलाई ‘हामी पक्राउ पर्नुको कारण नै कमलजङ्ग कुँवर हो’ भन्ने परेको थियो भने पक्राउ नपरेकालाई कुनै पनि बेला कारबाहीमा पर्न सकिन्छ भन्ने बेचैनी थियो।
बाघकोछालाको मोलमोलाइ
सोनाम छिरिङ खाग र बाघको छालाको तस्कर हो भन्ने खुबै चर्चा थियो। त्यसै आधारमा हामी उसलाई पक्राउ गर्ने जमर्को गर्दै थियौँ। यस्तैमा काठमाडौँ, कालीमाटी वडा प्रहरी कार्यालयले बच्चु राई र सोनामलाई कंलकीबाट २०६२ चैत ९ गते पक्राउ गरेछ। त्यहाँबाट हामीले कसरामा ल्यायौँ। सोधपुछका क्रममा धेरै दिनसम्म उनीहरुले एक–अर्कालाई नचिनेको
बहाना गरे। तर त्यो बहानाले धेरै दिन काम गरेन। हामीले सोनामबाट बरामद गरेको मोबाइल प्रयोग गरिरहेका थियौँ। रितेशजीसँग हुन्थ्यो त्यो फोन। मैले उहाँलाई त्यसमा आउने अपरिचित नम्बरका फोन रिसिभ नगर्नुहोला भनेको थिएँ। २०६३ वैशाख १७ गते उहाँ र म भरतपुरबाट टाँडीतर्फ जाँदै थियौँ। हाकिम चोकनजिकै त्यसमा घण्टी बज्यो। उहाँले भन्नुभयो– ‘यो नम्बरबाट फोन आएको आयै गर्छ।’
मैले गाडी रोकेर फोन उठाएँ।
मैले ‘हेलो’ भनेपछि उताबाट भन्यो– ‘म पशुपति बोलेको, काठमाडौँबाट।’
‘के छ हालखबर?’
‘ठीकै छ। तपाईंलाई कति भयो फोन गरेको, फोनै उठाउनुहुन्न।’
‘के काम थियो र? म अलि व्यस्त भएर हो।’
उताबाट भन्यो– ‘ठूलोको बाहिरको र भित्रको छ, लिने हो?’
मैले भनेँ– ‘ठीक छ, म अहिले बाहिर छु; माल कहाँ छ र?’
‘मेरो पनि दुई–चार दिन काठमाडौँमा काम छ; त्यो सकेपछि म तपाईंलाई
हेटौँडा पुगेर खबर गर्छु।’
मैले ‘हुन्छ’ भनेर फोन बन्द गरेँ।
त्यति वार्तालाप हुँदा पनि उसले सायद लवज याद गरेनछ; कुनै शका गरेन। यसैबीच ठूला बुवाको मृत्यु भएकाले म हेम्जातर्फ लागेँ। उसले पुनः फोन गरेछ। रितेशजीले ‘एक–दुई दिनपछि फिक्स गरौँला’ भनेर टार्नुभएछ। उहाँको लवज पनि उसले चाल पाएनछ। म कसरा फर्केपछि उसले पुनः फोन गर्यो भन्ने खबर पाएँ। अनि मैले रितेशजीलाई भन्न लगाएँ– ‘म बाहिर अर्को काममा जाँदै छु; मेरो आफ्नो मान्छे त्यहाँ आउँछ; उसैलाई दिनुहोला।’ सोनामलाई उसले चिन्ने भएकाले सोनाम बनेर अरु नै मान्छे जाँदा त ऊ भागिहाल्थ्यो। त्यसैले मैले यो उपाय गर्न खोजेको थिएँ।
अर्को मान्छे आउँछ भन्दा उसले फोनमा भनेछ– ‘तिम्रो मान्छेले फसाउने त होइन?’
रितेशजीले भन्नुभएछ– ‘मेरै मान्छे हो; मसँगै कारोबार गरेको भन्ने ठाने हुन्छ। विश्वास गर्दा फरक पर्दैन।’ त्यसपछि उसले ‘ल त’ भनेर भोलिपल्ट हेटौँडामा भेट्ने कुरा गरेछ।
वैशाख २६ गते हामी हेटौँडा पुग्यौँ। उसले मोबाइलमा फोन गर्यो।
मैले ‘कहाँ आउने?’ भनेर सोधेँ।
उसले ‘ट्राफिक कार्यालय अगाडिको चोक’ भनेर तोक्यो।
मैले सोधेँ– ‘तपाईंलाई कसरी चिन्ने?’
उसले भन्यो– ‘कपाल फुलेको, बूढोबूढो देखिन्छु; चस्मा लगाएको छु।’
मैले भने आफ्नो हुलिया बताइनँ। हाम्रो गाडी सीमा लजभित्रको पार्किङमा राखेका थियौँ। साथीहरुलाई वरपर रहेर मलाई वाच गरिराख्न भनेको थिएँ। एक छिनपछि पशुपति भन्ने त्यो मान्छे आइपुग्यो। ऊ एक्लै थियो; मैले ‘तपाईं नै पशुपति जी हो?’ भनेँ।
उसले पनि ‘हो’ भन्यो र हात मिलायो। हामी एउटा पसलमा पस्यौँ र चिया मगायौँ। हाम्रो गफ सुरू भयो। उसले आफ्नो घर नेपालगञ्ज बतायो र ऊ बुटवलको विद्यालयमा शिक्षक रहेछ। उसले आफूसँग बाघको छाला भएको बतायो र भन्यो– ‘छाला दस फिटको छ। फिटको कति दिने हो भाउ, ल भन्नुस्।’
मैले उसैलाई सोधेँ– ‘तपाईं कतिमा दिनुहुन्छ?’
उसले भन्यो– ‘तपाईंको भाउ बताउनुस् न पहिले।
हामीलाई पनि भाउ चित्त बुझ्नुपर्यो। हेर्नुस्, काठमाडौँदेखि दुई–चार पैसाका लागि आएका छौँ।’
मलाई बाघको छालाको त्यस बेलाको बजारभाउ थाहा थिएन। त्यसैले अलिक अघि त्यस्तो कारोबार गर्नेहरुसँग बयान लिँदा थाहा पाएको भाउका आधारमा भनेँ– ‘फुटको आठ हजारसम्म दिन सकिन्छ।’
उसले भन्यो– ‘यो त धेरैअगाडिको भाउ हो। हामीले त यस्तो कति बेच्यौँ कति। सोनामजीलाई सब थाहा छ। उहाँ र हाम्रो कारोबार हुन थालेको कति भयो कति। आठ हजार हैन, दस हजार हो लौ।’
ऊ पक्का व्यापारीझैँ मोलतोल गर्दै थियो। मैले पनि तिर्नुपर्ने मूल्य भए पो आनाकानी गर्नु, ‘हुन्छ ल’ भनिदिएँ। मलाई त जतिसक्दो चाँडो उसलाई पट्ट्याएर मालसमेत पक्रनु थियो। ऊ प्रफुल्ल भयो, पक्का व्यापारी भेटेँ भनेर। त्यसपछि हड्डीको मोलतोल गर्न थाल्यो। ‘पाँच केजी छ सुख्खा, त्यसको मोल कति त?’ मैले फेरि त्यसको मूल्य विचार गर्नुपर्ने भयो। त्रिवेणीमा हड्डी पक्रँदा तीन हजार भारूमा छिनोफानो भएको थियो। त्यसैका आधारमा भनिदिएँ– ‘तीन हजार रूपैयाँ प्रतिकेजी।’
ऊ फेरि दलाली गर्न थाल्यो– ‘यो भाउ त तीन–चार वर्षअगाडिको हो।’
‘अहिलेको कति हो त?’
‘प्रतिकेजी पाँच हजार रूपैयाँका दरले पच्चीस हजार रूपैयाँ। छालासमेत जम्माजम्मी एक लाख पच्चीस हजार रूपैयाँ। ल ठीकै छ, पाँच हजारको हिसाब नगरौँ; एक लाख बीस हजार भयो।’
मैले पनि छिनोफानो गरेँ– ‘ल ठीक छ। एक लाख बीस हजार।’ हामी त्यहाँबाट उठ्यौँ। बाहिर आएर उसले केरा किन्यो। ठूला बुवाको जुठो परेकाले मैले चिया र फलफूलबाहेक केही खानु हुँदैनथ्यो। बिहान केही नखाई हिँडेको, भोकले लखतरान परिसकेको रहेछु। केरा खाएपछि केही राहत भयो। त्यसपछि उसले भन्यो– ‘एक हजार रूपैयाँ मात्र भए पनि बैना दिनुस्, काम पक्का गर्नलाई।
ऊ पक्का व्यापारी थियो। भन्दै थियो– ‘कुरा मात्र गरेर भोलि आउनुभएन भने मलाई दुःख मात्र हुन्छ। तपाईं नआए मेरो होटलखर्च र बसभाडा त गयो नि।’
मसँग त्यति बेला दुई–तीन सयभन्दा बढी थिएन। मैले भनेँ– ‘पैसा बोक्ने साथीलाई होटलमै राखेको छु। ऊसँगबाट ल्याइदिन्छु; एक छिन पर्खनुस्।’ उसले ‘हुन्छ’ भनेपछि म सीमा लजतर्फ गएँ अनि यमबहादुर खनाल र रितेशजीसँग भएको पाँच–पाँच सय रूपैयाँ लिएर उसलाई एक हजार रूपैयाँ दिएँ। भोलि बिहान एघार बजे भेट्ने पक्का गरेर हामी त्यहाँबाट छुट्टियौँ।
प्रतिक्रिया दिनुहोस