‘ खाग शिकारको आरोप खेप्दा ‘
गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ३९औं अंश –
चौतर्फी षड्यन्त्र
म, चिफ वार्डेन र अर्को सहायक वार्डेन भएर भरतपुरतर्फ लाग्यौँ। सरासर जिल्ला प्रहरी कार्यालय गयौँ र एसपी केदारप्रकाश साउदको च्याम्बरमा प्रवेश गर्यौँ। हामीलाई देख्नेबित्तिकै उसले कड्केर भन्यो– ‘तपाईंहरु मान्छे पनि पक्रनुहुन्छ; गैँडा पनि मरेका मर्यै छन्, के हो?’
म अक्क न बक्क भएँ। चितवनमा साढे तीन वर्ष बस्दा त्यहाँको प्रहरीले गैँडा संरक्षणको नाममा माखो पनि मारेको थाहा थिएन। बुझ्न सकिनँ, के भनिरहेको छ यो एसपी; उसलाई गैँडा संरक्षणको कति न चिन्ता भए जस्तो! हामी पुगेको पाँच–सात मिनेटमै केही पत्रकार र मानव अधिकारवादी भनिनेहरु कोठामा आइपुगे। इन्स्पेक्टर रामबहादुर श्रेष्ठ पनि भित्र पस्यो र एसपीलाई बुट बजार्दै स्यालुट ठोकेर भन्न थाल्यो– ‘सात वटा करङ भाँचिएको छ। शरीरमा नीलडाम नभएको कुनै ठाउँ छैन। करङ भाँचिएर फोक्सो छेडिएको छ। करङ बुटले वा बन्दुकको कुन्दाले हानेर भाँचेको हुनुपर्छ।’
उसको कुरा सुनेर सबैले हामीप्रति प्रश्न तेस्र्याउन थाले। हामी स्तब्ध भयौँ। मलाई जुन रिपोर्टिङ भएको थियो, त्यसको ठीक विपरीत पोस्टमार्टमको रिपोर्ट आएछ। बोल्ने ठाउँ केही भएन। हामीले भन्यौँ– ‘हाम्रा केटाहरुले गल्ती गरेछन्। हाम्रो मार्ने नियत त होइन; गल्ती भयो। यसको समाधान गरौँ।’ तर उनीहरु हाम्रो भनाइ सुन्न तयार थिएनन्। पत्रकार महासंघका मान्छेहरु चिफ वार्डेनलाई ‘२५ गते नै फोन गरेर जानकारी दिँदासमेत वास्ता गर्नुभएन’ भनेर कराउन थाले। मलाई ‘तपाईंले केरकारमा अलिअलि त भैहाल्छ नि भन्नुभएको होइन?’ भनेर कड्किन थाले। तर शिखाराम बिरामी परेकोबारे मलाई कुनै पत्रकारले फोन गरेका थिएनन् र मैले कसैलाई त्यस्तो जबाफ दिएको पनि थिइनँ।
जाहेरीको पाना एसपीको टेबुलमा थियो। सहायक सीडीओ पनि आइपुगे।
उनले सोधे– ‘जाहेरीमा के छ?’
एसपीले भन्यो– ‘खै मैले पनि पढेको छैन, के छ?’
हामीले त्यसप्रति कुनै चासो दिएनौँ। एक छिनपछि भोलिपल्ट अर्थात् ३१ गते बिहान आठ बजे राजनीतिक दलहरुसँग छलफल गर्ने तय भयो। साँझ पर्न लगेको थियो। बाहिर नारा–जुलुस चलिरहेको थियो। यत्तिकैमा हावाहुरीसाथ पानी दर्कन थाल्यो। सायद प्रकृतिमातालाई पनि यो सबै मन परिरहेको थिएन।
यसैबीच एक जना अग्लो–अग्लो, मोटो, मुसलमान जस्तै दार्ही पालेको मान्छे भित्र पसेर एसपीलाई हप्काउँदै ‘त्यो जाहेरी निवेदन दर्ता गरेर अभियुक्तलाई हिरासतमा राख्नुस्, नत्र हामी जिल्ला प्रहरी कार्यालयको गेटमा रातभरि धर्ना बस्छौँ’ भन्यो। एसपीले लुत्रुक्क परेर ‘उहाँहरु यहीँ हुनुहुन्छ; जाहेरी भोलि दर्ता गरौँला’भन्यो। त्यसपछि ऊ गयो, ‘भोलि पाँच हजारको जुलुस ल्याउँछौँ’ भनेर। हामीलाई त्यहीँ बस्न भनियो र डीएसपी मायाकुमार शाहको क्वार्टरमा राखियो। हामीले मोबाइलमार्फत विभिन्न ठाउँमा फोन गर्यौँ। सोचिरहेका थियौँ— भोलि आठ दलसँग कुराकानी गरेर घटनाको छानबिन गर्ने र दोषीउपर कारबाही गर्ने विषयमा सहमत गराउँला। मृतकका परिवारलाई राहतका साथै अन्य केही गर्न सकिने वातावरण तयार गरौँला। बन्दुकसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेको उसको छोरालाई सहुलियत दिने विषयमा छलफल गरौँला।
३१ गते बिहान साढे आठ बजेतिर वकिल कृष्णभक्त पोखरेल प्रहरी कार्यालयमा आइपुगे। हामीलाई अघिल्लो दिन एसपी र सहायक सीडीओले ‘उहाँ समझदार हुनुहुन्छ; सबैलाई सम्झाई–बुझाई गर्न सक्नुहुन्छ; उहाँले भनेको सबैले मान्छन्’ भनेका थिए। उनी आइपुग्दा हामीलाई देउतै आए जस्तो लाग्यो। उनले भने– ‘सबै म मिलाउँछु; तपाईंहरु चुप लागिदिनुहोला। तपाईंहरु बोल्दा वातावरण झन् उग्र हुन्छ।’ हामीलाई किन बोल्नु थियो र? कुरा मिले त भैहाल्यो। मैले भन्ठानेँ मृतकका परिवारलाई राहत उपलब्ध गराउने र उसको छोरालाई छाडिदिने कुरा गर्लान्।
पार्टीका पन्ध्र–बीस प्रतिनिधि जम्मा भए। हिजोको दार्हीवाल पनि आएको थियो। एमालेका जिल्ला सचिव विजय सुवेदी त्योसँग एक छिन बाहिर गए। मैले सोचेँ— अवश्य पनि उनले दार्हीवाललाई मत्थर पार्नेछन्। बैठक सुरू भयो। कृष्णभक्तले कुराको उठान गरे। वकील गोपी देवकोटाले संरक्षणका विरूद्धमा विष वमन गरे। चिफ वार्डेनलाई आफ्ना कुरा राख्न भनियो। उहाँ अलि भावुक भएर संरक्षणका कुरा गर्न थाल्नुभयो। दार्हीवाल बीचमा बोल्न खोज्दै थियो। माडीतिरको तीस–बत्तीस वर्षको ठिटो कड्केर चिफ वार्डेनलाई हप्काउन थाल्यो, ‘सामन्ती रबाफ छ तपाईंको बोलीमा’ भनेर।दार्हीवालले आफ्नो परिचय दियो। ऊ रहेछ सामुदायिक विकास सङ्गठन भन्ने एनजीओ चलाउने अर्जुन थपलिया। उसले भन्न थाल्यो– ‘याक्चेलाई काठमाडौँ पठाउने कमलजङ्ग कुँवर हो। अरुलाई भरतपुर जेलमा थुन्ने तर याक्चेलाई काठमाडौँ सेन्ट्रल जेलमा पठाउने? याक्चे हिजोआज रातिराति घरमा गएर श्रीमतीसँग सुत्छ।’
उसका कुरा सुनेर म जिल्ल परेँ। पछि पो थाहा भयो— विजय सुवेदीकी श्रीमतीलाई त्यही दार्हीवालले आफ्नो एनजीओको चितवन शाखाकी अध्यक्ष बनाइदिएको रहेछ। मैले भनेँ– ‘याक्चेलाई पक्रेर जेल पठाएको हामीले नै हो। तर थुनुवा र कैदीलाई कहाँ पठाउने भन्ने कारागार व्यवस्थापनको काम हो।’ कृष्णभक्तले ‘बीचमा नबोल्नुस्; उहाँलाई बोल्न दिनुस्’ भने। मैले सोचेँ— नबोल्दा र प्रतिवाद नगर्दा नै राम्रो हुन्छ भने ठीकै छ।
अनि अर्जुन थपलिया सिमरामा मेरो झोलाबाट खाग बरामद भएको कुरा गर्न थाल्यो। निकुञ्जमा निगुरो टिप्न दिएन भन्नेदेखि बोटेलाई माछा मार्न दिएन भन्नेसम्मको कुरा उठायो। ममाथि नाना आरोप लगाएर बैठकमा उपस्थित सबैलाई उत्तेजित पार्न खोज्दै थियो।
ऊ चुप लाग्नासाथ उसैको छेउमा बसेको होचोहोचो मान्छे ‘यो सब कमलजङ्ग कुँवरको काम हो; यसलाई कारबाही गर्नुपर्छ; छाड्नु हुन्न’ भनेर कराउन थाल्यो। पछि थाहा भयो— उसको नाम छविप्रसाद न्यौपाने रहेछ र ऊ पनि अर्जुनकै एनजीओको हन्डी खाने व्यक्ति रहेछ। यसैबीच नेपाली काङ्ग्रेसको जिल्ला सभापति टेकप्रसाद गुरूङ मतिर चोर औँलो ठड्याएर कराउन थाल्यो। ऊ भन्दै थियो, कुन्नि कुन गैँडा तस्करलाई भेट्न जाँदा मैले भेट गर्न दिइनँ रे। माओवादीको प्रतिनिधि दण्डपाणि पनि हामीलाई कडा कारबाही गर्नुपर्छ भनेर तस्करको पक्षपोषण गर्दै थियो। केही पत्रकार, वकिल र मानव अधिकारवादी भनिनेह? पनि यस्तै–यस्तै फाल्तू कुरा उठाएर आफ्नो तुस पोख्दै थिए।
सबैले आ–आफ्ना कुरा राखिसकेपछि एसपीले ‘न्यायिक छानबिन आयोग गठन गरौँ; दोषीलाई कारबाही गर्नुपर्छ’ भने। त्यसै बेला ऊतिर चोर औँलो ठड्याउँदै अर्जुन च्याँठ्ठिन थाल्यो– ‘मन्त्री ल्याउँछु; जनता उतार्छु।’ एसपी र सीडीओको बोली बन्द भयो। यस्तो लाग्थ्यो, उनीहरु जिल्लामा प्रहरी र प्रशासन हाँक्ने दायित्व पाएका मुख्य व्यक्ति होइनन्, जागिर जोगाउन बसेका निरीह प्राणी हुन्।
केही बेरपछि हामी तीनै जनालाई एसपीको च्याम्बरमा पठाइयो। फेरि एकै छिनपछि चिफ वार्डेनलाई बैठक भएको हलमा बोलाइयो। उहाँ गएको एक–दुई मिनेटमा ‘हो... हो...’ भनेको चर्को आवाज आयो। त्यसपछि सबै जना बाहिरिएको आभास भयो। एक छिनपछि हामी हलमा फर्कंदा चिफ वार्डेन निन्याउरो हुनुहुन्थ्यो।
‘के भयो?’ भनेर सोध्दा भन्नुभयो– ‘हामीलाई कारबाही गर्ने भनेर गए।’
हामीलाई कारबाहीका लागि अरु पार्टी र प्रतिनिधिहरुलाई सहमत गराउन बढी भूमिका माओवादीकै थियो। माआवादी पूरै हामीविरूद्ध थियो। त्यो दिनको बैठक खालि औपचारिकता रहेछ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एसपी साउदलाई टेलिफोनबाट हामीलाई कडा कारबाही गर्न अनुसन्धानमा कुनै कसर बाँकी नराख्नू भनेका रहेछन्। माओवादीका नेताहरु र एमालेका महासचिव माधवकुमार नेपालले पनि त्यस्तै निर्देशन दिएका रहेछन्। भित्रभित्र पहिल्यै सबै जनाको सल्लाह मिलिसकेको रहेछ। कुनै पार्टीका प्रतिनिधिलाई आफ्ना मान्छे धरौटीमा नछाडेको रिस, कसैलाई तस्करबाट पाइने दानापानी हरण भएको झ्वाँक त कतिलाई वन्यजन्तु संरक्षण अभियानले आफ्नो स्वार्थमा धक्का लागेको औडाहा। माओवादीहरु मविरूद्ध गैँडा तस्करले लगाएका झूठा, मनगढन्ते आरोप सुनेर रन्किएका। झन् अर्जुनको एनजीओको त उद्देश्य र कामै निकुञ्जविरोधी, संरक्षणविरोधी। निकुञ्ज भनेको देश र जनताको सम्पत्ति होइन, राजा र राजपरिवारको बपौती हो, त्यसको संरक्षण गर्नु दरबारलाई बलियो पार्नु हो भन्ने कथित बुङिजीवीहरुको पनि बुझाइ!
हामी अक्क न बक्क थियौँ। वकिल कृष्णभक्त ‘दुई–चार दिन हो; सबै ठीक हुन्छ’ भनेर सान्त्वना दिँदै थिए। बाहिर सडकमा अर्जुनको नेतृत्वमा डेढ–दुईसय जनाको जुलुस निस्कँदै थियो। गैँडा तस्कर, तस्करका सन्तान, आफन्त, मतियार, चोर, डाँका, काठ तस्कर सबै एकै ठाउँ भेला भएर जोडतोडले नारा लगाउँदै थिए– ‘हत्यारालाई फाँसी दे,’ ‘फलानोलाई फाँसी दे’। यस्तो लाग्थ्यो, मानौँ लोकतन्त्र उनीहरुकै निम्ति आएको हो। डलर खेती गर्न खोलिएको एनजीओ र वन्यजन्तु तस्करबीचको साँठगाँठलाई सशक्तीकरण गर्नु नै त्यसको मुख्य उपादेयता हो।
यार्सागुम्बा व्यापारी याक्चेले डोल्पामा करोडौँ कर तिर्छ माओवादीहरुलाई। अनि ऊ तिनको आफ्नो मान्छे नभए हामी जस्ता मासिक नौ हजार रूपैयाँ तलब थाप्ने, केही दिन नसक्नेहरु तिनका मित्र हुन्छन् त? खाग तस्कर, काठ तस्कर, भ्रष्टाचारी, घूसखोर, कमिसनखोर, चोर, डाँका जस्ता दाताहरुको दलाली नगरेर केही दिन नसक्ने देशभक्त, राष्ट्रसेवकहरुको पक्षमा उभिन्छन् त अर्जुनमार्का एनजीओवालाहरु ?
२०६१ सालतिरको कुरा हो। म काठमाडौँ जाँदै गर्दा पोखरामा देखिराखेका एक व्यक्ति माइक्रोबसमा सँगैको सिटमा बस्न आइपुगे। उनी माओवादी पार्टीको मजदुर फाँटमा काम गर्दा रहेछन् र उनको पार्टी नाम वसन्त रहेछ। अलिक पछि उनले मलाई नारायणगढको पोखरा बसपार्कको एउटा होटलमा भेट्न बोलाए र माओवादी पार्टीमा लागेर काम गर्न आग्रह गरे। मैले माओवादी बन्न इन्कार गरेपछि ‘क्रान्तिका लागि सहयोग गर्नुस्’ भन्दै पचास हजार रूपैयाँ चन्दा मागे। मैले ‘मसँग त्यति धेरै दिन सक्ने क्षमता छैन’ भनेर एक महिनाको तलब बराबर नौ हजार रूपैयाँ दिएँ। त्यसपछि उनले पटक–पटक फोन गरेर मलाई बोलाउन र पैसा माग्न थाले। मैले पनि यिनीहरुलाई प्रयोग गरेर गैँडा तस्करी नियन्त्रण गर्न सकिन्छ कि भनेर उनीसँग प्रस्ताव राखेँ– ‘म तपाईंलाई केही रकम उपलब्ध गराउँछु; तपाईंहरु पनि गैँडा संरक्षणमा सहयोग गर्नुस्।’ उनले ‘हुन्छ’ भनेपछि मैले अठार हजार रूपैयाँ उनलाई दिएँ। त्यसबापत उनले माओवादी पार्टीको नामबाट ठाउँठाउँमा तुलहरु टाँगेर
र पर्चा–पोस्टर वितरण गरेर गैँडा मार्नेलाई माओवादीले कारबाही गर्नेछ भन्ने प्रचार–प्रसार गर्नु–गराउनुपर्ने थियो। तर उनले त्यो काम कहिल्यै गरेनन्। मैले दिएको कुल सत्ताइस हजार रूपैयाँ त्यत्तिकै पच पारे। यसरी पैसा भनेपछि हुरूक्क हुने माओवादीहरु झोलाभरिभरि पैसा दिने तस्करहरुको कुरा सुनेर मविरूद्ध रन्किनु अस्वाभाविक थिएन।
बाहिर नारा–जुलुस जारी थियो। हामीलाई एक इन्स्पेक्टरले हलबाट निकालेर छतमा पुर्याए। तिनै नारा लगाउनेहरुलाई प्रहरीको पुरूषार्थ देखाउन रहेछ। हामीलाई देखेपछि अर्जुन उफ्रँदै अगाडि आयो। शिखारामको छोरो चोर औँलो ठड्याएर मलाई धम्की दिँदै थियो। आर्मीमा कार्यरत ऊ गैँडा मार्न आफ्ना दाजु र बाबुलाई गोली सप्लाई गर्ने गथ्र्यो। उसले बाबुसँग मिलेर खाग लुकाएको थियो। अर्को एउटा लाउके दार्हा किटिरहेको थियो। म पनि के गर्न सक्दा रहेछौ, हेरूँला भनेर मनमनै तस्करहरु विरूद्ध सशक्त भएर लड्ने प्रण गरिरहेको थिएँ। हिन्दी फिल्ममा देखाइने जस्तो दृश्य थियो त्यो— चोरलाई चौतारो, साधुलाई शूली!
छतबाट तल झारेर हामीलाई मेडिकल गर्न अस्पतालतर्फ लग्ने तारतम्य मिलाउन थालियो। यत्तिकैमा जिल्ला वन कार्यालयका रेन्जर क्षेत्रविक्रम खाँड हतारिँदै आएर हामीसँग पक्राउ पुर्जी माग्न थाले। भने– ‘फ्याक्स गर्नु छ तुरून्त, मन्त्रालयमा।’ पुर्जी हामीलाई दिइएको थिएन। मैले सोचेँ— मन्त्रालयले पुर्जीका आधारमा गृहसँग कुराकानी गरेर हामीलाई छाड्ने आदेश दिलाउने होला। त्यसैले असइलाई भनेर हतार–हतार पक्राउ पुर्जी बनाउन लगाएर खाँडजीलाई दियौँ।
मन ढुक्क भयो— अब केही हुन्छ; मन्त्रालयले हाम्रा लागि केही गर्छ। तर हाम्रो अनुमान ठीक उल्टो निक्ल्यो। पक्राउ पुर्जी त मन्त्रीले हामीलाई निलम्बन गर्न पो मगाएका रहेछन्। उनलाई हामीविरूद्ध राजनीतिक पार्टीहरु, विशेष गरी नेपाली काङगे्सको को जिल्ला सभापति टेकप्रसाद, सीडीओ नरेन्द्रराज पौडेल र प्रहरीले अति धेरै नकारात्मक कुरा सुनाएका रहेछन्। हामी त दरबारिया मान्छे, पशुपतिभक्त महर्जनका मान्छे, खाग पक्रने अनि बेच्ने, खाग बेचेर महिनामा पचास लाख कमाउने, करोडौँ कमाइसकेका, सर्वसाधारणलाई पक्राउ गरी ठूला तस्करलाई पैसा खाएर छाडिदिने, कामचोर, शाही सरकारका मतियार, गैँडा मार्न लगाउने, आफैँ गैँडा मार्ने, दरबारमा लगेर खाग बुझाउने र एक नम्बरका निकम्मा एवं भ्रष्टाचारी पो बनाइएका रहेछौँ। यस्ता मान्छेलाई निलम्बन गर्न उनी किन पछि पर्थे? मन्त्री पनि चानचुने हुन् र? गिरिजाप्रसाद कोइरालाका विशेष प्रियपात्र, लोकतान्त्रिक नेपालका क्रान्तिकारी वन राज्यमन्त्री गोपाल राई न ठहरिए! हाम्रो निर्दोषिताबारे कुरा गर्न गएका वनसचिव डा. स्वयम्भूमान अमात्यलाई समेत उनले अनादरपूर्वक हप्काएर ठाडै लखेटेछन्।
कर्तव्य ज्यान मुद्दामा हामी तीन जनालाई हिरासतमा लिइएको खबर रेडियोहरुले प्रमुखतासाथ फुक्न थाले। समाचारले राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाका मुखपृष्ठमा स्थान पायो। मोबाइलमा लगातार घण्टी बज्न थाल्यो। आफन्त, इष्टमित्र, परिवारजन, साथीभाइ, संरक्षणकर्मीहरु र संरक्षणप्रेमी आमजनता दुःखित र चिन्तित हुँदै फोन गर्न थाले। उनीहरुको व्यग्रता देखेर उल्टो आफैँले सम्झाउन थालियो, ‘चिन्ता नलिनुस्; केही हुँदैन; केही भएको छैन’ भन्दै।
म यसअघि पनि २०५९ साल पुसमा सगरमाथा राष्ट्रिय निकुञ्जको निमित्त चिफ वार्डेन छँदा संरक्षणकै सिलसिलामा लुक्ला, सोलुखुम्बुमा पक्राउ परेँ। काठमाडौँ जान लुक्ला विमानस्थल पुग्दा मौसमको गडबडीका कारण प्लेन नआउला जस्तो भएपछि हामी त्यहाँको मध्यवर्ती सामुदायिक वन निरीक्षण गर्न गयौँ। त्यो वन स्थानीय बासिन्दाले काटेर सिध्याउन लागिसके भन्ने गुनासो पहिल्यैदेखि सुनिएको थियो। नभन्दै हामी जङ्गल पुग्दा बन्चरो बोकेर जङ्गल पस्ने गाउँलेहरुको लामो लर्को थियो भने काठ र दाउरा बोकेर फर्कनेहरुको पनि त्यत्तिकै लामो ताँती थियो। सशस्त्रका एक हूल सिपाही बर्दी र बन्दुकसहित रुख कटानी गर्न बन्चरो बोकेर जङ्गलतर्फ लागिरहेका थिए। हामीले सबै जनालाई राम्रो मुखले ‘जङ्गल नजानुस्’ भनेर फर्कायौँ र काठ–दाउरा ल्याउनेहरुलाई पक्राउ गर्यौँ।
जङ्गलबाट फर्केर स्थानीय भद्रभलादमीसँग कुरा गर्दा उनीहरुले ‘सशस्त्र प्रहरीलाई जङ्गल काट्न नदिइयोस्; हामी त संरक्षण गर्न तयारै छौँ’ भने। त्यसपछि डीएसपीलाई भेट्न क्वार्टरमा गयौँ। उसको नाम नीरनिराकरण शाह रहेछ। सुरूमा चर्काचर्की जस्तो भयो। उसको जिकिर थियो– ‘शान्ति–सुरक्षाका लागि दुःख गरेकाहरुलाई मट्टीतेलको साटो दाउरा बाल्दा राहत हुन्छ भने अलिकति जङ्गल काटेर के बिग्रन्छ?’ सशस्त्र प्रहरीलाई रासन कोटामा मट्टीतेल पनि दिइएको हुन्छ। तर त्यो बेचेर पैसा खल्तीमा हाल्ने अनि सरकारी वन मास्ने उनीहरुको काइदा अचम्मको थियो। त्यसपछि पुनः स्थानीय भद्रभलादमी र प्रहरी राखेर संयुक्त बैठक बस्यौँ। त्यो बैठकले आगामी दुई महिनासम्म जङ्गलमा कोही पनि नजाने र निकुञ्ज कार्यालयले त्यो अवधिमा सामुदायिक वनको कार्य योजना बनाई स्थानीय बासिन्दालाई वन हस्तान्तरण गरिसक्नुपर्ने भन्ने निर्णय गर्यो।
हामी बेलुकातिर होटल फर्कियौँ। त्यसको केही बेरपछि एक हूल सशस्त्र प्रहरी आइपुगे र नाम्चेबाट आएका हामी सबैका साथै हामी बसेको इको–प्याराडाइज होटलकी साहुनी दावाफुटी शेर्पालाई समेत सँगै लिएर हिँडे। एयरपोर्टको पश्चिमपट्टि रहेको हेलिप्याडमा पुर्याएर सबैको शरीर खानतलासी गरे र राति एक बजेसम्म त्यहीँ उभ्याए। लुक्ला जस्तो चिसो ठाउँमा मध्य पुसमा, त्यसमाथि हिउँ पर्ला जस्तो भइरहेका बेला खुला आकाशमुनि भोकभोकै मध्यरातसम्म बन्दुकधारीहरुको घेरामा उभिनुपर्दा जाडो र सन्त्रासले हाम्रो शरीर जड जस्तै हुन पुगेको थियो। मध्यरातपछि ‘भोलि उपस्थित हुनू’ भन्ने आदेश दिएर उनीहरुले छाडे। भोलिपल्ट डीएसपीले मलाई थुप्रै अपशब्द प्रयोग गरेर फोहोरी गाली गर्यो। त्यस बेला मेरा रौँ ठाडा भएका थिए र रगत छिटछिटो बगिरहेको आभास भइरहेको थियो। मुस्किलले आफूलाई सम्हालेँ। सोचेँ— यो सबै संरक्षणका लागि हो। मैले दुःख र अपमान पाएर यहाँको एउटा मात्र रुख जोगिन्छ भने पनि मलाई यो वेदना स्वीकार्य छ।
म दोस्रो चोटि पक्राउ परेको खबर सुनेपछि आमा बिरामी पर्नुभएछ। ससुरालीमा सासू चिन्ताले गल्न थाल्नुभएछ। श्रीमतीको पीर र पीडाको त झन् कुनै सीमै थिएन। यसैबीच छोरो पनि बिरामी भयो।
२०६३ असार २ गते हामीलाई बयानका लागि सरकारी वकिलकहाँ लगियो। वकिल थिए ओमप्रकाश अर्याल। मैले केही समयअघि नवलपरासी, दलदले बजारको सञ्जयगोविन्द श्रेष्ठलाई काठ तस्करी गरेको अभियोगमा पक्राउ गरेको थिएँ।
उसलाई जोगाउने ओमप्रकाशको प्रयास मेरा कारण असफल भएकाले उनी मप्रति पूर्वाग्रही बनेका थिए। उनले मसँग कुन आधारमा शिखारामलाई पक्राउ गरिएको, किन, कहिले, कहाँ पक्रेको जस्ता प्रश्न सोधे। मैले सबै कुराको यथोचित जबाफ दिएँ। प्रहरीले अघिल्लै दिन कसरा पुगेर थुनुवासँगका विभिन्न बयानका कागज, घटनास्थल मुचुल्का, निकुञ्ज हिरासतसम्बन्धी कागजात आदिको जोरजाम गरिसकेको रहेछ। हामीले मध्यवर्ती क्षेत्रको कानुनी सल्लाहकारसमेत रहेका अधिवक्ता कृष्णभक्त पोखरेललाई नै आफ्नो वकिल राखेका थियौँ। सरकारी वकिलसामु बयानका बेला उनी हामीसँगै रहे।
प्रतिक्रिया दिनुहोस