जलवायु अनुकुलनमा सहयोगका लागि राष्ट्रपतिको आव्हान



राष्ट्रपति विद्यादेवी भण्डारीले  जलवायु अनुकुलनमा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई  आव्हान  गरेकी छिन ।

पोल्याण्डको क्यटोविसमा भएको जलवायु परिवर्तन सम्मेलन (कोप–२४) मा सोमबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ,‘नगरेको नबिगारेको कसुरको सजाय भोग्नु परेको जस्तो अनुभूति हामीलाई हुने गरेको छ। निर्दोषहरूमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो भन्ने कुरा म यहाँहरु सबैलाई स्मरण गराउन चाहन्छु।’

पोल्याण्ड प्रस्थान गर्नुअघि ट्विट  मार्फत  राष्ट्रपति भण्डारीले  जलवायु  अनुकुलन गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी गराएकी थिइन ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर महिला र विपन्न वर्गमा झन् बढी पर्ने गरेको उनले उल्लेख गरिन ।

हालै सार्वजनिक गरिएको आइपिसीसीसी को विशेष प्रतिवेदनले तय गरेको १.५ डिग्री सेल्सियस तापक्रम स्थिर राख्ने थ्रेसहोल्ड भित्रै कार्बन उत्सर्जनलाई सिमित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी छिन ।

नेपालमा पेरिस सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न, जलवायु परिवर्तन नीति र जलवायु परिवर्तनमा राष्ट्रिय योगदानलाई पुनरावलोकन गरी समय सापेक्ष बनाउने र तिनको कार्यान्वयनका लागि दीर्घकालीन रणनीति तयार भई रहेको बताउँदै नेपालले अपनाई आएको अनुकुलन र न्यूनीकरण सम्बन्धी विभिन्न कार्यहरूबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकी छिन ।

स्वच्छ र सुरक्षित प्राकृतिक वातावरणमा बाँच्न पाउने भावी सन्ततिको अधिकार रक्षा गर्नु सबैको सामूहिक दायित्व भएको उल्लेख गर्दै पेरिस सम्झौता कार्यान्वयनमा नेपालको प्रतिबद्धता रहेको जानकारी दिइन ।

राष्ट्रपति कार्यालयमा विद्युतीय सवारी साधनको प्रयोग सुरु गरिसकेको जानकारी दिँदै उनले यसलाई क्रमशः अन्य क्षेत्रमा विस्तार गरिने बताइन्।

यसैगरी, नेपालले ‘शिवालिक’का रूपमा परिचित चुरे क्षेत्रमा एकीकृतरुपमा वातावरण संरक्षण तथा जीविकोपार्जनका कार्यक्रमहरू लागू गर्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अगाडि बढाएको र उक्त परियोजनाले यस क्षेत्रको भूभाग मात्र होइन छिमेकी मुलुकहरूको वातावरण संरक्षण तथा सम्बद्र्धनमा समेत ठूलो टेवा पुग्ने उनको विश्वास छ।

कोप २४ ले पेरिस सम्झौताको प्रभावकारी र जबाफदेहीपूर्ण कार्यान्वयनको सही बाटो पहिल्याउनेछ भन्नेमा नेपाल विश्वस्त रहेको उनको भनाइ छ।

जलवायु परिवर्तन माहसंधीको सम्मेलनमा नेपालले उच्चस्तरमा भाग लिएको यो पहिलो पटक हो। यसभन्दा अघि २००९मा डेनमार्कमा भएको १५ औँ सम्मेलनमा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले भाग लिएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics