हिउँ चितुवा तराईमा भेटियो, तर कारण भेटिएन
चिन्ता चितुवाको
- नेचर खबर
काठमाडौं - २३ जनवरी २०२४ दिउँसो मोरङको उर्लाबारी नगरपालिका १ स्थित बाँसघारीमा हिउँ चितुवा भेटियो । जुन क्षेत्र समुद्री सतहबाट १४६ मिटर उचाईमा पर्छ । स्थानीयले देखे र वनसहित प्रहरी अधिकारीलाई खबर गरे । करिब ४० किलो तौल भएको वयस्क भाले हिउँ चितुवा भेटिएपछि शसस्त्र वन सुरक्षा शाखा, प्रहरी, वन कार्यालय, कोशीठप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति कोषको संयुक्त प्रयासमा बेहोस बनाएर उद्धार भयो ।
उपचार र सुरक्षा सहजताका लागि हिउँ चितुवालाई ललितपुर स्थित सदर चिडियाखानामा ल्याएर चिकित्सकको निगरानीमा अनुसन्धान सुरु भएको सरकारी अधिकारी बताउँछन् । तर, उद्धार गरिएको छ दिन बितिसक्दा पनि ‘कसरी हिमालमा रमाउने हिउँ चितुवा मध्य तराईमा आइपुग्यो ?’ भन्ने प्रश्नको उत्तर एउटै छैन । विज्ञकै मत बाझीरहेको छ । सरकार विज्ञसहितको अध्ययन कार्यदल बनाएर अध्ययन/अनुसन्धान गर्ने तयारीमा छ । विज्ञ आफ्नै अध्ययन र अनुमानको भरमा तर्क पेस गरिरहेका छन् । आफै सिकार गरेर नेपालको दुईदेखि छ हजार मिटर उचाइमा पेट भर्ने हिउँ चितुवा चिडियाखानाका कर्मचारीले दिएको पानी र कुखुराको मासु खाएर एसीको चिसो (कृतिम मौसम)मा स्वास फेदै खोरमा थन्किएको छ ।
हिउँ चितुवा एक, अनुमान अनेक
आयुसिएनको संवेदनशिल वर्गमा पर्ने हिउँ चितुवा साइटिसको अनुसूची –१ मा र नेपालको संरक्षित सूचीमा पर्छ । आफ्नो संख्या निरन्तर ओरालो लागिरहेको समयमा प्रकृतिको अनेक मौसमको सामना गरिरहेको हिउँचितुवा नेपालकै हिमाली क्षेत्रमा प्रत्यक्ष देख्न मुस्किल नै छ । क्यामरा ट्याप र जीपीएस जडान गर्दै यसको अनुसन्धानमा सरकारले करोडौं लगानी गरिरहेको समयमा अचानक मध्य तराइमा नै यो भेटिएपछि विज्ञ नै अचम्ममा छन् ।
आफूहरूले गरेको अध्ययन र अनुसन्धान भन्दा फरक नतिजा देखेपछि उनीहरू नै विभाजित भए । ‘कहाँ जन्मिएर’, वयस्क हुँदा मोरङको बाँसघारीमा घाइते भेटिएपछि चिडियाखानाको कोठामा ल्याइएको हिउँ चितुवाले विज्ञहरूको विज्ञतामै प्रश्न उठाइरहेको छ । हिउँ चितुवा पाइने नेपालको मुख्य क्षेत्र ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा लामो समय अनुसन्धान गरेका एक वन्यजन्तु विज्ञ करण शाह त भन्छन्, ‘यसको वास्तविक उत्तर त हिउँ चितुवालाई नै थाहा होला । अनुमान नै गर्नै समस्या भयो । यस्तो घटना नेपालमा पहिले भएकै थिएन ।’
विज्ञ शाह यसलाई तस्करी गरेर कतै लैजाने क्रममा उम्किएको हुनसक्ने अनुमान गर्छन् । ‘यो अस्वभाविक घटना हो । यो आफै हिँडेर आउन सक्ने अवस्थामा म सहमत छैन । किनकी त्यो भौगोलिक अवस्थाका विषयमा म जानकार छु,’ उनले भने । मोरङमा हिउँ चितुवा आफै आउन ताप्लेजुङको उत्तरी क्षेत्रबाट हिड्नुपर्छ । यहाँबाट तराईमा आइपुग्न सम्भावना नै देख्दैनन् उनी । भन्छन्, ‘यो दुई हजार मिटर माथिमात्रै बस्छ । बाटो बिराएर तल झरे पनि ताप्लेजुङ सदरमुकाम क्षेत्रमा आइपुग्न पाँच दिन लाग्छ । त्यसपछि पनि पाँचथर, इलाम, तेह्रथुम वा धनकुटाका पहाडी जिल्ला र ठूला नदी, जंगल र गाउँ पार गर्नुपर्ने हुन्छ । अनि, कसरी यो प्राकृतिक रूपमा यहाँ पुग्ने सम्भावना रहन्छ ?’ यस अघि पनि नेपालको राजधानी काठमाडौं स्थित बागबजारमा चिन्पाञ्जि भेटिएकाले यस्ता जनावरको तस्करीको सम्भावना नेपालमा प्रवल रहेको उनी बताउँछन् ।
विज्ञ शाहका अनुसार हिउँ चितुवा दुई वर्षको उमेर सम्म आमासँगै बस्ने र त्यसपछि आफै आहारा खोज्न भौतारिन्छ । यसरी एक्लै हिँड्दा पनि यति तल सम्म आइपुग्ने सम्भावना नहुने ठोकुवा उनी गर्छन् । उनले यो घटना हुनुमा तस्करीपछि अर्को कारण पनि मुख्य रहेको बताए । यसलाई सानैदेखि पालेर राखेको र ठूलो भएपछि आफ्नो आक्रामक स्वभाव देखाउन थालेपछि छाडेको वा भागेको हुनसक्ने विज्ञ शाहको दोस्रो तर्क छ ।
तर्कलाई मजबुत बनाउन उनी भन्छन्, ‘वयस्क हिउँ चितुवाको पुच्छर लामो (आफ्नै शरीरको लम्बाई जति नै) हुन्छ । हिँड्दा पुच्छर भूइँमा घस्रिन्छ र टुप्पो अकाश तर्फ फर्कन्छ । तर, यसको पुच्छर छोटो छ । रौंको विकास पनि उमेर र तौल अनुसार भएको छैन । त्यसैले यसलाई पालेर हुर्काएको हुनसक्छ ।’ उनले अहिले पनि आफू हिउँ चितुवाको विषयमा गम्भिर अनुसन्धानमा रहेकाले पहिले आपूmले देखेको, पढेको र अनुभव गरे भन्दा फरक तस्बिर यो घटनामा देखिएको बताउँछन् ।
नेपालका एक प्राणीशास्त्री मधु क्षेत्री भने यो हिउँ चितुवा आमाबाट छुटिएपछि बाटो बिराएर पनि यहाँ सम्म आइपुगेको हुनसक्ने अनुमान गर्छन् । भन्छन्, ‘यसको दाँत हेर्न बाँकी छ । यो तौलको हिसाबमा र उमेरले वयस्क भए पनि त्यति धेरै परिपक्क जस्तो देखिँदैन । यो यहाँ आइपुग्न रातारात हिँडेको पनि हुनसक्छ । किनकी हिमालदेखि तराई सम्मको भर्टिकल डाइरेक्सन ५०–६० किलोमिटर मात्रै छ । मैले म्यापिङ गरेर पनि हेरेँ । यो एक रातमै सय किलोमिटर सम्म हिड्न सक्ने प्रजाती हो ।’
उनी प्राकृतिक रूपमा नै पनि हिउँ चितुवा यहाँ आउने सम्भावनालाई नकार्न नसकिने बताउँछन् । विश्वका वैज्ञानिक सँग पनि कुरा गर्दा यो सम्भावना रहने उनको दाबी छ । ‘पहिले आमासँग हिँडिरहेको हुन्छ । जब आमासँग छुटिन्छ नयाँ ठाउँ देख्ने क्यूरोसीटीमा यो भौतारिएर पनि तल, तल झरेको हुन सक्छ,’ उनी थप्छन्, ‘अहिलेको मौसम चिसो भएर पनि उसलाई तल झर्दा मौसमको ठूलो समस्या नभएको हुनसक्छ ।’ उनी आफ्नो तर्कलाई मजबुत बनाउन क्यानडामा हिउँ चितुवाको अनुसन्धान गर्दा एक हिउँ चितुवा निरन्तर नफर्की एक हजार किलोमिटर सम्म हिँडेको उदाहरण प्रस्तुत गर्छन् ।
अनुसन्धानमा गुमाएको एक प्रमाण
हिउँ चितुवा २३ जनवरीको दिउँसो जंगलमा भेटियो । सोही साँझ उद्धार गरी रातारात करिब ६ सय किलोमिटर गाडी यात्रा गराउँदै चिडियाखानामा ल्याइयो । उक्त समय सम्म केही खान पनि दिइएको थिएन । तर, हिउँचितुवाको दिसाको परीक्षण गरेर त्यो हिमालबाट सोझै तराई आइपुगेको, तराईमा नै सानैदेखि हुर्काएको वा तस्करी गरि ल्याइएको भन्ने विषयमा अनुसन्धान नगरेको पाइएको छ ।
प्राणीशास्त्री क्षेत्री हिउँ चितुवाको दिसा परीक्षण गरेर उसले खाएका कुराको आधारमा पनि यसको अनुसन्धान हुनसक्नेमा त्यो प्रमाग गुमाएकोमा चिन्ता व्यक्त गर्छन् । ‘अहिले चिडियाखानामा ल्याएर पानी र चिकेन खुवाएको छ । अझै पनि दिसा अनुसन्धान गर्दा केही प्रमाण त भेटिएला तर, त्यो सम्भावना अत्यन्तै कम हुन्छ । पहिले नै उसको दिसा संकलन गरेर अनुसन्धान हुनुपथ्यो,’ उनले भने । अब भने यसको अनुसन्धानमा कुनै कमी गर्न नहुने उनको सुझाव छ ।
जलवायु परिवर्तनको असर हो ?
पछिल्लो समय प्रकृतिमा देखिने बिचलन र परिवर्तनका हरेक घटनालाई जलवायु परिवर्तनको असर सँग जोडिएर हेर्ने गरिन्छ । उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा पनि तराईमा भेटिँदा केहीले यो घटनालाई जलवायु परिवर्तनको असर सँग जोडेर हेरिरहेका छन् । चिसो मौसममा अत्याधिक चिसो बढेपछि हिउँ चितुवा पनि तल्लो क्षेत्रमा त आएको होइन ? भन्ने केहीको प्रश्न र तर्क छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खराल पनि यो सम्भावनालाई नकार्न नहुने बताउँछन् ।
हिमालमा बस्ने हिउँ चितुवा गर्मीस्थान मोरङको उर्लाबारीमा भेटिनु भनेको जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावको पहिलो ‘इन्डिकेटर’ पनि हुनसक्ने सचिव डा. खरातको भनाई छ । उनले वासस्थानको हिसाबमा माथि जानुपर्नेमा हिउँ चितुवा हिमालबाट तराई झरेकाले अध्ययनको विषय बनाइनुपर्ने पनि बताए ।
यता विज्ञ मधु क्षेत्री र करण शाह भने जलवायु परिवर्तनको कारण हिउँ चितुवा तल्लो क्षेत्रमा आयो भन्ने तर्कको अर्थ नै हुन नसक्नेमा एक मत छन् । ‘जलवायु परिवर्तनको असर भनेको तापक्रम बृद्धि हो । यसले तातो स्थान रुचाउँदैन । जलवायु परिवर्तनको असरले त ऊ झनै माथि चढ्नु पर्ने हो । यो तर्क कुनै पनि हालतमा यो घटनामा सुहाउँदैन,’ विज्ञ क्षेत्रीले भने ।
विज्ञ शाह पनि क्षेत्रीकै तर्कमा सही थप्दै भन्छन्, ‘पछिल्लो समय जे लाई पनि जलवायु परिवर्तनको असर भनेर हेर्न थालिएको छ । यसो हुनु भनेको अध्ययनको कमि हो । किनकी हिउँ चितुवा चिसो हुँदा घाम ताप्न तराई झर्दैन । ऊ हिउँ खोज्दै हिमाल चढ्छ । त्यतै सिकार गर्छ । सिकार नभेटे केही तलको वस्ती सम्म झर्ने हो । जलवायु परिवर्तनको कारण भनेर यसको अनुसन्धान र अध्ययनलाई कमजोर नबनाऔं ।’
कार्यदल बनाएर अध्ययन गर्ने
नेपालमा अप्ठ्यारो अवस्थामा पुगेका वन्यजन्तुलाई विभिन्न समयमा उद्धार गरेर चिडियाखानामा ल्याउने र उपचारको साथ रेखदेख गर्ने क्रम चलिरहन्छ । तर, यो घटना अप्राकृतिक देखिएकाले सरकारले पनि यसलाई गम्भिर रूपमा लिनु पर्ने अवस्था आएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारी बताउँछन् । उनले तराईमा हिउँ चितुवा भेटिएपछि अनेक प्रश्न उब्जिएकाले विज्ञसँगको अन्तरक्रिया र अनुन्धानले एउटा निचोडमा पुग्नुपर्ने बताए ।
यता वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले यो गम्भिर विषय भएको बताउँदै सरकारले चाँडै विज्ञसहितको अध्ययन कार्यदल बनाएर अध्ययन÷अनुसन्धान गर्ने बताए । भने, ‘जलवायु परिवर्तनको असर, तस्करको संलग्नता, आफै भौतारीएको वा पालेको भन्ने विभिन्न कुरा आएका छन् । यी सबै अध्ययनका विषय हुन् । सरकारले अब कार्यदल नै बनाएर अनुसन्धान गर्नेछ ।’ उनले यो घटनालाई सामान्य विषयमा नलिन पनि सबैसँग अनुरोध गरे । अहिले पनि प्रहरी, वन कर्मचारी र सरकारी अधिकारीले विभिन्न कोणमा अध्ययन गरिरहेको उनले बताए ।
पहिले अनुसन्धान र उपचार, अनि व्यवस्थापनको कुरा
हिउँ चितुवालाई गुड्ने पिँजडामा हालेर सदर चिडियाखाना जावलाखेलको एउटा कोठामा राखिएको छ । समय–समयमा चिसो एसी खोलिन्छ । हिउँमा बस्ने प्रजाती भएकाले चिसो वातावरण बनाउने प्रयासमा कर्मचारी दैनिक लागिरहन्छन् । पछाडीको देब्रे खुट्टामा चोट लागेकाले हिउँ चितुवालाई क्वारेन्टाइनमा राखेर उपचार सँगै उसको आनी–बानीको निगरानी गरिरहेका छन् विज्ञ र चिडियाखानाका कर्मचारी । अझै पनि यो पालिएको हो वा प्राकृतिक रूपमा हुर्किएको हो भन्ने पुष्टि भएको छैन । त्यसैले यसलाई कहाँ राख्ने दोधारमा सरकार र सम्बन्धित अधिकारी छन् ।
यसको खुट्टामा चोट लाग्नुको कारण भने स्थानीयले देखेपछि ढुंगा हानेको वा आफै भाग्ने क्रममा कतै लडेको हुनसक्ने सरकारी अधिकारी बताउँछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगाना पहिले यसको उपचार र वास्तविक अवस्थाका विषयमा थाहा पाएपछि मात्रै व्यवस्थापनको कुरा अघि बढाउने बताउँछन् । भन्छन्, ‘यो पालेर हुर्काएको हो भने हिमालमा छाड्नु पनि हुँदैन । यो प्राकृतिक रूपमा नै हुर्केको हो भने उपचार पछि कहाँ छाड्ने सोच्नुपर्ने हुन्छ । पहिले अनुसन्धानलाई नै प्राथमिकता दिनुपर्छ ।’
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारी चिडियाखानामा रेडपाण्डासहितका अन्य जीव पनि राखिएकाले अन्य केही विकल्प नभए चिडियाखानामा नै उसलाई आवश्यक मौसमको व्यवस्था गर्दै राख्न सकिने बताउँछन् । ‘हाम्रो पहिलो प्राथमिकता ऊ प्राकृतिक रूपमा हुर्किएको भए प्राकृतिक वासस्थानमा नै छाड्ने हो । यदी त्यसलाई पालेर हुर्काएको भए सबै प्रकृया पुरा गरेर चिडियाखानामा पनि राख्न सकिने सम्भावना छ,’ उनले भने । सचिव अधिकारीले वन्यजन्तुको अधिकारका विषयमा कोष सँधै गम्भिर रहेको पनि बताए ।
नेपालमा कति छ हिउँ चितुवा ?
दुर्लभ हिउँ चितुवा नेपालको हिमाली क्षेत्रमा रहेका १२ वटा संरक्षित क्षेत्रमा पाइन्छन् । यी क्षेत्रका करिब १२ हजार ८१५ किलोमिटर क्षेत्र यिनिहरूको वासस्थान हो । यी क्षेत्रमा ३ सय एक देखि ४ सयको हाराहारीमा हिउँ चितुवा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालमा हिउँ चितुवा पूर्वको कञ्चनजंघाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म पाइन्छ । यो क्षेत्रमा बस्ने हिउँ चितुवा चीन र भारतको क्षेत्र सम्म पनि बेला मौका पुग्ने विज्ञ बताउँछन् । नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य शृंखलाको उच्च तहमा रहेको प्रजाति हो ।
विश्वमा पाँच सय मिटरदेखि पाँच हजार आठ सय मिटरको उचाइमा र नेपालमा हिउँ चितुवा दुई हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा पाइएको छ । विश्वमा यसको अनुमानित संख्या तीन हजार नौ २१ देखि छ हजार दुई ९० छ ।
हालसम्म के के भए ?
तराईमा पहिलोपटक वयस्क हिउँ चितुवा भेटिएपछि विज्ञकै तर्क बाझ्यो ।
उद्धार गरिएको पाँच दिन सम्ममा पनि कारण खोज्नमै भोतारीए सरकारी अधिकारी ।
जलवायु परिवर्तनको असर, आफै भौतारिएर हिँडेको, तस्करी गरिएको वा पालेर छाडेको विषय बहसमा ।
घाइते अवस्थामा रहेकाले चिडियाखानामा राखेर उपचार गरिँदै ।
सरकार कार्यदल बनाएर अनुसन्धान गर्ने तयारीमा ।
प्रतिक्रिया दिनुहोस