१३००० वर्ष उमेरको बालुवाका ढिस्को फेला परेपछि…

काठमाडौं – पृथ्वीको सबैभन्दा ठूलो बालुवाको ढिस्कोको उमेर वैज्ञानिकहरूले पत्ता लगाएका छन् । मोरोक्कोमा रहेको लाला लालिया नामको बालुवाको ढिस्को १३ हजार वर्ष पहिले बनेको उनीहरूले पत्ता लगाएका हुन् ।


विशेष खालका आकार भएका कारण यिनीहरूलाई अंग्रेजीमा स्टार ड्यून्स अथवा पिरामिड ड्यून्स नाम दिइएको छ । बालुवाका यी विशेष ढिस्काहरू सयौँ मिटर अग्ला पनि हुन्छन् । यस्ता ढिस्काहरू अफ्रिका, एसिया र उत्तर अमेरिकासहित मंगल ग्रहसम्म भेटिएका छन् । तर, विज्ञहरूले अहिलेसम्म ती ढिस्काहरू कहिले बनेका थिए भनेर पत्ता लगाउन सकेका थिएनन् ।


स्टार ड्यून्स विपरीत तर्फबाट आएको हावाका कारण बन्ने गर्छन् । बालुवाको ढिस्कोको उमेरले वैज्ञानिकलाई ती हावाबारे बुझ्न पनि मद्दत गर्छ जसले त्यो समयको जलवायुबारे बुझ्न सहयोग गर्ने युनिभर्सिटी अफ अबरिस्टविथका प्राध्यापक जियोफ ड्यूलरले बताए । उनले बर्कबेक युनिभर्सिटीस्थित प्राध्यापक चार्ल्स ब्रिस्टोसँग मिलेर आफ्नो अनुसन्धान प्रकाशित गरेका छन् ।



लाला लालिया (रैथाने अमेजिया नाम जसको अर्थ पवित्र उच्च विन्दु हुन्छ) दक्षिण–पूर्वी मोरोक्कोस्थित एर्ग चेबी स्यान्ड सीमा अवस्थित छ । यो एक सय मिटर अग्लो र ७०० मिटर चौडा फैलिएको छ । सुरुमा बनेपछि यो करिब ८००० वर्षसम्म वृद्धि हुन छोडेको थियो । त्यसपछिका पछिल्ला केही हजार वर्षहरूमा भने तीव्र रूपमा यसको आकार वृद्धि भएको छ ।


सामान्यतः मरुभूमिहरूको पहिचान पृथ्वीको भौगर्भिक इतिहासमा गर्न सकिन्छ । प्रोफेशर ड्यूलर भन्छन्, ‘शायद यी ढिस्काहरू निकै ठूला हुने भएकाले विज्ञहरूले एउटा विशेष खालको ढिस्कोबारे अवलोकन गरिरहेका छन् भन्ने महसुस नै गरेका थिएनन् । यी अध्ययन परिणामले सम्भवतः धेरै मानिसलाई चकित पार्न सक्छ किनभने यी ढिस्काहरू कति छिट्टै बने भन्ने कुरा हामी देख्न सक्छौँ । यो मरुभूमिभरि प्रतिवर्ष करिब ५० सेन्टिमिटरले बढिहेको छ ।’



‘ढिस्को चढ्दा दुई कदम उकालो चढ्दा एक कदम पछाडि चिप्लिइन्छ । तर तपाईँलाई थकथकी हुँदैन किनभने सबभन्दा माथि टुप्पोबाट देखिने दृश्य निकै मोहक हुन्छ,’

वैज्ञानिकहरूले स्टार ड्यूनको उमेर पत्ता लगाउन लुमनेसेन्स प्रविधिको प्रयोग गरेका थिए । यो विधिले बालुवाको कणमा पछिल्लो पटक कहिले दिनको उज्यालो परेको थियो भन्ने गणना गर्छ । मोरोक्कोबाट अँध्यारोमा लिइएका बालुवाको नमुनाहरूलाई लिएर प्रयोगशालामा पुरानो शैलीको फोटोग्राफी कार्यशालामा जस्तै धमिलो रातो प्रकाशमा त्यसको विश्लेषण गरिएको थियो ।


प्राध्यापक ड्यूलरले बालुवाको कणमा भएका खनिज तत्वहरूलाई ‘साना रिचार्ज गर्न मिल्ने ब्याट्रीजस्तै’ भनेर व्याख्या गर्छन् । त्यस्ता तत्वहरूले प्राकृतिक वातावरणमा भएको रेडियोएक्टिभिटीबाट आएको ऊर्जालाई बालुवाको कणमा सञ्चित गर्छन् । बालुवा जति धेरै जमिनमुनि रहन्छ त्यति नै धेरै रेडियोएक्टिभिटी देखा पर्छ र धेरै ऊर्जा उसले विकसित गर्छ ।


जब कणहरू प्रयोगशालामा लगियो ती कणहरूले ऊर्जा निष्कासन गरे र त्यसबाट वैज्ञानिकहरूले त्यसको उमेर गणना गर्न सके । ‘हाम्रा अँध्यारा प्रयोगशालामा प्रयोग गर्दा ती बालुवाका कणबाट प्रकाशका रूपमा ऊर्जा निष्कासन गरे र त्यसकै आधारमा वैज्ञानिकहरूले उमेर गणना गर्न सके,’ प्राध्यापक ड्यूलरले भने ।



जति बढी उज्यालो हुन्थ्यो त्यति नै बढी ती बालुवाका कणको उमेर हुन्थ्यो र त्यति बढी ती कणहरू पुरिएको अवस्थामा थिए भन्ने थाहा हुन्थ्यो । बालुवाका यी ठूला ढिस्काहरूमध्ये उत्तर अमेरिकाको कोलोराडोस्थित ढिस्को एक हो जसको फेददेखिको उचाइ २२५ मिटर मापन गरिएको छ । यी ढिस्काहरू चढ्ने काम निकै कठिन हुने प्राध्यापक ड्यूलर बताउँछन् । ‘ढिस्को चढ्दा दुई कदम उकालो चढ्दा एक कदम पछाडि चिप्लिइन्छ । तर तपाईँलाई थकथकी हुँदैन किनभने सबभन्दा माथि टुप्पोबाट देखिने दृश्य निकै मोहक हुन्छ,’ उनले भने । – बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics