आन्तरिक पर्यटनको सेतु लाखेजात्रा र फुटबल


टंक श्रेष्ठ
मानव जीवनका लागि खेलकुद पनि उत्तिकै जरुरी हुन्छ । मानिसले समय, परिस्थिति र ठाउँअनुसारका खेल खेल्दै आए । ताप्लेजुङमा खेलिने पुराना खेलहरूमा गोटी, पाङ्ग्रा, छिरुवा, डण्डीबियो, गट्टा आदिलाई मानिन्छ । २००७ सालको क्रान्तिपछि ताप्लेजुङमा खेलकुदले पनि फड्को मार्न थालेको देखिन्छ ।

भलिबल, ब्याटमिन्टन, लाङ्लात्ती, क्यारेमबोर्ड जस्ता खेलहरू सात सालपछि खेल्न थालियो । यी खेलहरू ठ्याक्कै कहिलेदेखि खेल्न थालियो भन्ने मिति यादा गर्न सकिने अवस्था छैन । भलिबल खेल २००८÷०९ सालतिर प्रहरी कार्यालय परिसरमा खेल्न थालिएको भनाई छ । त्यतिबेलाका भलिबल खेलाडीहरूमा प्रहरीहरूका साथै स्थानीयमा भीमबहादुर श्रेष्ठ, पुर्णकुमार श्रेष्ठलगायतका थिए, अलि पछि सिद्धिमानहरूको पुस्ता अगाडि आयो । ठानाबाट सुरु भएको भलिबल खेल केही पछि तत्कालीन भानु स्कुल रहेको ठाउँ करवीर पाटी छेउमा पनि खेल्न थालियो ।

ब्याटमिन्टन भने आ.वा. अफिस बन्नु अगाडिसम्म प्रहरी कार्यालय परिसरमा मात्रै खेलिन्थ्यो । ताप्लेजुङमा क्यारमेबोर्ड खेल प्रवेश गराउने श्रेय पदमबहादुर शाक्यलाई जान्छ । उनले २०१२ सालमा क्यारमेबोर्ड लगेर हालको वीरेन्द्रचोकमा सर्वसाधारणलाई खेलाउने काम गरे । अलि पछि फुटबल खेल पनि खेल्न थालियो । फुटबल केही धनीमानीका छोराहरूले ल्याएका हुन्थे । त्यो करवीर पाटी अगाडि ईन्द्रनारायण डिट्ठाको बारीमा हिउँदमा खेलिन्थ्यो ।

ताप्लेजुङको खेलमा नयाँ आयाम र उचाई दिने काम भानु हाइ स्कुलका तत्कालीन हेडमास्टर गोरखप्यारा श्रेष्ठले गरे । उनले विद्यालय परिवारका साथै सेना, प्रहरी, कर्मचारी, अभिभावक र स्थानीयवासीसमेतलाई सामेल गरेर तीन दिने विद्यालय दिवस (२०२० चैत २९, ३० र २१ साल वैशाख १ गते) को आयोजना गरे । त्यसै अवसरमा विभिन्न कार्यक्रमका साथै वृहत खेलकुदको आयोजना गरियो । त्यो नै ताप्लेजुङमा भएको पहिलो प्रतियोगितात्मक खेल थियो । ठूलो खेलमैदान तयार भइनसकेकोले फुटबल चाहि हुन सकेन ।

गोरखप्यारा भानुमा हेडमास्टर हुने वित्तिकै भलिबल ग्राउण्ड तयार गरे । तोक्मेको फुटबल ग्राउण्ड उनैको सोच र अगुवाईको प्रतिफल हो । निकै ठूलो प्रयासपछि २०२१ सालको अन्त्यसम्ममा पोखरी पुर्ने काम सकियो र पहिलो चरणको मैदान सम्याउने काम भयो । २०२२ सालको स्कुल दिवशमा फुटबल, भलिबल, चेस, रिंग, लुँडो, क्वाइस रेस, दौड (दौड, बोरा दौड, तीनखुट्टे दौड), सियो–धालो दौड, कक्फाइट, पिलो फाइट, लङजम्प, हाइजम्प, ट्रिपलजम्प, प्याराजम्प, छेलो हान्ने, हाँडी फुटाउने जस्ता खेलहरू खेलाइएको थियो ।

ताप्लेजुङमा फुटबल खेलको सुरुवात
एन.डी. सर फुटबलको राम्रो खेलाडी तर तावेक्मेडाँडामा खेलमैदान तयार हुँदासम्म उहाँको उमेरले फुटबल खेलबाट बिदा लिने अवस्था थियो । एन डी सरको खेल कौशल ताप्लेजुङेले देख्ने अवसर खासै पाएन । गोरखप्यारा श्रेष्ठले फुटबल खेललाई प्राथमिकता दिदै फुटबल खेल सिकाउनका लागि सिक्किम निवासी (पछि नाङ्खोल्याङ) बालकृष्ण श्रेष्ठलाई खेल प्रशिक्षकमा नियुक्त गरे । ताप्लेजुङको पहिलो फुटबल प्रशिक्षक उनै बालकृष्ण श्रेष्ठ हुन् । मध्यम कदका बालकृष्ण श्रेष्ठ फुटबल राम्रो खेल्थे र राम्रो सिकाउथे ।

यता तोक्माडाँडामा गोरखप्यारा फुटबल खेलको विकासमा जुटिरहँदा उता सरस्वति हाइ स्कुल, हाङ्पाङका हेडमास्टर गणेश राईको नेतृत्वमा हाङपाङमा फुटबल खेल अगाडि बढ्दै थियो । गणेश राई र आठराई क्षेत्रमा फुटबल खेलको बारेमा बुझेका गोरखप्यारा श्रेष्ठले २०२२ सालको लाखेजात्रामा भानु स्कुल र हाङपाङ स्कुलबिच मैत्रीपूर्ण फुटबल खेलको लागि निम्तो दिए ।

२०२२ सालको लाखेजात्राको अवसरमा भएको त्यो खेल नै ताप्लेजुङमा भएको पहिलो फुटबल प्रतिस्पर्धा थियो । सरस्वति हाइस्कुल, हाङपाङको टीम क्याप्टेन गणेशबहादुर राई थिए भने भानुको टीम क्याप्टेन गोरखप्यारा श्रेष्ठ । गणेश राईको उत्कृष्ट खेलको कारण हाङपाङको टीम विजयी भएको थियो । तोक्माडाँडामा भएको पहिलो खेलको आकर्षण गणेश राई र भानु स्कुलका फुटबल कोच बालकृष्ण श्रेष्ठ बनेका थिए । गणेशबहादुर राई ज्यादै राम्रो फुटबल खेल्थे । उनलाई पुर्वको पेले पनि भनिन्थ्यो ।

२०२१ सालदेखि गोरखप्याराको अनुरोधमा ताप्लेजुङे नेवारहरूबाट लाखेनाच भानु स्कुलले लियो । लाखेनाच भानुले लिएपछि गोरखप्याराकै अगुवाईमा लाखेजात्रामा थप रौनक भर्न धानरोपाइँलाई परिस्कृत र उन्नत बनाउने काम भयो । धानरोपाइँलाई इलामे फ्लेवरमा परिस्कृत बनाउने काममा राधा पौडेल (शिक्षा निरीक्षक गणेश पौडेलको श्रीमती, भानुको शिक्षिका) र बालकृष्ण श्रेष्ठ (ताप्लेजुङ)को पनि महत्वपूर्ण भूमिका रह्यो ।

गोरखप्याराको ठूलो प्रयासपछि २०२२ सालको धानरोपाइँमा पहिलोपटक केटीहरू पनि सामेल भए । त्यस अगाडि केटाहरूले नै केटीको पहिरनमा रोपाइँमा सामेल हुँदै आएका थिए । लाखेजात्रामा रौनक भर्नकै लागि गोरखप्याराले फुटबल खेलको प्रवेश गराए ।

‘लाखेजात्रामा फुटबल खेललाई निरन्तरता दिनुपर्छ’ भन्दै गोरखप्याराले २०२३ सालको लाखेजात्रामा आठराई र ताप्लेजुङ बिच फुटबल खेलको आयोजना गराए । त्यसबेला आठराईको टीमबाट गणेश राई, कविन्द्र सेढाईं, तोम बिमली, गोविन्द सिटौला, वेनु चुडाल, भरत चुडाल, मदन आङबुहाङ, विष्णु आङबुहाङ, रनधोज आङबुहाङहरू खेलाडी थिए भने ताप्लेजुङको खेलाडीहरूमा मेहरमान नेयोङ, विष्णु मादेन, बालकृष्ण श्रेष्ठ (नाङ्खोल्याङ), गोरखप्यारा श्रेष्ठ, तेजकुमार येङदेन, नरेन्द्र गुरुङ, बालकृष्ण श्रेष्ठ, डेलमान गुरुङ, अम्बर पालुंवा, हरि मादेन, रत्न येङदेन, लालबहादुर तामाङहरू थिए । भालुबाँस गाडेर गोल पोष्ट बनाइएको थियो । २०२३ सालको लाखेजात्रामा भएको खेलमा गणेश राई त दर्शकको नजरमा थिए नै मेहरमान नेयोङ पनि राम्रा खेलाडीमा गनिएका थिए ।

गोरखप्यारा श्रेष्ठले ताप्लेजुङको फुटबल विकासमा सहयोग गर्न मेहरमान लगायतका वृटिश सेनामा काम गरिरहेका लाहुरेहरूसँग अनुरोध गरे । गोरखसरले लाखेजात्राका लागि लाहुरेहरूबाट सहयोग लिन गरेको प्रयास सफल भयो । लाखेजात्रामा खेलाइने फुटबल खेलमा सहयोग गर्न देउमान नेयोङ, मेहरमान नेयोङहरू अगाडि सरे । देउमानको नेतृत्वमा सेभेन जी.आर.का वृटिश गोर्खाहरूले सिल्ड, फुटबल, भलिबल, नेट लगायतका सामाग्रीहरू बेलायतमा खरिद भई २०२६ सालको असारतिर ताप्लेजुङ ल्याइयो ।

लाखेजात्राको फुटबल सिल्डको बारेमा तेजबहादुर श्रेष्ठ (१९९९) भन्नुहुन्छ, ‘लाखेजात्रामा भानु स्कुलले फुटबल खेलाउँथ्यो । हाम्रो सेभेन जीआरले क्याप्टेन देउमान नेयोङको नेतृत्वमा भानु स्कुलको लागि फुटबल खेलाउन शिल्ड दिने भयो । सेभेन जीआरका हामी सबैले त्यसमा सहयोग ग¥यौं । म त्यतिबेला बेलायतमा थिएँ । त्यो लाखेजात्राको फुटबलको लागि शिल्ड किन्ने काम बेलायतमा नै भयो । शिल्ड किनेपछि उठाएको रकम उभ्रिएपछि फुटबलहरू, भलिबलहरू र भलिबलको नेट पनि बेलायतमा नै किन्ने काम भयो ।

२०२६ सालमा छुट्टीमा आउँदा लालबहादुर सिवा र मेरो लगेजमा ती सामानहरू नेपाल ल्याइयो । धरानबाट मैले त्यो सामान ल्याएर भीमबहादुर श्रेष्ठ र श्यामा अग्रवाललाई बुझाएँ । लाखेपुर्णेको बेला ताप्लेजुङमा फुटबल खेल हुन्थ्यो । त्यही बेला मलाई भीमबहादुर दाइले ‘ए कान्छा ! पर्सी फुटबलको फाइनल खेल छ, त्यो दिन स्कुलमा बुहारीलाई पनि लिएर आउनु । तिमीहरूलाई सम्मान गर्ने कार्यक्रम छ’ भन्नुभयो । २०२६ सालको लाखेपुर्णेको दिन हामीले ल्याएको शिल्ड टेबलमा राखेर फुटबलको फाइनल खेल खेलाइएको थियो । खेल सकिएपछि म र मेरी श्रीमति कौशिला श्रेष्ठ (२०००–२०६३) लाई भीमबहादुर श्रेष्ठ र नन्दकुमार प्रसाईले फुलमाला पहि¥याएर सम्मान गर्नुभएको थियो ।’

यसरी २०२२ सालमा दुई स्कुलबीच मैत्रीपूर्ण फुटबल खेलबाट सुरु भई २०२३ सालदेखि प्रतिस्पर्धात्मक रूपमा सुरु भएको फुटबल खेलले २०२६ सालबाट शिल्ड बाजी राखेर खेल्न थालियो । जसले तीन वर्ष लगातार जित्छ, शिल्ड उसले सधैभरिको लागि लान पाउने गरी सुरु गरियो । (त्यो फुटबल खेल ‘भर्तीवाल कप’ भनियो ?) सुरुमा ताप्लेजुङ र आठराई बिच दुई टीमबाट सुरु भएको खेल पछि पाँचथर, इलाम, म्याङलुङ हुँदै धेरै बिस्तार हुँदै गयो । पहिला लाखेपुर्णेभन्दा तीन दिन अगाडिदेखि खेल सुरु गरी लाखेपुर्णेको दिन फाइनल खेल खेलाइन्थ्यो । तोक्मेको ग्राउण्ड वरिपरी खेल दर्शकले ढपक्कै ढाक्ने लाखेजात्राको त्यो खेलमा एन.डी सरको हुटिङ थप आकर्षण बन्ने गर्दथ्यो ।

ताप्लेजुङको लाखेजात्रा सबैभन्दा पुरानो जात्रा मात्रै थिएन, सबैभन्दा प्रिय, आकर्षक, रमाइलो र सबैभन्दा धेरै मानिस सहभागी हुने जात्रा पनि थियो । ताप्लेजुङको लाखेजात्रा लाखेनाँच, धाननाँच, फुटबल, धानरोपाइँको समष्टी रूप हो । अर्थात फुटबल खेल लाखेजात्राको अभिन्न अंगको रूपमा रहँदै आएको छ, त्यो फुटबल खेल बिचमा स्थगित भएर पुनः सुरु हुँदैछ । यो गौरवपूर्ण खेललाई अझै उचाईमा पु¥याउन लाखेजात्रा फुटबल समिति र ताप्लेजुङवासी सफल बनुन्, शुभकामना ।
tankasarokar@gmail.com

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics