लेडिज छाता (कथा)
विगत दुईदिनदेखि निरन्तर परेको पानि । काठमाडौंको अस्तव्यस्त सडक । पानि परेको बेलामा हुने अत्याधिक सवारीको चापले निश्चित समयमा निश्चित ठाउँमा पुग्न कठिन थियो । त्यसैमाथि ढल निर्माण गर्ने र बाटो विस्तार गर्ने वाहानामा भत्काइएका सडक, पानि पर्नासाथ हिलो भइहाल्ने ।
विहान १० बजे हतार हतार अफिसको लागि निस्किएको थिएँ । पानि परेकै भएपनि उहि भिडभाड, कोचाकोच, हतार–हतार सहित एउटा बस मेरो अगाडि आयो । खलासिको चर्को आवाज तिनकुने, नयाँबानेश्वर यता खाली यता खाली उसको चिच्याहट सुन्दै गाडिमा बसेँ । पानि पर्न रोकएपनि मौसम खुलेको थिएन ।
एकैछिनमा वर्षा हुन थाल्यो । ओर्लने बेलामा याद आयो– पानि नपरेको समयमा घरबाट निस्केको थिएँ, छाता त ब्यागमा हाल्नै पो बिर्सेछु ।
गाडिबाट झरेँ...। अलि अलि पानिमा भिज्दै अफिस पुगेँ । पुगेपछि बल्ल थाहा भयो हिजोको अधुरो काम पुरा गर्नु थियो । बाहिर पानि झन् झन् दर्किरहेको थियो । मलाई फेरी चोकसम्म जानुपर्ने थियो । पानि परिरहेको छ, अब कसरी जाने । यतै कतै एकैछिनलाई छाता मागेर जाउँ एक मनले सोचेँ तर को सँग माग्नु । तल्लो फ्ल्याटमा रहेको अफिसको दिदि आउनुभएको रहेछ । उहाँसँगै छाता मागेर जाने निर्णय गरेँ ।
‘दिदि’ मैले दिदिलाई बोलाउँदै भनेँ, ‘हजुरसँग छाता भए मलाई एकैछिनको लागि दिनुस् न ।’
दिदिले हास्दै भन्नुभयो, ‘मेरो छाता अलि बिग्रेको छ है ! यसलाई बन्द नगरी जानु ।
‘हस्’ भन्दै छाता पाएपछि म दौडिहालेँ ।
बटोमा हिड्दै गर्दा छातालाई आफ्नो शरीरबाट अलग्गै राखेँ । पानि मज्जाले परिरहेको रहेछ । एकपटक छातालाई पनि नियालेँ अलि रातो रंगमा थियो । अरु कसैले हेरिहाले भने मेरै छातामा हेरेको हो कि जस्तो लाग्थ्यो । फेरी छाता ओढेँ, अनि हिडेँ ।
अलि पर पुगेपछि कलेज जादैँ गरेका ३ युवति एउटै छातामुनि छाता तानातान गर्दै हिँडिरहेका थिए । मेरो हिडाईको गति उनिहरुको भन्दा केहि तीव्र भएकाले मैले उनिहरुलाई एकै छिनमा भेटिहालेँ ।
म आफ्नै गतिमा हिँड्दै थिएँ, एउटिको मुखबाट आवाज सुनेँ, ‘लेडिज छाता’...! अरु दुईओटि केटीले एकैचोटि मलाई हेरे। मैले पछाडि फर्केर हेरेँ ।
तिमी पनि ओड्ने हो लेडिज छाता ? मेरो प्रश्नले उनिहरुको हिँडाई रोकियो ।
वास्तवमा तीन जनाले एउटै छाता ओड्नुपर्दा विचमा बस्ने बाहेक अरु दुईजनाको शरीर आधा आधा भिजिसकेको थियो । मेरो प्रश्न सुनेपछि छेउमै रहेकि उसको अर्को साथिले भनि ‘जा न लेडिज छाता ओड्न’ । दुबैजना हाँसे । उ केहि नबोली मेरो छातामुनि ओत लाग्न आई ।
नजिकैबाट एउटा स्कुटि गयो अलि गहिरो ठाउँ भएकोले पानि जमेको थियो स्कुटिको टायरले छ्यापेको पानिले मेरो जुत्ता र पाइन्टको अलिकति छेउ भिज्यो । खुट्टा उचाल्दै म अलि छेउमा गएँ । उ मज्जाले हाँसि । म के गरुँ असमञ्जमा परेँ ।
मेरो हिँडाई अलि छिटो भएकाले होला उसको दईवटै साथि अलि परै छुटेछन् ।
सन्ध्या...! अलि परबाट आवाज सुनियो । उसको नाम सन्ध्या रहेछ । मैले पनि ‘सन्ध्या’ भनेर बोलाएँ । उसले क्रोधमिश्रित नजरले मलाई हेरी । मैले उसलाई हाँसेरै हेरिरहेँ ।
तिम्रो कलेज कति टाढा छ ? मैले उसलाई सोधेँ ।
यहिँ हो, अलिकति पर ।
अनि तिमी पनि कलेज हिँडेको हो ? उसले तिमी भन्ने सम्बोधन गरेपछि मैले उसलाई हेरिरहेँ ।
के हेरेको ? थर्काउने शैलीमा उसले मलाई सोधि ।
होइन । मैले भनेँ ।
के होइन ?
कलेज हिँडेको होइन । मैले मधुरो स्वरमा जवाफ फर्काएँ ।
भुईँतिर फर्केर उसले मन्द मुस्कान छोडि । म आफ्नै गतिमा अघि बढीरहेँ ।
कति छिटो हिँडेको तिमी... विस्तारै गए हुँदैन ? उसले भनी ।
मलाई अलि हतार छ ।
तिमी गर्लफ्रेण्डको छाता पुर्याउन हिडेको हो ?
उसको यो प्रश्न सुनेर म हाँसे... ।
उसले फेरी भनी यतै नजिकै हो भने तिमी जाउ है ! फेरी तिम्रो गर्लफ्रेण्डले देखि भने रिसाउली, यदि त्यस्तो हैन भने चाहिँ मलाई कलेजको गेटसम्म छोडिदेउ ल !
उसको कुराले मलाई अप्ठेरो पारिदियो । उसको आग्रहलाई स्वीकार गरौं वा नगरौं ? के गर्ने के नगर्ने ? हुन्छ भन्नु कि हुँदैन ? चुपचाप बसेँ । सडकको एक छेउमा जमेको पानिमा उसले खुट्टा टेकि पानि उछिट्टीएर मेरो भिज्न बाँकि भएको जुत्ता पुरै भिज्यो ।
उसले मलाई हेरिरहि । म उभिएँ ।
किन उभिएको ? छिटो हिँड... उसले फेरी थर्काउने शैलीमा भनी ।
तिम्रो साथिहरुलाई पखिनु पर्दैन ? मैले पछाडि फर्केर हेरेँ। हाम्रो हिँडाई निकै छिटो भएछ क्यारे उनिहरु अलि परै रहेछन् ।
रिसाउँदै उसले भनि उनिहरुले कलेज देखेका छैनन् र ? आईहाल्छन् नि !
उसको उत्तरले म अचम्ममा परेँ ।
उ रिसाउँदै बोली ‘म भिज्न लागिसकेँ छिटो हिँड न ।’ अब त उसले छाता पनि आफुले नै समातेर हिड्न थाली । म के गर्नु, उसको पछि पछि लागेँ ।
तिम्रो कलेज आएन ? मैले सोधेँ ।
किन ? तिमीलाई मसँग हिड्न मन लागेन ?
उसलाई के जवाफ दिउँ । म मौन बसेँ ।
मेरो गन्तब्य नजिकिँदै थियो । उसको कलेज कति टाढा होला ? म यहि सोच्दै थिएँ ।
उ उभिई । तिमी कहाँसम्म जाने ? उसले मलाई सोधि ।
मैले भनेँ, यहिँसम्म ।
मेरो कलेज आयो । उसले आफ्नो कलेज देखाइ । अब तिमी कता जाने ?
अझै अगाडी । मैले औँलाको इशाराले अगाडी देखाएँ ।
जाउ न त ! किन उभिएको ?
छाता उसको हातमा थियो । पानि एकनाशले परिरहेको थियो । म फेरी तत्काल फर्किनुपर्ने । फेरी छाता पनि आफ्नो थिएन । आएर दिदिलाई के उत्तर दिनु । छाता उसैलाई छोडिदिउँ भने आफु भिज्ने डर पनि थियो । उसले मलाई जानका लागी विदा दिईसकेको थिई ।
बाई ! मैले छाताबाट शरीरलाई बाहिर निकाल्दै हात हल्लाएँ । उसले मेरो अनुहार नियालिरहेकि थिई । म पछाडि फर्केर हिड्नै लाग्दा उसले भनि । भिज्छौ, ‘तिमी’ ! लाउ लिएर जाउ तिम्रो ‘लेडिज छाता’ !
मैले हाँस्दै छाता समाएँ । एकैछिन मलाई हेर्दै उसले हात हल्लाईरहि ।
प्रतिक्रिया दिनुहोस