सडक दुर्घटनामा बाँकेमा ७२ वन्यजन्तु मारिए

(फोटोसप तस्बिर )


एक आर्थिक बर्षमै सडक दुर्घटनामा परी ७२ वन्यजन्तु मरेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७४/७५ मा सडक दुर्घटनामा परी ७२ वटा वन्यजन्तुमरेका छन् ।अघिल्लो आर्थिक बर्षको तुलनामा १ ४ वटा बढी संख्यामा वन्यजन्तु गत् आर्थिक बर्षमा सडक दुघर्टनामा परी मरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जकी रेञ्जर निलम कार्कीका अनुसार सडक दूूघर्टनामा परी सबैभन्दा ठूलो संख्यामा चित्तल मरेका छन् । गत आर्थिक वर्षमा यो निकुञ्जमा बसोबास गर्ने १२ वटा चित्तलको सडक दुर्घटनामा परी मरेका छन् ।

सडक दुर्घटनामा परी मारिने दोस्रो नम्बरमा बँदेल परेको छ । एक आर्थिक बर्षको अवधीमा सडक दुर्घटनाले ११ वटा बँदेल मरेका छन् ।

यस्तै सडक दुर्घटनामै परेर ८ वटा ब्वाँसो , ४ वटा रातो बाँदर, ४ वटा चितुवा, ३ वटा अजिङ्गर र ३ वटा कालो गोहोरा मरेका छन् ।

राष्ट्रिय निकुञ्जसँगै सडकमार्गबाट वन्यजन्तु ओहोर दोहोर गर्ने क्रममा तीव्र गतिमा आउने सवारी साधनको ठक्करबाट चोटपटक लागेर मारिएका हुन् । निकुञ्ज वरिपरिको सडक खण्डमा सिमित गतिमा मात्रै सवारी साधन चलाउन विभिन्न स्थानमा सूचनापाटी भएपनि नियमनमा राज्यबाट कडाई नहुँदा चालकले तीव्र गतिमा सवारी साधन चलाउँदै आएका छन् । जसका कारण वन्यजन्तुहरू सडक मार्ग काटेर ओहोर दोहोर गर्दा दुर्घटनामा पर्ने गरेका छन् ।

सडक दुर्घटनामा परी वन बिरालो ३ वटा, चरी बाघ ३ वटा, सुन गोहीरो ३ वटा, दुम्सी ३ वटा, कालो ओत २ वटा, निर बिरालो २ वटा, चिल २ वटा, चौका २ वटा, गाजले निर बिरालो एउटा, न्याउरी मुसा एउटा र  एउटा लिंक्सको पनि डक दुघर्टनामा परी मरेका छन्   ।   यस्तै  सडक दुर्घटनामा  एउटा निल गाई,एउटा स्याल,एउटा मल साँप्रो र एउटा मगर गोही पनि मरेका छन् ।

रेञ्जर निलम  कार्की अनुसार सडक दूघर्टनामा संलग्न रहेको अभियोगमा ६ जनामाथि मुद्दा लगाइएको छ । यसमध्ये ५ जनालाई जरिवाना गरी छाडिएको छ भने एक जनामाथि मुद्दा चलेर फैसला भइसकेको छ ।

निकुञ्ज नजिकैको सडकमार्गका कारण बर्षेनी ठूलो परिमाणमा वन्यजन्तु अनाहकमा मर्ने गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा सडक मार्ग दूघर्टनामा परी ५८ वटा वन्यजन्तु मरेका थिए । आर्थिक वर्ष २०७३/७४ मा पनि यस निकुञ्जमा सडक दूघर्टनामा सबैभन्दा बढी चित्तल र बँदेल मरेका थिए । चित्तल १०  वटा  र २१ वटा बँदेलले सडक दूघर्टनामा मरेका थिए।

वन्यजन्तु विज्ञ नरेश सुवेदीका अनुसार वातावरण अनुकूल विकास नहुँदा राजमार्ग दुर्घटना बढेको हो। हाल नेपालमा ओभर पास (सडकको माथिबाट वन्यजन्तु हिँड्ने बाटो)र अन्डर पास (सडकको तलबाट वन्यजन्तु हिँड्ने बाटो) नहुँदा यो समस्या जटिल बन्दै गएको हो ।

वन्यजन्तुको ज्यानको जोखिमलाई मध्यनजर गरी संसारका विभिन्न मुलुकमा सडकमार्गमा ओभर पास र अन्डर पास बनाउने चलन रहेपनि नेपालमा भने यो बिषयमा राज्यस्तरबाट खासै प्राथमिकता पाएको छैन ।

के छ व्यवस्था ?

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार गैरकानुनी तबरबाट गैँडा, बाघ, हात्ती, कस्तृरी मृग, ध्वांसे चितुवा वा चौंरीलाई मार्ने र घाइते बनाउने दोषीसँग पाँच लाख रुपैंयादेखि दश लाख रुपैयाँसम्म जरिवाना भराउने व्यवस्था छ ।

त्यस्तै संरक्षित बाहेक अन्य वन्यजन्तु मारिएमा वा घाइते भएमा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । अधिकांश वन्यजन्तु मारेर चालकहरू भाग्ने गरेकाले न्यून सङ्ख्यामा मात्रै कारवाही हुने गरेको छ ।

८२ वन्यजन्तु मरे

गत आर्थिक वर्षमै बाँके राष्ट्रिय निकुञ्जमा ८२ वन्यजन्तु मरेका छन् । ७२ वटा सडक दुर्घटनामा, कुकुरको आक्रमणमा परी ४ वटा र अन्य कारणबाट ६ वटा वन्यजन्तु मरेका छन् । कुकुरको आक्रमणबाट ३ वटा चित्तल र एउटा निर बिरालो मरेका छन् । अन्य विभिन्न प्रकारका प्राकृतिक  कारण एउटा बँदेल, ४ चित्तल र एक चितुवा मरेका छन् ।

३७ वटा वन्यजन्तुको उद्धार

गत आर्थिक वर्षमा बाँके राष्ट्रिय निकुञ्जमा ३७ वटा वन्यजन्तुको उद्धार गरिएको छ । उद्धार हुने वन्यजन्तुमा ८ वटा  अजिङ्गर, ४ वटा सुन गोहोरा, ४ वटा मगर गोही, ३ वटा निल गाई, ३ वटा बँदेल, ३ वटा सर्प, २ वटा चित्तल, २ वटा निर बिरालो, २ वटा ब्वाँसो, एउटा कछुवा, एउटा इडिएन गोर्भट, एउटा गिद्ध, एउटा  चिर, एउटा खर मजुर र रातो बाँदर एउटा रहेका छन् ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics