सिंहदरबारमा सौर्य बत्ती झलल



सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा सोलार प्रणालीबाट बत्ती बालिएको छ ।

चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा मंगलबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको हो ।दुई वर्षअघिदेखि ती प्यानल राख्न थालिएको थियो ।

करिब रु ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ सोलार बत्ती नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सौर्य प्रणाली मुलुकको आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण परियोजना भएको र यस्ता आयोजनालाई अन्य क्षेत्रमा पनि विस्तार गर्न सके समृद्धिको यात्रामा सहयोग सिद्ध हुने विश्वास व्यक्त गरे।

ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले परियोजनाबारे जानकारी दिँदै वातावरण व्यवस्थापन र विकासमा सौर्य ऊर्जा परियोजना महत्वपूर्ण भएको बताए।

चिनियाँ राजदूत यु होङले विकास र समृद्धिका लागि दुई देशबीच लामो समयदेखि समन्वयात्मक सहकार्य रहँदै आएको र त्यसको पछिल्लो उदाहरण सौर्य ऊर्जा महत्वपूर्ण परियोजना भएको उल्लेख गरे।

यसअघि उक्त परियोजना चीन सरकारको तर्फबाट नेपालको ऊर्जा मन्त्रालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपालका लागि चिनियाँ राजदूतावासका इकोनोमिक काउन्सिलर वाइ पिङले सम्पन्न परियोजनामा गरे।

प्रधानमन्त्री ओली, चिनियाँ राजदूत होङलगायतले प्रधानमन्त्री कार्यालयमा जडान गरिएको सौर्य प्रणालीको अवलोकन गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics