प्रकृतिसँग प्रेम
प्रकृतिको काखमा फुलेको त्यो सुन्दर गुलाबको फुल कसैको प्रेमको प्रतिक बन्न सक्छ । प्रकृतिको सुन्दरतासँगै रमाउन सक्छन् प्रेमजोडी । मानिसलाई अथाह खुसि प्रदान गर्ने अनि एकान्त समयमा मन बहलाउने साथि बनिदिन्छ प्रकृति ।
गोधुलि साँझमा चराहरुको चिरबिर आबाज सुन्दै पारी क्षितिजमा सुर्यास्तको आकृतिलाई नियाल्दै कोइलीको मधुरवाणीमा मन्त्रमुग्ध भएर स्वरमा स्वर मिलाई प्रेमगित गाउन सक्छन् प्रेमजोडीहरु । यहाँ कोही प्रकृतिसँग प्रेम गर्छन त कोही प्रकृतिलाई नै प्रेम गर्छन् । कहिले एकान्तको साथि बनिदिन्छ प्रकृति त कहिले उत्साहको लहरमा हौसला बनिदिन्छ प्रकृति । प्रेम एउटा सिङ्गो रुख र त्यसको जरा जस्तै एकअर्कामा जेलिएको हुन्छ । जहाँ जरा बिनाको रुख कल्पना गर्नै सकिदैन ।
हामीले उत्पादन गर्ने प्रत्येक बालीमा प्रकृतिले प्रेम गरेको हुन्छ, त्यसैले त बर्साईदिन्छ बादलले समय समयमा पानी । पानीले पनि त्यतिकै प्रेम गर्छ बालीलाई अनि भन्छ म बर्सन्छु तँ सकेजति फल्नु । हामी प्रेम खोज्छौँ, बुझ्दैनौ, प्रेम सबैभन्दा बढि प्रकृतिमा नै हुन्छ । प्रेममा विछोडिएर विरक्त भएकोे मानव एकान्त खोज्दै प्रकृतिकै काखमा शरण लिन पुग्दछ । प्रकृतिको कुन चिजमा छैन प्रेम माटोसँग गरिने प्रेम प्रकृति प्रेम, फुलसँग गरिने प्रेम प्रकृति प्रेम, हावासँग गरिने प्रेम प्रकृति प्रेम । प्रत्येकको प्रेम प्रकृतिसँगै गाँसिएको हुन्छ ।
गुलाबको फुलको सुरक्षाका लागी काँडा सँधै लागिरहन्छ कहिल्यै अलग हुँदैन बोटबाट । बादलले आँसु झार्दा सारथि बनिदिन्छ खोला, अनि प्रत्येक आँसुका थोपा आफ्नो काखमा थापेर बगाईदिन्छ आफुसँगै । हिमालले प्रेम गर्छ सँधै नदिसँग त्यसैले त बगाईरहन्छ निरन्तर आफ्नै गतिमा आफु रुख्खिएरै भएपनि । पुर्णिमाको चन्द्रमा सबैको प्रिय हुन्छ, त्यसैले त वर्णन गरीन्छ सुन्दरताको प्रतिकका रुपमा । खोलाले समुद्रसँग गर्ने प्रेम साँच्चै उदाहरणीय छ, अनेक बाधा व्यवधान पन्छाउँदै हिमालको प्रत्येक कुना कन्दराबाट आखिर पुगेरै छोड्छ अनि उसैमा विलिन हुन्छ ।
संगित रचिन्छ प्रकृतिसँगै, गित रचिन्छ प्रकृतिसँगै यसरी हेर्दा रचनाको स्रोत हो प्रकृति । आ आफ्नो ठाउँ लिएर प्रत्येक रमाउँछन् प्रकृतिमा । प्रकृतिमा रमाउन न कुनै साँध छ न कुनै सिमाना न कसैले संवाद गर्छन न कसैले विवाद ।
प्रतिक्रिया दिनुहोस