बनमारा, शंखेकिरा पनि राष्ट्रिय सुरक्षाका चुनौती ! कसरी ?
मिचाहाको घेराबन्दीमा पारिस्थितिक प्रणाली, वासस्थान र जीविकोपार्जन
- सुबोध गौतम
राष्ट्रिय सुरक्षाका चुनौतीहरू भन्ने बित्तिकै हामी के हामी बुझ्छौ ? सामान्य नागरिकले यस्ता चुनौतीहरू अनुमान गर्दै जाँदा उसको मानसपटलमा झट्ट आउने भनेको सीमा सुरक्षा, सीमाका मुद्दाहरू: जातीय द्धन्द, राजनीतिक अस्थिरता, स्वायत्तताका मागहरू, कमजोर कानुनी शासन व्यवस्था नै हो, होइन र ?
अलि परिपक्व नागरिक अझ बढी घोत्लियो भने उसले माथि उल्लेखित बाहेक आर्थिक–सामाजिक खतराका रूपमा रहेको गरिबी र असमानता, बेरोजगारी र बसाई सराई, वातावरणीय चुनौतीका रूपमा रहेको जलवायु परिवर्तन, त्यसबाट सिर्जित प्रकोपहरू, खाद्य असुरक्षा, जलस्रोत निर्भरतालगायतलाई पनि राष्ट्रिय सुरक्षाका चु नौतीका रूपमा हेर्छ । यो स्वाभाविक पनि हो, नेपालका राष्ट्रिय सुरक्षा यतिमा मात्र सीमित पनि छैन।
कतिपय सुरक्षाका चुनौतीहरू छरपस्ट देखिएका हुन्छन् । र, तीनले हरेक नागरिकको दैनिकमा कतै न कतैबाट प्रभाव पारिरहेकै हुन्छन् । त्यसले पनि सर्वसाधारणलाई यसबारे धेरै ज्ञान पनि हुन्छ । तर देश भित्र कतिपय यस्ता चुनौतीहरू बिस्तारै जरा गाडिरहेका छन् जुन सामान्य नागरिक वा सर्वसाधारणले सामान्य रूपमा देखेको छ । तर त्यसले देशकै सुरक्षा चुनौती थपेको छ भन्ने उसले भेउ पनि पाउँदैन ।
हो, मिचाहा प्रजातिका वनस्पति र जन्तुले बिस्तारै राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा देश भर फैलिरहेका छन् । यस्ता वनस्पति र जन्तुले हिमाल, पहाड, भित्री पहाड र तराई–मधेसका फाँटहरू छोप्दै गएका छन् । यस्ता वनस्पति र जन्तु देश भित्रै छिर्न नदिई यसको फैलावट नियन्त्रण गर्ने काम समयमै हुन नसक्दा यसले देशकै राष्ट्रिय सुरक्षा चुनौती थपिरहेको तर्क गर्न थालिएका छन् । मिचाहा वनस्पति र जन्तुलाई सुरक्षा चुनौतीका रूपमा व्याख्या गर्न थालिएको छ ।
‘मिचाहा प्रजातिका झारपात र जीवहरू देशका अन्य राष्ट्रिय सुरक्षा चुनौती भन्दा कम छैनन्’, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसी भन्छन्, ‘यीनले देशका जल, जमिन र आकाश ढाक्दै गएका छन् ।’
उनका अनुसार यस्ता वस्तुले नेपालको स्वच्छ पानी, यहाँको पारिस्थितिकीय प्रणालीहरू र अकासलाई समेत प्रदूषित गरिरहेका छन् र ध्वस्त पारिरहेका छन् । यति मात्र होइन, यस्ता झारपात र जीवले मानव र पशुको स्वास्थ्य, खाद्य उत्पादकत्वमा समेत प्रभाव पारिरहेका छन् ।
काँडे बनमारा
‘त्यसैले देशका सबै निकाय यो विषयलाई संवेदनशील रूपमा लिनुपर्छ’, डा. केसी भन्छन् । उनका अनुसार वन क्षेत्रको ८० देखि एक सय प्रतिशतमा बनमारा फैलिएको छ । यसले डढेलोको जोखिम पनि त्यत्तिकै बढाएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान अन्तर्गतको लाइफ साइन्सेस् सवकमिटीले सञ्चारकर्मीहरूका लागि आयोजना गरेको ‘कम्युनिकेटिङ बायोलोजिकल इनभ्यासन्स् टु कम्यूनिटिज्’ गोष्ठीमा डा. केसीले देशको सबै क्षेत्रलाई प्रभावित पार्दै गएका यस्ता वनस्पति र जन्तु राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा देखा परेको टिप्पणी गरेका थिए । र, उनले यो समस्यासँग लड्न आफ्नो विभागले मिचाहा प्रजाती रणनीति तयार गरेर वन तथा वातावरण मन्त्रालयमा बुझाएको जानकारी दिएका थिए ।
मिचाहा प्रजाति विज्ञ त्रिभुवन विश्वविद्यालय वनस्पति विभागका प्राध्यापक डा. भरतबाबु श्रेष्ठका अनुसार नेपालमा काँडे झार, लहरे बनमारा, सेतो बनमारा, जलकुम्भी, कालो बनमारा, जलकुम्भी, पाती झार, वन सिलाम, निलो गन्धे, पानी बन्दालगायतका ३० प्रजातिका मिचाहा प्रजातिले देशभर आफ्नो साम्राज्य खडा गरिसकेका छन् । यसैगरी जन्तुहरूमा ठूलो शंखेकिरा, तिलापिया जातको माछा, अमेरिकी फौजी किरा, टुटालगायतका २० प्रजातिका छन् । यीनले देशका विभिन्न नदी, पोखरी तथा कृषि प्रणाली बिथोलिसकेका छन् ।
उनका अनुसार यी प्रजाति देशका सबै प्रकारका वन, संरक्षित क्षेत्र, जमिन, पानीका स्रोतहरू र ताल तलैयाहरूमा कुनै न कुनै किसिमले फैलिएका छन् । ‘फैलिएको मात्र होइन, यीनले हाम्रा रैथाने प्राकृतिक स्रोत तथा जैविक विविधतामा जरा गाडी सकेका छन् । त्यसलाई तहसनहस बनाउँदै छन् । त्यसैले यस्ता मिचाहा प्रजाति देशकै सुरक्षा चुनौती बनेका छन्’, उनी भन्छन्, ‘कतिपय प्रजाति हामी आफैले नजानेर बगैँचामा लगाउन विदेशबाट लिएर आयौँ । त्यहीबाट फैलियो । कतिपय एक्वारियमबाट फैलियो । कतिपय हावाबाट आए । कतिपय सवारी साधनको पाङ्ग्रामा टाँसिएर बाहिरबाट आयो र त्यही माध्यमबाट देशभित्र पनि फैलियो । विकास निर्माणमा प्रयोग भइरहेका सवारी साधनबाट पनि फैलिए ।’
उनका अनुसार यस्ता प्रजातिका सकारात्मक प्रभाव भन्दा नकारात्मक प्रभाव बढी हुन्छन् । यीनका कारण रैथाने र प्रकृतिमैत्री वनस्पति र जीवहरू विस्थापित हुँदै गएका छन् । पानीका स्रोतहरू सुकेका छन् जसले उर्वरायुक्त माटोमा प्रभाव पारिरहेको छ । खाद्य उत्पादन घटेर खाद्य सुरक्षा चुनौती थपेको छ । पशु र मानव स्वास्थ्यमा पनि असर गरिरहेको छ । हरेक क्षेत्रमा यसले सुरक्षा चुनौती थपेको छ ।
तिलपिया माछा
‘संसारका १ सय २४ देशमा गरिएको एउटा अध्ययनले मिचाहा प्रजातिको जोखिममा नेपाल विश्वमै तेस्रो स्थानमा छ’, डा. श्रेष्ठ भन्छन्, ‘मिचाहा प्रजातिको चुनौती अनुसार हामीले त्यसको सामना गर्ने तयारी गर्न सकेका छैनौँ । अझ पछिल्लो समय जलवायु परिवर्तनजन्य प्रकोपले यस्ता प्रजाति फैलिने क्रम झनै बढ्दै गएको छ ।’
मिचाहा वनस्पतिको अध्ययनका तुलनामा मिचाहा जन्तुको अध्ययन नभएको बताए । ‘अझ सबैभन्दा ठुलो ग्याप त मिचाहाले निम्त्याएको वित्तीय घाटा (कृषि उत्पादन, वन संरक्षण, वन्यजन्तु व्यवस्थापन र पानीका स्रोत संरक्षण र सदुपयोगमा) र यसको व्यवस्थापनमा भइरहेको खर्चको हिसाबकिताबमा छ । अहिलेसम्म मिचाहा प्रजातिले गर्दा ठ्याक्कै देशलाई यति रुपैयाँ नोक्सान भइरहेको छ भन्न सक्दैनौँ’, डा. श्रेष्ठले भने ।
मिचाहा प्रजातिले गर्दा सन् २०१९ मा करिब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको तथ्याङ्क उनले प्रस्तुत गरे । डा. श्रेष्ठका अनुसार यसको गर्ने वित्तीय क्षति हरेक एक दशकमा तीन गुणाले बढिरहेको समेत अध्ययनले देखाएका छन् ।
जलकुम्भी झार
उनका अनुसार यस्ता प्रजाति नेपालमा भित्रिन नदिन नेपालका सीमामा राखिएका क्वारेनटाइन कार्यालयहरूमा जनशक्ति र प्रविधि अभाव छ जसले गर्दा प्रभावकारी रूपमा काम भएको छैन । ती कार्यालय असफल जस्तै छन् । नीति निर्माताहरू यो समस्यालाई नजरअन्दाज गर्छन् । र, उनीहरू यस मुद्दामा स्पष्ट पनि छैनन् ।
मिचाहा प्रजातिले सिर्जना गरेको चुनौती सामना गर्ने सबैभन्दा उत्तम विकल्प भनेको त्यस्ता प्रजातिको नेपाल प्रवेशमा रोक लगाउने नै, हो । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रकी उपसचिव सुनिता उलक भन्छिन्, ‘सबैभन्दा उत्तम विकल्प रोकथाम हो । यसलाई देश भित्र आउनै नदिने हो ।’
तर प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका सिनियर प्लान्ट प्रोटेक्सन अफिसर प्रकाश पौडेलले मिचाहा प्रजाति रोक्ने काम चुनौतीपूर्ण रहेको बताउँछन् । उनी भन्छन्, ‘कुन वस्तुसँग कुन मिचाहा प्रजाति हुन्छ र त्यो कसरी नेपाल आउन सक्छ भन्ने थाहा भयो भने मात्र सीमामा हेर्न सक्छौ ।’ पौडेलले जैविक सुरक्षा चुनौती बढिरहेका बेला जनशक्ति अभावका कारण मिचाहा प्रजाति प्रवेशमा कडाइ गर्न वा यसलाई रोक्न अप्ठेरो परिरहेको तर्क गर्छन् ।
त्यसो त यस्ता प्रजाति नेपाल छिर्न नदिने उद्देश्यले पौडेल कार्यरत कार्यालयले यस्ता प्रजाति नियमन र नियन्त्रणसम्बन्धी निर्देशिका जारी गरिसकेको छ । सरोकारवाला, संस्था, व्यक्ति वा साधारण नागरिक जो सुकैले पनि निर्देशिकामा उल्लेख फाराम भरेर कार्यालयमा पठाएमा त्यस्ता वस्तुको आयातमा कडाइ गर्न सकिने उनी बताउँछन् ।
पौडेलकाअनुसार क्वारेनटाइन कार्यालयले अहिलेसम्म ४ सय ९० वटा मिचाहा प्रजाति रोकेको छ । यद्यपि यस कार्यालयले सीमा क्षेत्रमा कृषि, वनलगायत विभिन्न क्षेत्रका करिब ११ हजार वस्तुहरू नियमन गर्दै आएको छ । यीमध्ये वन र कृषिसँग जोडिएका १ हजार ५ सय १६ किसिमका वस्तुहरू नियमन भइरहेको छ ।
यसैबीच राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव तथा अनुसन्धानकर्ता डा. नरेश सुवेदीले मिचाहा प्रजातिले दुर्लभ वन्यजन्तुहरूको वासस्थान समेत नाश गरिरहेको बताए ।
‘मिचाहाले गर्दा संरक्षित क्षेत्र भित्रका घाँसे मैदान नाश हुँदै छन् । पानीका स्रोतहरू यस्तै प्रजातिले ढाँकेका छन् । यसले गर्दा गैँडा, बाघ जस्ता वन्यजन्तुहरू आफ्नो खानकी खोज्न संरक्षित क्षेत्र बाहिर आउन थालेका छन् । ती जन्तु र मानवबीचको द्धन्द बढेको छ’, वन्यजन्तुको वासस्थानबारे अध्ययन गरेका उनी भन्छन् ।
डा. सुवेदी आफूले गरेको अध्ययनको निष्कर्ष सुनाउँदै भन्छन्, ‘सबै मिचाहा प्रजाति त्यति धेरै खराब हुँदैनन् । एक पटक फैलिएपछि बिस्तारै हराउने खालका पनि छन् । कुनै–कुनै प्रजाति एउटा निश्चित समय वा वर्ष पछि बिस्तारै कम हुँदै जाने गरेको पाइएको छ ।’
‘तर मिचाहा प्रजाति नियन्त्रण र व्यवस्थापन गर्ने नाममा त्यस्ता प्रजातिबाट अन्य किसिमका उत्पादन गर्ने र प्रयोग गर्ने काम भने गलत हो’, उनी भन्छन्, ‘जलकुम्भीबाट मललगायतका वस्तुहरू उत्पादन गर्ने काम गलत हो । त्यो फेरी कुनै न कुनै रूपमा फैलिन सक्छ । त्यसैले यस्ता प्रजाति निर्मूल पार्ने काममा लाग्नुपर्छ’, उनी भन्छन् ।
त्यस्तै फरेष्ट एक्सन नेपालको बायोडाइर्भसिटी एन्ड रिस्टोरेशन प्रोग्रामका टिम लिडर डा. लिलानाथ शर्माले मिचाहाले जीविकोपार्जनमा समेत असर गरिरहेको उल्लेख गरे । ‘कृषि, वन, चरण क्षेत्र, बगर, सिमसारलगायत सबै किसिमका पारिस्थितिक प्रणालीमा यसले कुनै न कुनै किसिमले असर गरिरहेको छ’, उनी पूर्वी नेपालका विभिन्न जिल्लाका उदाहरण दिँदै भन्छन्, ‘त्यसको समग्र असर मानिसको जीविकोपार्जनमा परेको छ ।’
डा. शर्माका अनुसार लहरे बनमाराले पूर्वी नेपाल लगभग ढाक्न लागेको छ । वनमा पाइने च्याउको उत्पादन घटेको छ । मजुर खुटी सागको उत्पादन घटेको छ । वन पैदावार सङ्कलनमा त्यत्तिकै समस्या छ । वनका आगलागीका घटना बढेका छन् । बनमारा सुकेर प्रज्वलनशिल इन्धनमा परिवर्तन हुन्छ । यसले डढेलोको जोखिम त्यत्तिकै बढाएको छ ।
‘उल्टा काँडा नामको मिचाहाले चरण क्षेत्र ध्वस्त पारेको छ । त्यो वनस्पति खाएर राँगा, गोरु र गाई गरी २५० पशु चौपाया मरेका छन् । बाख्रा मात्र करिब ५ सयको हाराहारीमा मरेको पाइएको छ । मोरङ र झापामा मात्रै’, उनी भन्छन् । डा. शर्माका अनुसार काँडे बनमाराले वन व्यवस्थापन कार्य जोखिम बनाएको छ ।
‘झापाका वनमा विचरण गर्न आउने हात्तीहरूको खानकी समेत मिचाहा वनस्पतिले पुरै ढाँकेपछि ती जनावर जङ्गल बाहिर निस्किएर मान्छेलाई आक्रमण गर्न थालेका छन्’, उनी थप्छन् ।
यस्ता प्रजातिबाट जोगिने उपायहरू पनि छन् । यसबारे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वनस्पति विज्ञ प्राडा. प्रमोदकुमार झा भन्छन्, ‘नेपालको भूगोल नै त्यस्तै छ । यहाँ हरेक किसिमका बिरुवा छिटै फैलिने भएकाले पनि जोखिम बढी छ । त्यसैले यो नेपालको गम्भीर मुद्दा बनिसकेको छ ।’
डा. झाका अनुसार यसबाट बच्न सबैभन्दा पहिले रोकथामका उपायहरू अवलम्बन गर्नुपर्छ । त्यसपछि त्यस्ता प्रजातिको पहिचान गरी ती फैलिएको स्थान पत्ता लगाउनु गर्नुपर्छ र अनि मात्र नष्ट गर्नुपर्छ । ‘यो तीन चरणमा तीन किसिमका उपायहरू अवलम्बन गर्नुपर्छ’, उनले भने ।
तस्वीरः प्राडा.भरतबाबु श्रेष्ठ
प्रतिक्रिया दिनुहोस