नारायणगढ–मुग्लिन सडक एक किलोमिटरमात्रै पिच गर्न बाँकी, समय सीमा भोली सकिदै



मुग्लिन–नारायणगढ सडकखण्डको सडक विस्तारको काम अन्तिम चरणमा पुगेसँगै समय सिमा पनि सकिन थालेको छ । जसका कारण आयोजनाले पाँचौँ पटक म्याद थपको माग गरेको छ । चौथो पटक थपिएको म्याद भोलि (बुधबार) जेठ १६ गते सकिदैं छ । म्याद थपका लागी ठेकेदार कम्पनीले परामर्शदातालाई पत्र दिइसकेको छ ।

सबै काम सम्पन्न गर्न अझै एक महिना लाग्न सक्ने आयोजनाको अनुमान छ । विविध कारणले आयोजनाको १४ प्रतिशत लागत समेत बढेको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर गोविन्द खनालले पाँचौँ पटक म्याद थप गरिए असार सम्ममा सबै काम सम्पन्न गर्न सकिने बताए । खनालले भने,“म्याद थपको लागि प्रक्रिया अघि बढाइएको छ, एक महिना समय थप भए सबै काम पूर्ण रूपमा सम्पन्न हुन्छ”।

नारायणगढ–मुग्लिन सडक खण्डको पहिलो ठेक्काको १०.४ किमी, दोस्रोको १०.६ किमी र तेस्रो ठेक्काको १२.१ किमी निर्माण जिम्मामा रहेको छ । चेपाङ डाँडामा सडक विस्तार गर्न अझै समय लाग्ने हुनाले सडकछेउको भागमा एंकर विधिबाट काम भइरहने र बीचको भाग भने यातायात सहजताका लागि पिच भइरहेको छ । हालसम्म पहिलो ठेक्काको ८८, दोस्रोको ९७ र तेस्रोको जम्मा ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । बर्खाको समयमा पहिरो रोक्ने काम पनि नयाँ ठेक्का लगाएर धमाधम भइरहेको छ ।

हालसम्म ३२.३ किमी सडक पहिलो र दोस्रो चरणको पिचको काम सकिसकेको छ । केही वर्षअघिदेखिको यात्रा गर्दाको हैरानीलाई पन्छाउँदै पिचको काम लगभग सकिएसँगै यो सडकखण्डको यात्रा सहज बन्दै गएको हो ।

नारायणगढ मुग्लिङ सडकखण्डको कुल ३३.२ किलोमिटर सडकमा अब १ किमीमात्रै पिचका लागि बाँकी रहेको आयोजनाले जनाएको छ । अहिलेसम्म ८९.७ प्रतिशत काम सम्पन्न भैसकेको छ । आयोजनाका अनुसार मुग्लिन बजार नजिक रहेको २ नम्बर पुलदेखि चेपाङ डाँडासम्मको सडक क्षेत्रमात्र अब पिच गर्न बाँकी छ । एकहप्ता भित्र यस सडकको पूरै खण्ड पहिलो तहको पिच सम्पन्न भइसक्ने आयोजनाको दाबी छ । पहिलो र दोस्रो ठेक्काका कतिपय स्थानमा तेस्रो तहको पिचको कामसमेत भइरहेको छ । बाँकी रहेको एक किलोमिटर क्षेत्रमा पनि अहिले ब्ल्याक टपका लागि आधार तयार पार्ने काम धमाधम भइरहेको सिनियर डिभिजन इन्जिनियर खनालले बताए ।

पहिलो अर्थात् आँपटारीदेखि दासढुंगासम्मको ठेक्का बीएलए–एससिसी, दोस्रो दासढुंगादेखि सिमलतालसम्मको उड हिल लामा र सिमलतालदेखि मुग्लिनसम्मको ठेक्का सुप्रिम रौताहा जेभीले लिएको हो । डन्स विटुमिन मेकाडेम डीबीएम–१ र डीबीएम–२ ६÷६ सेन्टी मिटरको रहने छ । सबै क्षेत्रमा पिच भएपछि पिचमाथि ४ इन्चको बीसी राखिने आयोजनाले जनाएको छ । दुई तहको पिच पछि थप ४ इन्चको बीसी राखेर सडकलाई थप बलियो बनाइने छ । खाल्डाखुल्डी र धूलोका कारण निकै कष्टपूर्ण बन्ने गरेको यस सडकको यात्रा पूरै पिच भएपछि भने राहत मिल्ने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics