पश्चिमोदय बचत तथा ऋण सहकारीको आठौं वार्षिक साधारणसभा सम्पन्न

पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापनाको आठौं वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गरेको छ ।

सहकारी विभागका अधिकृत शिवजी भट्टराईको प्रमुख आतिथ्यमा शनिबार डिभाइन बैङ्क्वेट कालिमाटीमा भएको साधारण सभामा दुई सयभन्दा बढीको उपस्थिति रहेको थियो । अतिथिका रुपमा सुरेश प्रसाद अग्रवाल, राजकुमार तामाङ, घनश्याम रौनियार, सागरमणी ढुंगेल, राजकुमार श्रेष्ठ, केदार उप्रेती, ओम कुमार प्रधान, रत्न बिक्रम तुलाधर लगायतलाई आमन्त्रण गरिएको थियोे ।

सुरुमा संस्थाका सञ्चालक चन्द्र बहादुर बुढाले स्वागत मन्तव्य राखेका थिए भने सपना खड्का, विष्णु पराजुली र दीपा अर्यालले स्वागत गीत गाए । देशको आर्थिक क्रान्तिका लागि लड्ने शहिदहरुप्रति मौनधारण समेत गरिएको थियो ।
संस्थाका सचिव सुष्मा सापकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । लेखा सुपरिवेक्षक नवीन प्रधानले भने आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

त्यसैगरी सभापतीको मन्तव्य राख्दै संस्थाका अध्यक्ष देवराज न्यौपानेले आगामी दिनमा डिपार्टमेण्टल स्टोर संचालन गर्ने, संस्थाको कारोबारलाई एस्.एम्.एस्. प्रणालीमा लैजाने र अन्य स्थानहरुमा पनि सेवा केन्द्र खोलि विस्तार गर्ने योजनाहरु रहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका म्यानेजर केदार उप्रेतीले आफू सधैं सहकारीकै हकहितमा लागि परिरहेको र सहकारी ऐनले पनि सहकारी अभियानलाई सहयोग पुगेको बताए । त्यसैगरी प्रिमिएर बचत तथा ऋण सहकारीका सञ्चालक घनश्याम रौनियारले पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था लि. आठौं वर्ष पार गरी नवौं वर्षसम्म आइृपुग्न सफल भएको भन्दै सफलताको शुभकामना दिए ।

कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो दिनुका साथै असल बचतकर्ताका रुपमा मोहन अग्रवाल, राकेश अग्रवाल, त्रिलोप्चन अग्रवाल, राजेश कुमार अग्रवाल लगायतलाई प्रशंसापत्र वितरण समेत गरिएको थियो ।  सभामा संस्थाको तर्फबाट असल तथा उत्कृष्ट कर्मचारीको रुपमा ३ जनालाई पुरस्कृत पनि गरिएको थियो । रिसिप्सनिष्ट अनिता रामदास, बजार सुपरभाइजर रेस्मा खत्री र सक्रिय सदस्यको रुपमा सुष्मा सापकोटालाई पुरस्कार वितरण गरिएको थियो ।

सहकारी विभागका अधिकृत शिवजी भट्टराईले केही सहकारीको नराम्रो कामले गर्दा राम्रा सहकारीलाई पनि असर पर्ने गरेको बताए । उनले भने “काठमाडौंमा धेरै सहकारी भएका कारण पनि सहकारीबिच नै प्रतिस्पर्धा चलिरहेको छ ।” उनले पश्चिमोदयमा ढुक्क भएर बचत गर्न आग्रह समेत गरे । संस्थाका अध्यक्ष देवराज न्यौपानेले सबै कार्ययोजनाहरु पारित गर्नुका साथै उपस्थितलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे । कार्यक्रम सञ्चालन भने बल बहादुर थापा मगरले गरेका थिए ।

एकका लागि सबै र सबैका लागि एक भन्ने नारा रहेको पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था लि. को मुख्य कार्यालय न्युरोड धर्मपथमा रहेको महाबौद्धमा शाखा कार्यालयसमेत रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics