हिउँ चितुवा संरक्षणको जिम्मा युवालाई दिन नेपालको प्रस्ताव



 

नेपालले हिँउ चितुवा संरक्षणका लागि स्थानीय समुदाय र त्यसमा पनि युवाहरूको सहभागिता सुनिश्चित गरिनुपर्ने प्रस्ताव गरेको छ । किर्गिस्तानमा भएको हिम चितुवा पाइने १२ देशका वन तथा वातावरणमन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले स्थानीयको सहभागिताबिना हिँउचितुवा संरक्षण प्रभावकारी हुन नसक्ने उल्लेख गरे । उनले हिउँ चितुवा संरक्षणमा स्थानीय युवाहरूको सहभागिता वृद्धिलाई नेपालले प्राथमिकतामा राखेको जानकारी दिँदै मन्त्री बस्नेतले एक वर्षअघि काठमाण्डौंमा बसेको बैठकको निर्णयअनुसार हिँउ चितुवा संरक्षण र अध्यययन/अनुसन्धानको कामलाई कार्यान्वयनको सिलसिलामा कञ्चनजंगा संरक्षण क्षेत्रमा हिमालयन अनुसन्धान केन्द्र स्थापनाको काम भइरहेको तथा अन्नपूर्ण र शे–फोक्सुण्डो क्षेत्रमा त्यस्तै प्रकारका अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको नीति रहेको बताए ।

मन्त्री बस्नेतले हिँउ चितुवा संरक्षण कार्यलाई जडिबुटी तथा पर्यापर्यटनजस्ता कार्यक्रमसँग जोड्नुपर्ने स्पष्ट गरे । त्यस कार्यमा स्गानीय समुदाय र निजी क्षेत्रका अतिरिक्त राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संरक्षण साझेदार संघसंस्था समेतसँग सहकार्य गरिनुपर्ने विचार व्यक्त गरेका छन् ।
बिहीबारदेखि दुई दिनसम्म चलेको बैठकले जारी गरेको घोषणापत्रमा विश्वभर रहेका हिँउ चितुवाको संख्या गणनाका लागि सबै सदस्य राष्ट्रमा एक संयन्त्र निर्माण गरिने उल्लेख छ । त्यसका लागि सबै सदस्य मुलुकमा सम्पर्क व्यक्ति नियुक्त गरिने बताइएको छ । यस्तै घोषणापत्रमा हिँउ चितुवा तथा ठूला बिराला प्रजातिको अवैध निकासी पैठारी, तिनीहरूको सिकार तथा तिनका अंगहरुको अवैध व्यापार, बजारको अवैध माग तथा वन्यजन्तु विरुद्धका सबै खाले गतिविधि समेत कडाइका साथ रोक्ने बैठकको निर्णयमा छ । त्यसका लागि सबै सदस्य मुलुकले आ–आफ्ना विद्यमान कानुनमा आवश्यक परिमार्जन गरी कठोर व्यवस्था गरिने घोषणापत्रमा लेखिएको छ । ‘हामी सबै साझा रूपमा हिमचितुवा तथा ठूला प्रजातिका बिरालाको शिकार , व्यापार तथा बजारको अवैध माग रोक्नका आफ्नो देशको कानुनमा परिमार्जन र कडाई गर्ने छौँ’, घोषणापत्रमा भनिएको छ । घोषणापत्रमा हिँउ चितुवाको गैरकानुनी ओसारपार र शिकारबारे सूचना आदान÷प्रदानका लागि एक अर्का मुलुक मिलेर काम गर्ने पनि उल्लेख छ ।

यस्तैहिँउ चितुवा संरक्षणमा पुर्‍याएको योगदानका लागि संयुक्त राष्ट्रसंघीय कार्यक्रम (यूएनडिपी), हिँउ चितुवा कोषसहित सबै अन्तर्राष्ट्रिय समुदायप्रति बैठकले कृतज्ञता प्रकट गरेको छ । बैठकको अध्यक्षता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । बैठकमा हिँउ चितुवा पाइने देशहरू नेपालसहित भारत, चीन, रुस, अफगानिस्तान, भुटान, काजकिस्तान, किर्गिस्तान, मगोंलिया, पाकिस्तान, काजकिस्तान र उज्वेकिस्तानको सहभागिता थियो । नेपालको पूर्वमा कञ्जनजंघा संरक्षण क्षेत्रदेखि पश्चिममा अपि नम्पासम्म हाल हिमचितुवाको संख्या करिब पाँच सय रहेको अनुमानित तथ्याङ्क छ । यस्तै विश्वमा यसको संख्या ४ हजार पाँच यसयदेखि ६ हजार पाँच सयसम्म रहेको अनुमान गरिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics