संगम मिठाई पसलमा भेटियो कपडामा प्रयोग हुने केमिकल



कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौैंको मिलन चोकमा रहेको संगम स्वीट्सको गोदाम घरमा सिल्बन्दी गरेको छ । विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीको नेतृत्वमा गएको उपभोक्ता अधिकारकर्मी र जिल्ला प्रशासन कार्यालय काठमााडौंका प्रतिनिधि सहितको टोलीले अनुगमनपछि गोदाम घरमा सिल्बन्दी गरेको हो ।

नयाँ बानेश्वरमा रहेको संगम स्वीट्सको उत्पादन बिक्रि वितरणमा पनि प्रतिवन्ध लगाइएको छ । अखाद्य वस्तु बिक्रिवितरण गरेको र उपभोक्ताको न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि गोदाम घरमा सिलबन्दी र होटलमा बिक्रिवितरणमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिवन्ध लगाइएको विभागका खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताए ।

अनुगमनका क्रममा कपडा चम्काउन प्रयोग हुने प्रतिवन्धीत हाइड्रो ए वान भन्ने केमिकल मिठाईमा प्रयोग गरेको पाइएको छ । मिठाइलाई चमक दिने उक्त केमिकल स्वास्थ्यका लागि निक्कै हानिकारक रहेको विभागका प्राविधिक सहायक नवराज आचार्यले बताए । उक्त केमिकल खाद्य वस्तुमा प्रयोग गर्न प्रतिवन्धित छ ।

मिठाइमै ८ वर्ष पुरानो कोकोनट पाउडर समेत प्रयोग भएको अनुगमनका क्रममा भेटिएको छ । उक्त पाउडर उत्पादन भएको मितिले ४ महिनासम्म प्रयोग गर्न उपयुक्त हुने भएपनि सन २०११ मा बनेको पाउडर अहिलेसम्म पनि प्रयोग गरेको पाइएपछि नष्ट गरी उत्पादनमा प्रतिवन्ध लगाइएको छ ।

घ्यु र तेलमा पोलारिटिको मात्र अत्याधिक पाइएको छ । पोलारिटि लेवल अधिकतम २५ सम्म हुनु पर्नेमा ३८.५ सम्म पाइएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले जानकारी दिए ।

त्यस्तै मैदा लगायत अन्य खाद्य बस्तुमा उत्पादन मिति उल्लेख नभएको, सरसफाईमा वास्ता नगरिएको पाईको अनुगमन टोलीले बताएको छ । झापाका संगम शर्माले सञ्चालन गरेको संगम स्वीट्सलाई खाद्य प्रविधि ऐन अनुसार कार्वाही हुने र मुद्धासमेत चलाउन सकिने विभागले जनाएको छ । उनलाई तीन दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको सुवेदीको भनाई छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics