पोथी सिंहद्वारा आफ्ना तीन सन्तानका बाको हत्या

संयुक्त राज्य अमेरिकाको एउटा चिडियाखानामा एउटी पोथी सिंहले आफ्ना तीन सन्तानका बुवाको हत्या गरेकी छिन्।


जुरी नाम गरेकी १२ वर्षीया पोथी सिंहले १० वर्षीय नायाकमाथि आक्रमण गरेपछि इण्डियानापोलिस चिडियाखानाका कर्मचारीले पनि तिनीहरूलाई अलग पार्न सकेनन्।

जुरीको हमलामा परेको नायाक निसासिएर मरेको बताइएको छ।

दुई जोडी सिंह विगत आठ वर्षदेखि सँगै बस्दै आएका थिए र सन् २०१५ मा तीनवटा डमरु पाएका थिए।

अस्वाभाविक


सामाजिक सञ्जाल फेसबूकमा राखिएको एउटा विज्ञप्तिमा सो चिडियाखानाले त्यो कसरी भयो भन्ने विषयमा 'विस्तृत समीक्षा' गरिने जनाएको छ।

पोस्टमा भनिएको छ,"नायाक गज्जबको सिंह थियो र हामीलाई त्यसको अनुपस्थिति खट्किरहनेछ।"

पिँजडाबाट 'अस्वाभाविक मात्रामा गर्जन' सुनिएकोबारे चिडियाखानाका कर्मचारीलाई सचेत गराइएको थियो।

कर्मचारीले अलग पार्ने प्रयत्न गरे पनि नायाक चलमलाउन नछाडेसम्म जुरीले त्यसलाई ङ्याँकिरहिन्।

सम्बन्ध


चिडियाखानाको विज्ञप्ति अनुसार यसअघि सिंहका जोडीबीच त्यस्तो खाले आक्रामक व्यवहार देखिएको थिएन।

इण्डियानापोलिस चिडियाखानाका क्युरेटर डेविड हेगनले समाचार संस्था रोयटर्सलाई भने, "चिडियाखानाका कर्मचारी र जनावरबीच गहिरो सम्बन्ध हुन्छ। अतः जनावरलाई हुने क्षतिले हामी सबैलाई असर पार्छ।"

"हामीमध्ये धेरैका लागि तिनीहरू परिवारका सदस्यजस्तै हुन्छन्।"

पछिल्लो घटना भए पनि हाललाई चिडियाखानाको व्यवस्थापनमा परिवर्तन ल्याउने कुनै योजना नभएको विज्ञप्तिमा जनाइएको छ।

बीबीसी

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics