वातावरणीय विनाशले निम्त्याएको चुनौती

मानव स्वास्थ्यको रक्षा र वातावरण संरक्षण प्रत्येक राज्यको दायित्व अन्तर्गत पर्दछ । वातावरण भन्नाले हाम्रो वरिपरि रहेको जमिन, हावा, पानी, वनस्पति, वन्यजन्तु, ठोस वस्तु, फोहरमैला, वन जंगल सबैलाई बुझाउँछ । वातावरण प्राकृतिक र सामाजिक–सांस्कृतिक गरी २ प्रकारको हुन्छ । वातावरण एक वृहत् विषय हो जसले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवश्यकहरू तथा यिनीहरूबिचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई जनाउँछ ।

वातावरणबाट हामीले प्रत्यक्ष लाभ जस्तै गाँस, वास र कपास तथा अप्रत्यक्ष लाभ जस्तै जल चक्र, पोषक तत्त्वको चक्र, परागसेचन, माटो निर्माण आदि पाइरहेका हुन्छौँ । वर्तमान समयमा बढ्दो जनसंख्याको चाप प्राकृतिक स्रोत साधन माथि पर्दा प्रमुख रूपमा रहेका वातावरणीय समस्याहरू मध्ये वायु प्रदूषण, पानी र माटोको प्रदूषण, जलवायु परिवर्तन, वातावरणीय विनाश साथै मानव सिर्जित वातावरणीय समस्या आदि बढ्दै गई रहेका छन् । नेपाल पनि वातावरण विनाशको बढ्दो दर र त्यसको व्यवस्थापनको विश्वव्यापी चासोबाट अछुता रहन सक्दैन । मानव जातिले आफ्ना भौतिक आवश्यकता पूरा गर्ने क्रममा निर्माण गर्ने विविध खालका पूर्वाधार एवं भौतिक संरचनाले गर्दा वातावरणीय सन्तुलनमा समेत असर परेको छ । वर्तमानका पुस्ताले भावी पुस्तालाई स्वस्थ पृथ्वी हस्तान्तरण गर्नु पर्दछ भन्ने दिगो विकासको मूल मर्म र भावनालाई आत्मसात् गर्दा मानवीय क्रियाकलापका हरेक आयाम कुनै न कुनै रूपमा वातावरणसँग गाँसिएको हुन्छ । दिगो विकास लक्ष्यको लक्ष्य नं. १४ र १५ ले पानीमा वस्ने जीव र जमिनको पारिस्थितिकिय प्रणालीको संरक्षणमा जोड दिँदै जल र जमिनमा पाइने स्रोतहरूको दिगो उपयोगमा जोड दिएको पाइन्छ ।

जैविक स्रोतको अस्तित्व कायम राख्न सफल ग्रहहरू मध्येको एक मात्र पृथ्वीको संरक्षणको सन्दर्भमा संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७२ को जुन ५ देखि १६ सम्म स्वीडेनको राजधानी स्टकहोममा पहिलो पटक मानविय वातावरण विषयक सम्मेलन को आयोजना गरिएको थियो । सोही सम्मेलनको आधारमा संयुक्त राष्ट्र संघिय वातावरण कार्यक्रम को स्थापना सन् १९७४ मा भएको थियो र उक्त वर्षदेखि नै विश्वको वातावरण संरक्षण गर्ने उद्देश्यले स्टकहोममा भएको मानविय वातावरण विषयक सम्मेलनको पहिलो दिन जुन ५ मा एक मात्र पृथ्वी नारा तय गरी विविध कार्यक्रमका साथ यो दिवस पहिलो पटक मनाइएको थियो । हरेक वर्ष उक्त सम्मेलनको सतवार्षिकीको अवसर पारेर जुन ५ का दिन मनाइने विश्व वातावरण दिवसका नारा तथा सो अवसरमा मनाइने विविध कार्यक्रमको मुल उद्देश्य विश्वको पर्यावरणीय अवस्थिती मानव जीवनका लागि अनुकूल हुने अवस्थामा पुर्याउनुका साथै प्राकृतिक सन्तुलन कायम राख्नु रहेको छ । विश्व वातावरण दिवस मनाउनुको मुल उद्देश्य मानवलाई स्वच्छ र स्वस्थ वातावरणको महत्वको बारेमा विश्वव्यापी चेतना अभिवृद्धि गर्नु र सर्वसाधारण मानिसको तहबाट सकारात्मक वातावरणीय क्रियाकलापका माध्यमबाट विश्वव्यापी वातावरणीय समस्याहरू हल गर्नलाई सघाउ पुर्याउनु रहेको छ । यसै सन्दर्भमा ४५ औँ विश्व वातावरण दिवस २०१८ (वि.सं. २०७५) प्लास्टिक प्रदूषण नियन्त्रणका खातिर भारतको आतिथ्यतामा ʺप्लाष्टिक प्रदूषण निर्मुल पारौँ ः सके पुनः प्रयोग, नसके बहिष्कार गरौंʺ नारा सहित विश्वभरका १०० भन्दा बढी देशहरूले विविध कार्यक्रमका साथ स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तवरमा यो दिवस मनाउँदै छन् ।

प्लास्टिकको अर्थ प्लास्टिकलाई सजिलै आफूले चाहेको आकारमा ढाल्न सकिन्छ । यो पोलिमरबाट बनेको हुन्छ जसको अर्थ धेरै भागहरू मिली बनेको भन्ने हुन्छ । पहिलो सिन्थेटिक पोलिमर सन् १८६९ मा जे. डब्लु हायटले हस्तीहाडको विकल्पको रूपमा कृत्रिम पोलिमरको आविष्कार गरेपछि भएको र पूर्ण कृत्रिम प्लास्टिकको सुरुवात सन् १९०७ मा एल. वेकेल्याण्डले वेकेलाइटको आविष्कार गरेपछि भएको हो । सन् १९२९ को विश्वव्यापी मन्दि र दोस्रो विश्व युद्धपछि बढ्दो औद्योगिकरणले प्लास्टिकका सामग्रीमा बढोत्तरी भएको पाइन्छ । जस्तै ः अमेरिकामा दोस्रो विश्व युद्ध ताका प्लास्टिक प्रयोगमा ३०० प्रतिशतले बढोत्तरी भएको पाइन्छ । प्लास्टिकका झोला बनाउन कच्चा पदार्थको रूपमा उच्च आणविक उच्च घनत्व भएको पोलिथिन, ग्रयानुल्स, विभिन्न रङ्ग दिनको लागि मास्टर व्याच, पोलिथिनलाई पारदर्शी बनाउन टिटानियम डाइअक्साइड, चुनढुंगा जस्ता फिलरको प्रयोग गरिन्छ ।

प्लास्टिकका सामग्रीहरू हल्का, सस्तो र बजारमा जहाँसुकै उपलब्ध हुने हुँदा आम नागरिकले यसको प्रयोग घरायसी देखि औद्योगिक प्रयोजनमा उक्त सामग्रीहरूको प्रयोग दोस्रो विश्व युद्ध पश्चात् बढाउँदै गइरहेका थिए । तर सन् १९६० मा अमेरिकी सामुद्रिक तटमा प्लास्टिकको थुप्रो देखा परेपछि र आर. कार्सनको सन् १९६२ को साइलेन्ट स्प्रिङ्ग नामक पुस्तक जसले रासायनिक विषादीको बारेमा प्रकाश पारेपछि अमेरिकीहरू वातावरणीय स्वास्थ्यप्रति संवेदनशील बन्दै गए र सन् १९७० र १९८० को दशकमा प्लास्टिकप्रतिको मोह घट्दै गई वातावरण संरक्षणमा ध्यान पुग्न गयो ।
प्लास्टिक प्रदूषण एक्काइसौ शताब्दीको सबैभन्दा ठूलो वातावरणीय समस्याको रूपमा खडा भएको छ । प्लास्टिक प्रदूषणलाई नियन्त्रण गरी प्राकृतिक स्रोत, साधनको संरक्षण गर्नको लागि हाम्रो दैनिकीलाई परिवर्तन गर्नुपर्ने हुन्छ । विश्वभरि हरेक मिनेटमा करिब दश लाख प्लास्टिकका पिउने पानीका बोतलको खरिद विक्री हुने गरेको आँकडा छ । त्यस्तै हरेक वर्ष हामीले ५ ट्रिलियन प्लास्टिकका काम नलाग्ने झोला पुनः प्रयोग गरिरहेका हुन्छौँ र करिब ५० प्रतिशत प्लास्टिकका सामग्रीहरू एउटा कार्यको लागि मात्रै प्रयोग गरिन्छन् ।

साथै करिब एक तिहाइ प्याकेजिङ्गका प्लास्टिक पुनः प्रयोग हुन नसकी शहर बजारमा थुप्रिनाले प्राकृतिक वातावरणलाई दुषित बनाइरहेका छन् । हरेक वर्ष करिब १.३ करोड टन प्लास्टिक समुद्रमा मिसिन गई कोरल रिफ लगायत सामुद्रिक जैविक विविधताको अस्तित्व संकटमा पार्दै आइरहेको तथ्य एकातिर छ भने प्लास्टिक समुद्रमा विलिन हुनुभन्दा पहिला जमिनमा ४ चक्र पार गरिसकेको हुन्छ र यो पुरै गल्नको लागि करिब एक हजार वर्ष लाग्ने अनुमान गरिएको छ । अर्को तथ्याङ्कका अनुसार विश्वमा प्रतिवर्ष करिब ८० लाख टनभन्दा बढी प्लाष्टिकजन्य पदार्थ समुद्रमा मिसिने गरेको र करिब ८०० सामुद्रिक जीवहरू उक्त प्लाष्टिकजन्य पदार्थ खाएर वा प्लास्टिकमा अल्झेर मर्ने गरेको पाइन्छ । साथै सन् २०५० सम्ममा समुद्रमा माछाको संख्याभन्दा प्लास्टिकको संख्या बढी हुने अनुमान गरिएको छ । प्लास्टिक प्रदूषणकै कारण ६०० भन्दा बढी प्रजातिको अस्तित्व संकटमा परी पृथ्वीमा छैटौँ प्राणीको ठूलो मात्रामा लोप हुने खतरा बढेर गएको छ । पानीमा मिसिएर हाम्रो शरीरमा प्रवेश गरेको प्लास्टिकले शरीर भित्र रहेको इन्डोक्राइन हर्मोनको उत्पादनमा रोकावट गर्ने र प्लाष्टिकजन्य पदार्थहरू जलाउँदा डाइअक्सिन, फ्युरान जस्ता स्वास्थ्यका लागि हानिकारक करणहरू वायुमा मिसिन गई फोक्सोको क्यान्सर लाग्न सक्ने हुँदा प्लास्टिक जन्य पदार्थको पुनः प्रयोग नगरेमा मानव स्वास्थ्य एवं वातावरणीय स्वास्थ्यका लागि समेत घातक सिद्ध हुनसक्छ ।
प्लास्टिक पुनः प्रयोग गर्न सकिँदैन भने यसलाई प्रयोग नै नगर्नु उत्तम हुन्छ । प्लाष्टिकजन्य पदार्थका नकारात्मक असर हट्नका लागि प्लास्टिकका सामग्री नै प्रयोग नगर्ने, खाद्यान्न प्याकेजिङ्गका लागि प्लास्टिक बाहेकका वस्तु प्रयोग गर्ने, बजारमा सामग्री खरिद गर्न जाँदा आफ्नै झोला बोकेर लिने, बाटोमा कहीँ कतै प्लास्टिकका सामग्री भेटेमा जम्मा गरी सुरक्षित ठाउँमा राख्ने, जथाभाबी प्लास्टिकका सामग्रीहरू नफाल्ने आदि पर्दछन् ।

अन्तर्राष्ट्रिय स्तरमा प्लाष्टिकजन्य र अन्य फोहर व्यवस्थापन एवं विश्वको पर्यावरण संरक्षणका लागि एजेन्डा २१, पृथ्वी सम्मेलन, सहस्राव्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य जस्ता प्रयासहरू जारी रहेतापनि मानविय क्रियाकलाप र बढ्दो जलवायु परिवर्तनका कारण ती प्रयासहरू सार्थक दिशामा निर्देशित हुन सकिरहेका छैनन् । त्यस्तै राष्ट्रिय स्तरमा वातावरण संरक्षणको हिसाबमा नेपालको संविधानमा मौलिक हकको रूपमा स्वच्छ वातावरणको हकको व्यवस्था, विकास र वातावरण बिचको सन्तुलन कायम राख्दै दिगो विकास हासिल गर्न वातावरण संरक्षण ऐन र नियमावलीको व्यवस्था गरिएको छ । त्यस्तै नेपाल सरकारको आ.व.०७५/०७६ को नीति तथा कार्यक्रममा हिमाल तथा हिमतालको संरक्षणमा जोड दिने र सगरमाथा र अन्य उच्च हिमशिखर एवं आसपासका क्षेत्रको सफाइमा विशेष ध्यान दिने र स्वच्छ, हराभरा र प्रदुषणमुक्त नेपाल अभियान संचालन गर्ने नीति लिएको छ र प्लास्टिक झोलाको व्यवस्थापनको सन्दर्भमा तत्कालीन वातावरण मन्त्रालयले जारी गरेको प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०६८ अनुसार २० माइक्रोनभन्दा कम मोटाईको प्लास्टिक झोला प्रयोग र आयात गर्न नपाउने, फोहोरजन्य पदार्थ प्रयोगको लागि कालो झोला प्रयोग गर्ने, सकेसम्म प्लास्टिक झोला कम प्रयोग गर्ने, प्रयोगमा नआउने प्लास्टिक झोलालाई उपयुक्र्त स्थानमा विसर्जजन गर्ने, सकेसम्म एउटै झोला बारम्बार प्रयोग गर्ने, ५–आर कार्यलाई प्रोत्साहन गर्ने (खेर जाने झोलाको परिमाण घटाउने, खेर जाने झोलालाई पुनः प्रयोग गर्ने, प्लास्टिक झोलालाई वातावरणमैत्री विकल्पले विस्थापन गर्ने, खेर जाने प्लास्टिकलाई पुनः प्रशोधन गर्ने र पुनः प्रयोगमा आउन नसक्ने प्लास्टिकबाट ऊर्जा उत्पादन गर्ने) एवं कानुनको उल्लंघन गर्नेलाई रु. ५०,००० सम्म जरिवाना गर्ने प्रावधान रहेको छ ।

वातावरण दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकाय एवं अन्य सरोकारवाला निकायहरूले सप्ताहव्यापी रूपमा फोहर व्यवस्थापन कार्यक्रम, हरियाली प्रवर्द्धनका कार्यक्रम, वातावरण सम्बन्धी जनचेतना फैलाउन प्रचार–प्रसार कार्यक्रम एवं जेठ २२ गतेका दिन वन तथा वातावरण मन्त्रालयले स्वच्छ नेपाल अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ ।
यसरी स्वच्छ हावा, स्वच्छ पानी मानवका नैसर्गिक अधिकार भएको हुँदा पञ्चमहाभूत मध्येका यी दुई तत्त्वको संरक्षण गरी मानव र वातावरणीय स्वास्थ्यलाई स्वस्थ राख्न संघिय, प्रादेशिक र स्थानीय सरकारले जनसहभागिता परिचालन गर्दै प्लाष्टिकजन्य फोहरमैलाको व्यवस्थापन एवं नदी प्रदूषण नियन्त्रण, बढ्दो शहरीकरणका कारण उत्पन्न वायु प्रदूषण एवं जल पुनर्भरणका लागि शहरी वन एवं सडक किनारा वृक्षारोपण, खाली सार्वजनिक एवं निजी जग्गामा कृषि वनका माध्यमबाट हरियाली प्रवर्द्धन, काठमाडौँका वाग्मति र विष्णुमति जस्ता देशभरका नदीका दुवै किनारामा वन बाटिकाको विस्तार र बढ्दो भूमिको खण्डीकरणलाई निरुत्साहित गर्दै दिगो विकासको लक्ष्य हासिल गरेर समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिन सबैले व्यक्तिगत व्यवहार परिवर्तन गर्दै प्लाष्टिकजन्य पदार्थलाई जथाभाबी नफार्लौ र कम भन्दा कम प्रयोग गरौँ ।

 लक्ष्मी राज जोशी जिल्ला वन कार्यालय, ललितपुरका  सहायक वन अधिकृत  हुन  ।

लक्ष्मी राज जोशी

प्रतिक्रिया दिनुहोस

web
analytics