हर्न बज्न छोड्यो काठमाडौंमा

राजधानीमा ध्वनी प्रदुषण कंम गर्नको लागि सञ्चालन गरिएको ‘ नो हर्न ’अभियान सफल भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार सुरुमा हर्न बजाउने धेरैलाई कारवाही गरिएपनि पछिल्लो समय कारवाही संख्या घट्दै गएको छ ।

महाशाखाका अनुसार बैशाख महिनामा ३ हजार ७ सय २२ जना कारवाहीमा परेका थिए । त्यसैगरी जेठ २६ सम्म १८ सय ७९ जना कारवाहीमा परेका छन् । हर्न बजाउन नपाउने नियम महाशाशाखाले वैशाख १ गतेदेखि लागू गरेको थियो । नो हर्न अभियान चलाएको पहिलो सातामै १३ सय जना कारवाहीमा परेका थिए ।

अहिले सम्म हर्न बजाएबापत कारवाहीमा परेका ५ हजार ६ सय १ जना रहेका छन् ।उनीहरुबाट प्रतिव्यक्ति पाँचसय रुपैंया जरिवाना गरिएको छ । माहाशाखाका  प्रवक्ता लोकेन्द्र बहादुर मल्लले भने , “नो हर्न अभियान ट्राफिक प्रहरीको कडा मिहेनत, पैसाको सजाय र व्यापक प्रचार प्रसारले सोचेको जस्तैगरी सफल भएको छ ।” मल्लका अनुसार अहिले हर्न बजाउने दैनिक २० देखी ५० जना सम्म कारवाहीमा पर्ने गरेका छन् ।

काठमाडौं उपत्यकामा अनावश्यक ध्वनी प्रदुषण बढेको भन्दै हर्न बजाउन निधेष गरिएको थियो ।सवारीचालकले जथाभावी हर्न बजाउदा शहरमा ध्वनी प्रदुषण बढेको थियो । बैशाख १ गते देखी काठमाडौं उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न बजाउन निषेध गरेपछि ट्राफिक प्रहरीको सर्वत्र प्रशंसा भएको थियो ।काठमाडौं महानगरपालिका , ललितपुर महानगरपालिका , भतपुर उपमहानगरपालिका ,यातायात व्यवस्था विभाग,ट्राफिक प्रहरी महाशाखा लगायत सरोकारवाला संघ–संस्थाको पहलमा हर्न निषेध अभियान चलाइएको थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १६४(ग) अनुसार कसैले आकस्मिकबाहेको अवस्थामा हर्न बजाए पहिलो चरणमा ५ सय, दोस्रो चरणमा १ हजार र तेस्रो चरणमा १५ सय रुपैयाँ जरिवाना हुने प्रावधान छ । एम्बुलेन्स,शववाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारी साधनको हकमा भने यो नियम लागू हुनेछैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १ अर्ब २ करोड युवा ध्वनि प्रदुषणको जोखिममा छन् । ध्वनी प्रदुषणका कारण मानिसहरुमा मानसिक समस्या बढिरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । श्रवण शक्ति कम हुने तथा मानसिक रुपमा मानिस अस्थिर रहने समस्या बढी देखिएका छन् । एउटा अध्ययन अनुसार, २० प्रतिशत मानिस ध्वनी प्रदुषणकै कारण बहीरोपनाको शिकार हुने गरेका छन् ।ध्वनी प्रदुषणका कारण हृदयघातको समस्यासमेत बढिहरेको चिकित्सकहरुले जनाएका छन् ।

मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबल हुन्छ र ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ । ७० डेसिबल भन्दा बढी ध्वनीले मानव स्वस्थ्यको लागि हानिकारक हुन्छ । सामान्य सवारी साधनको हर्नले १०० डेसिबल भन्दा बढीका आवाज निकाल्छन् । प्रेसर हर्नले सबैभन्दा धेरै मानिसलाई समस्या उत्पन्न गराइरहेको अध्ययनहरुको निश्कर्ष छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics