रामचन्द्रकाे बन्चरो

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको २१ औं अंश – 


(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्नथालेको हो ।)

सिरानमा बन्चरो

मुढा साइँला भन्ने रामचन्द्र प्रजा पक्राउ परे पनि प्रमाण नपुगेकाले उसलाई  जिम्माजमानीमा छाडिएको थियो। तिलबहादुर गुरूङले  पक्राउ परेपछि मुढा साइँला पनि गैँडा तस्करीमा संलग्न छ भन्ने बयान दियो। त्यसका आधारमा पक्राउ गर्न खोज्दा ऊ तिलबहादुर पक्राउ परेको थाहा पाएर भागिसकेको रहेछ। जिम्माजमानीमा लग्ने खैरहनी गाविस–४ का पूर्ववडाध्यक्ष मगरा चौधरीले पनि उसलाई हाजिर गराउन सकेनन्।

त्यसपछि कोराकको एउटा मान्छे ‘रामचन्द्र लुकेर बसेको ठाउँ देखेको छु’ भन्दै हाम्रो सम्पर्कमा आयो। उसलाई लिएर २०६० साल फागुनतिर मुखिया श्रीरङ्ग कँडेलसमेत हामी निकुञ्ज कर्मचारीहरु मात्र राति अपरेसन गर्न गयौँ। हामीलाई ‘रामचन्द्रे उः त्यहाँमा सुतेको छ’ भनेर एउटा ओडार देखाइदिएर ऊ फर्कियो। हामीले ओडार घेर्‍यौँ। तर त्यो मान्छे त्यहाँ नसुतेर खेतको तल्लो गरामा सुतेको रहेछ। उसलाई देखेर हाम्रो टोलीका एक जना सदस्य माथिबाटै ‘उः चोर’ भनेर कराए। त्यो सुन्नासाथ बिउँझेर ऊ ओढेको च्यादरसहित तल खोल्सातिर यसरी कुद्यो कि फिल्ममा सुपरम्यान कुदे जस्तै देखियो। अँध्यारो रात थियो; हामी खोल्साभन्दा माथिल्लो ढिकमा थियौँ; सीधै तल जान मिल्ने थिएन; भीर थियो। ऊ खाईखेली गरेको ठाउँ, त्यसमा पनि चेपाङ भएकाले कुदेर कता बेपत्ता भयो कता। हामीले व्यापक खोज्दा पनि भेटेनौँ र रित्तै हात फर्कियौँ।

मुखिया सा’बले ऊ नभेटिएको झोँकमा उसले लुक्न बनाएको जोर गोगनको रुखमुनिको छाप्रामा आगो लगाइदिनुभयो। २०६२ साउन ८ गते हामीलाई फेरि सूचना आएको थियो त्यही सुराकीबाट।त्यस अनुसार रामचन्द्रसहितलाई पक्रन माओवादीको आश्रयस्थल वीरेन्द्रनगर गाविस कटेर कोराकको सोमीटार र काली खोला पुग्नुपर्ने थियो। मैले कर्णेल अजितसँग कुराकानी गरेँ; उनले सुनाचुरी ब्यारेक गएर त्यो एरियाबारे जानकारी लिने निर्देशन दिए। हामी सुनाचुरी पुग्दा रात परिसकेको थियो। त्यहाँका मेजरलाई हामी जानुपर्ने क्षेत्रबारे केही थाहा रहेनछ। त्यसपछिकर्णेलले अर्को भाउँतो लगाइदिए, भण्डाराको सशस्त्र प्रहरीसँग सम्पर्क गरेर  जाने भनेर।

हामी सेनाको टोलीसहित सुनाचुरीबाट भण्डारातर्फ आउँदै थियौँ। रातको करिब दस बजेको थियो। कारको ब्याट्रीले चार्ज नदिएकाले लाइट डिम हुँदै  थियो। भण्डारा चोकबाट पश्चिम लाग्दा विपरीत दिशाबाट आएको ट्रकले हेडलाइट डिम नगरेकाले मैले अगाडि केही देखेको थिइनँ। अन्दाजको भरमा गाडी बढाउँदै थिएँ। अचानक मान्छेहरु अगाडि उभिएको देखेँ। इमरजेन्सी ब्रेक लगाएर दाहिने काटेँ। तिनीहरु रहेछन् सशस्त्रका सिपाही जो सधैँ चेकिङ गर्ने ठाउँभन्दा सय मिटरपूर्व आएर बिनासिग्नल सडकबीच उभिएका रहेछन्। धन्न गाडीले हानेन! कसैलाई ठक्कर दिएको भए हामीलाई आक्रमण गरे भनेर उताबाट गोली चलाउँथे होला। अनि यताबाट सेनाका मान्छेले पनि गोली चलाउँदा डरलाग्दो भिडन्त हुन्थ्यो होला। तर सौभाग्यवश ठक्कर लागेन, जोगाउन सफल भएँ। तर कुरै नबुझी एउटा सिपाहीले आएर मलाई मुक्काले हान्यो। मैले छलेको हुनाले गालामा बिस्तारै लाग्यो। अनि लप्टन सागर कार्कीले उनीहरुलाई हप्काउनुभयो। मैले भनेँ– ‘हामी कसराबाट आएको, लाइट डिम भयो, देखिएन तर तिमीहरु पनि किन यति वर बीचबाटामा बसेको,बिनासिग्नल?’केही बेर कुराकानी भयो। वास्तवमा उनीहरु हामी आउँदै छौँ भनेरैसहयोग गर्न त्यहाँ बसेका रहेछन्। हामीलाई थाहा भएन। हामी त ब्यारेकमै भेट हुने भन्ने हिसाबले हिँडेका थियौँ।

मलाई एकदमै नमज्जा लाग्यो। अनि मैले ‘अब फर्कौं, अपरेसनमा नजाऊँ’ भनेँ। किनकि हाम्रो साइत राम्रो थिएन। सुरूमा, पटिहानीनेर हुँदा बाटामै बिगे्रको बसछेउबाट हाम्रो गाडी पास गराउँदा बस कर्मचारीसँग विवाद भएको थियो। त्यसपछि टिकौलीको जङ्गलमा अँध्यारोमा मैले स्पिडमा गाडी लैजाँदा बाटाछेउको अजिङ्गरलाई गाडीले कुल्चेर होला ‘स्वाँ’ आवाज आएको थियो। त्यस बेला मैले मनमनै अजिङ्गरसँग माफी मागेको थिएँ, आफ्नो गल्तीमा। अनि यहाँ झन्डै बित्यास परेको। हामीले सशस्त्र प्रहरीको ब्यारेकमा पसेर सल्लाह गर्ने भन्ने कार्यक्रम रद्द गर्‍यौँ र अगाडि बढ्यौँ। सशस्त्रको गेट कटेपछि एक जना साथीले भन्नुभयो– जे भयो भयो; उता सुराकी कुरिराखेको होला, जाऊँ हामी मात्रै।’ मैले पनि सोचेँ— हुन्छ जाऊँ। त्यसपछि हामी पम्पा खोला पुलनजिकको कच्ची बाटो भएर उत्तरतर्फ लाग्यौँ। एउटा कार र दुइटा मोटरसाइकलमा।

सोमीटार पुग्दासम्म हामीले सुराकीलाई भेटेनौँ र घरमै गएर उसलाई बोलायौँ। त्यति बेलासम्म रातको साढे एघार बजिसकेको थियो। सुराकीसहित हामी रामचन्द्र प्रजाको घरतर्फ लाग्यौँ। बाटामा ससाना झुप्रा थिए र माथि टाँडमा मान्छे सुतिरहेका देखिन्थे। मस्त निद्रामा उनीहरु घुरेको टाढैबाट सुनिन्थ्यो। एउटा घरमा मान्छे सुतेको थियो; यही हो रामचन्द्रको घर भन्दै थियो हाम्रो स्टाफ। तर सुराकीले यहाँ छैन भनेर अन्तै लग्यो। स्टाफ कर गर्दै थियो– ‘यही घर घेरौँ।’ सुराकी भन्दै थियो– ‘अगाडि जाऊँ।’ विवादपर्‍यो। मैले भनेँ– ‘सुराकीले जहाँ भन्छ त्यहीँ जाऊँ। यहाँसम्म उसले ल्यायो भने अब अगाडि पनि उसैको भनाइ अनुसार जाऊँ।’ म र लप्टन सुराकीको पछिपछि थियौँ। हामीलाई रामचन्द्र बस्ने ओडारतर्फ लगियो। भीरमा सानो बाटो थियो र घाँस काटिएको थियो बाटामा। हामी ओडारमा पुग्यौँ। त्यहाँ मान्छेको आवतजावत भएको सङ्केत स्पष्ट देखिन्थ्यो।

मान्छे बस्न स्याउलाले बारिएको थियो र बल्लाबल्ली तेस्र्याएर सुत्ने खाट बनाएको देखिन्थ्यो। हामी बिरालाको चालले पाइला चाल्दै थियौँ। म आँखा च्यातेर नजिकै पुगेँ। खाटमा झुल पनि टाँगिएको थियो। मैले बिस्तारै झुल उचालेर आफ्नो टाउको भित्र छिराएर हेरेँ। त्यहाँ ओछ्यान थियो तर मान्छे भए जस्तो लागेन। टर्च लाइट बालेर हेर्दा साँच्चै त्यहाँ कोही थिएन। म सुराकीलाई भेट्टाउन छिटछिटो हिँडेँ; ऊ त्यो ओडार देखाएर फर्किसकेको थियो। मैले सोधेँ– ‘उसको घर कुन हो?’ सुराकीले घर देखाउन लग्यो। आखिर रहेछ त्यही, अघि हाम्रो स्टाफ  बुद्धिनाथ लामिछानेले घेरा हालौँ भनेको घर। हाम्रो चहलपहल रामचन्द्रले अझै थाहा पाएको रहेनछ। ऊ निद्रादेवीको काखमा मस्त थियो। मैले अरु स्टाफलाई पनि बोलाउन लगाएर त्यो झुप्रो घेर्न भनेँ। अनि एक जना सैनिक साथी र म लिस्नो चढेर माथि उक्लियौँ । मैले बिस्तारै हेरेँ— एउटा लोग्नेमान्छे, एउटी आइमाई र सानो बच्चा सुतिरहेका थिए। मान्छेको आकार प्रस्ट देखिन्थ्यो तर अनुहार चिनिँदैनथ्यो।

मैले बिस्तारै एक हातले टर्च लाइट छोपेर बालेँ। रामचन्द्रलाई पहिले पनि पक्रेकाले चिनिहालेँ। उसको सिरानमा ठूलो खुर्पा र बन्चरो राखिएको थियो। मैले तिनलाई आफ्नो कब्जामा लिएँ। अनि उसको मुखमा टर्च बालेर बोलाएँ। उसले जुरूक्क उठेर मतर्फ हेर्‍यो र ‘ए’ भन्यो। सँगै सुतेकी उसकी श्रीमती पनि उठिन् र ‘के भयो?’ भन्दै आफ्नो कपडा सम्हाल्न थालिन्। हामीले रामचन्द्रलाई कपडा लगाउन दियौँ र सँगै लिएर हिँड्यौँ। श्रीमती रूँदै ‘म पनि सँगै जान्छु’ भन्दै थिइन्। हामी उनलाई सम्झाएर फटाफट बाटो लाग्यौँ। बाटो उकालो–ओरालो थियो। साउन महिना, मकैको बारी अनि धानको खेतबीच कुलोको डिलैडिल रातमा टर्च नबाली हिँड्नुपर्ने। एकदमै गार्‍हो भइरहेको थियो। कहीँकहीँ चार हातखुट्टा टेक्नुपथ्र्यो। कतै साथीहरु लड्नुहुन्थ्यो त कतै तर्सनुहुन्थ्यो। यत्तिकैमा एक सैनिक साथीले भन्नुभयो– ‘मेरो पेस्तोलको म्यागजिन खसेछ।’ हामी सबै म्यागजिन खोज्न लाग्यौँ। करिब एक घण्टा खोज्यौँ तर फेला परेन। ती साथी र लप्टन चिन्तित बन्नुभयो, भोलि स्पष्टीकरण दिनुपर्छ भनेर। तर जति खोज्दा पनि नभेटेपछि त्यहाँबाट हिँड्नुभन्दा अर्को विकल्प थिएन। राति दुई बजिसकेको थियो र हामीले अरु पनि अपरेसन गर्नु थियो। रामचन्द्रलाई दुई जना साथीको जिम्मामा सोमीटारभन्दा माथिको डाँडामा छाडेर बाँकी पाँच जना काली खोलातर्फ लाग्यौँ।

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics